Trending
>>   जलश्रोत विधेयकलाई खानेपानी र हाइड्रोको क्षेत्रबाट मात्रै नहेरौँः सांसद परियार >>   जलश्रोतको मुहानको प्रयोग सबैले गर्न पाउनुपर्छः सांसद विश्वकर्मा >>   जलश्रोतको उचित व्यवस्थापन, संरक्षण र सदुपयोग गरौँः सांसद शाक्य >>   कानून निर्माणमा ढिलाइ नगरौँः सांसद गौतम >>   कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान >>   भूमि मन्त्री अधिकारीको स्पष्टिकरणः घुस लिएको छैन, चरित्र हत्या गर्न खोजियो >>   कानून व्यवसायीलाई लाइसेन्स दिन मापदण्ड बनाउने कुरा सही छः मन्त्री चौरसिया >>   भूमि व्यवस्था मन्त्रालयमा बलराम अधिकारीको एक वर्षः ७०७ रोपनी जग्गा सरकारको नाममा फिर्ता >>   अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने >>   विद्युत आयोजना निर्माणको लागि उपकरणको सहज उपलब्धता गरिदिन इप्पानको आग्रह
Logo
२ श्रावण २०८२, बिहीबार
२ श्रावण २०८२, बिहीबार

छाडा गाईको संरक्षणमा जुटेका नरबहादुर


१ चैत ,त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–३ का नरबहादुर सुनार स्थानीय छाडा गाईको संरक्षणमा लागेका छन्‌। करिब एक दशकअघिदेखि स्थानीय प्रजातिका छाडा गाईको संरक्षणमा लागेका सुनारको दिनचर्या गौशालामा रहेका गाईको स्याहारसुसार र रेखदेखमा बित्ने गरेको छ ।

सुनारले २०६८ सालमा दुई छाडा गाई राखेर संरक्षण अभियान सुरु गरेकामा अहिले गौशालामा ८५ गाई छन् । सुनार एक्लैले गौशालामा गाईको रेखदेख गर्दै आएका छन्‌ । बजार क्षेत्रमा स्थानीयले छाडारूपमा छाडेका गाई गौशालामा राख्ने गरिएको उनले बताए । स्थानीय गाईको सङ्ख्या कम हुँदै गएकाले समेत यसको संरक्षण गर्नुपर्छ भनेर आफू लागेको सुनारको भनाइ छ ।

सुरुआतमा आफू एक्लैले पहल गरेको भए पनि हाल स्थानीयस्तरमा यसको संरक्षणमा आवश्यक सहयोग हुँदैआएको सुनारले बताए । दानाका लागि चापट, पराल स्थानीयस्तरबाटै सहयोग हुने गरेको छ । “सुरुमा एक्लै लागे, गाई पनि थोरै थिए, अहिले गाई धेरै छन्, दाताले दाना, परालका लागि बेला–बेलामा सहयोग गर्दैआएका छन्”, उनले भने ।

धार्मिक दृष्टिकोणबाट गाईको महत्व हुने र स्थानीय जातको गाई लोप हुँदै जान थालेपछि यसको संरक्षण गर्नुपर्छ भनेर अभियान थालिएको हो । गाई संरक्षणबाट कृषि पेशामा लाभ मिलेको छ । प्राङ्गारिक मल उत्पादन हुँदा यसको प्रयोगले कृषि उत्पादन बढाउन सहज भएको सुनारले बताए ।

प्राङ्गारिक मल अभाव हुँदा रासायनिक मल प्रयोग गर्ने चलन छ । यसले माटोलाई बिगार्दै जाँदा क्रमशः उत्पादनमा ह्रास आउँछ । गौशालामा उत्पादन भएको प्राङगारिक मल कृषकले लैजाने गरेका छन् । “हामीले मल बिक्री गर्दैनौ, तर कृषकले पराल ल्याउनुहन्छ, सोहीअनुसार मल लैजाने गर्नुहुन्छ, कृषि उत्पादन बढाउन समेत यसले सहयोग पुगेको छ”, सुनारले भने ।

धार्मिक दृष्टिले समेत गाईको महत्व रहेकाले गौशाला निर्माण गरी संरक्षण हुँदा बजार क्षेत्रका बासिन्दालाई लाभ छ । तिहारको समयमा कावासोतीको बजार क्षेत्रमा घरमा गाई नहुनेले पूजाआजाका लागि गौशालामा आउने गरेका छन् । “कृषि र धार्मिक प्रयोजनका लागि उचित ठानेरै छाडा गाईको संरक्षणमा लागेको हुँ”, उनले भने । छाडा गाईले बजार क्षेत्रमा दुर्घटनाको जोखिम हुने, बालीनाली नष्ट गर्ने गरेकामा त्यस्ता गाईलाई गौशालामा राख्दा एकातर्फ दुर्घटनाको जोखिम कम हुने, बालीनालीमा क्षति नहुने हुँदा संरक्षण आवश्यक भएको कावासोती–३ का वडाध्यक्ष डोरमान गिरीले बताए ।

गौशाला व्यवस्थित गरी सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । गाईको सङ्ख्या बढ्दै जाँदा चरनको अभाव भएको सुनारको भनाइ छ । गाईका लागि दाना र परालको समस्या हुने गरेको छ । बेला–बेलामा विभिन्न सहयोगीले दाना, चापट र पराल सहयोग गर्ने गरेकाले केही राहत मिलेको छ ।


प्रकाशित मिति: १ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?