Trending
>>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

हलेसी तुवाचुङमा गहत खेती प्रवद्र्धन कार्यक्रम


१ जेष्ठ ,खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले गहत खेती प्रवद्र्धन कार्यक्रम ल्याएको छ । लोपोन्मुख बनेको गहत खेतीलाई प्रोत्साहन गर्दै किसानको आयआर्जनमा टेवा पुर्याउने लक्ष्यका साथ नगरपालिकाले रैथाने बाली प्रवद्र्धन कार्यक्रम ल्याएको हो ।

गहत बालीको उत्पादकत्व वृद्धि गर्दै बजारीकरण गर्ने र गहतलाई किसानको भरपर्दो आम्दानीको माध्यम बनाउने लक्ष्यका साथ रैथाने बाली प्रवद्र्धन कार्यक्रम अघि सारिएको नगर प्रमुख विमला राईले जानकारी दिईन् ।

आर्थिक वर्ष २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रमअनुसार नगरपालिकाले व्यावसायिकरुपमा गहत खेतीका लागि इच्छुक कृषक, निजी उद्यमी र फर्मलाई हप्ता दिनभित्र आवेदन दिन गत वैशाख–१९ गते प्रथम पटक सूचना प्रकाशित गरेको छ ।

गहतको बीउ भएका किसानले स्वतः गहत उत्पादन गर्नसक्ने र बीउ नभएका किसानलाई आवश्यक बीउ उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । उत्पादित गहतको मूल्य निर्धारण गरेर नगरपालिकाले बजारको सुनिश्चितता गरिदिने नगर प्रमुख राईले जानकारी दिएकि छन् ।

त्रिधार्मिकस्थल हलेसीमा आएर फर्कने विभिन्न ठाउँका दर्शनार्थी एवं पर्यटकले कोसेलीका रुपमा लैजान पाउने गरी गहत खेती प्रवद्र्धनको कार्यक्रम ल्याइएको नगर प्रमुख राईले बताईन । “रैथाने बाली गहत लोपोन्मुख बनिसकेको छ । अहिलेसम्म किसानलाई गहतको मूल्य र महत्व बुझाउन सकिएको छैन । गाउँघरमा चामलसँग गहत साट्ने चलन छ”, उनले भनिन्, “अब इच्छुक किसानलाई गहतको बीउ उपलव्ध गराउँछौँ । उत्पादित गहतको मूल्य निर्धारण गरेर बजारीकरणको व्यवस्था नगरपालिकाले मिलाउने योजना बनाएका छौँ । गहतलाई हलेसीको कोसेलीका रुपमा स्थापित गर्ने योजना छ ।”

नगरपालिकामा उत्पादित गहत सङ्कलनका लागि विक्रेता सूचिकृत गर्ने नगरपालिकाको योजना छ । गत असारमा सम्पन्न ११ औँ नगरसभाले रैथाने बाली प्रवद्र्धन कार्यक्रम सम्वन्धी नीति तथा कार्यक्रम पास गरेको थियो । नगरपालिकामा गहतको व्यावसायिक खेतीको प्रचुर सम्भावना छ । नगरमा उत्पादित गहत जिल्लाबाहेक छिमेकी जिल्लाका हाट बजारमा समेत पुग्ने गरेको छ ।

बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार, बडहरे, दुर्छिम, मङ्गलटारलगायतका ठाउँका किसानले गहत खेती गर्दै आएका छन् । हालसम्म गाउँघरमा गहत दालको रुपमा मात्र उपयोग हुने गरेको छ । नगरपालिकाले रैथाने बाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत बदाम, कागुनो र जुनेलो खेती गर्ने किसानलाई पनि बीउका लागि आवेदन दिन आह्वान गरेको छ । एघार वडा रहेको उक्त नगरपालिका सुक्खाग्रस्त क्षेत्रमा पर्दछ ।


प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?