काठमाडौँ। जेन—जी विद्रोहका मागहरु पुरा नभएको भन्दै मिराज ढुंगाना नेतृत्वको जेन—जी पुस्ता समूहले मंगलवार पनि सरकारविरुद्ध प्रदर्शन जारी राखेका छन् ।
सरकारले जेन—जी विद्रोहको भावनाअनुरुप अगाडि नबढेको भन्दै उनीहरुले काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन जारी राखेका हुन् । यसअघि सोमवार भएको प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीमाथि धरपकड गर्दै जेन—जी अगुवा मिराज ढुंगाना लगायतलाई नियन्त्रणमा लिएको थियो । प्रदर्शनकारीहरुले ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’, ‘अतिभो राजनीतिक खेल, आमा सरकार फेल’, ‘घाइतेका माग पूरा गर’, ‘जेन–जीको माग चुनाव होइन सुशासन हो’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।
केही जेन–जी समूहहरुले मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने, जेन–जी विद्रोहमाथि भएको दमनमा संलग्नहरुलाई कारबाही गर्नुपर्ने माग राख्दै आएका छन् । आफ्ना मागहरु पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुको चेतावनी छ ।














प्रकाशित मिति: ८ पुष २०८२, मंगलवार