Trending
>>   सुरक्षाकर्मीलाई रासनको अभाव छ, गुणस्तरीय पोशाक समेत किन्न सकेका छैनौँः महानिरीक्षक अर्याल >>   महिला कबड्डी विश्वकपमा पदक जितेर फर्कन्छौं– कप्तान मानमति बिष्ट >>   वामदेवको दाबीः मैले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल भएको छैन >>   सरकारवादी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयलाई ६८ प्रतिशत सफलता >>   सम्पूर्ण वामपन्थीहरुलाई एकतावद्ध गर्नु आजको आवश्यकताः झलनाथ खनाल >>   एमालेसँग एकताको कुनै सम्भावना छैनः माधव नेपाल >>   भ्रष्टाचार छानविन गर्न माग गर्दै निवेदन लिएर अख्तियार पुग्यो राप्रपा >>   यातायात सुरक्षामा एकीकृत नियमनको आवश्यकताः सांसद गौतम >>   सांसद सुवेदीको संशोधन प्रश्तावः सबै विमानस्थल र ग्राउण्ड ह्यान्डलिङ सेवा प्राधिकरणकै व्यवस्थापनमा राखौँ >>   हवाई सेवा प्राधिकरण विधेयकमा भाषा र प्राधिकरणको संरचना स्पष्ट हुनुपर्छः वरिष्ठ उपाध्यक्ष पाण्डे
Logo
३ श्रावण २०८२, शुक्रबार
३ श्रावण २०८२, शुक्रबार

‘एक बागी’माथि विमर्श


उज्ज्वल प्रसाईँको कृति ‘एक बागी’को विषय र पात्र हुनुहुन्छ, लेखक खगेन्द्र सङ्ग्रौला । “सङ्ग्रौलाले आफूलाई हेर्ने ऐना हो– एक बागी”, उहाँ भन्नुहुन्छ, “मेरा असङ्गति र अन्तरोविरोधसहित कोही मलाई चिन्न चाहन्छ भने यो पुस्तक पढे हुन्छ ।” सोमबार बागलुङमा गरिएको पुस्तकमाथिको विमर्शमा सङ्ग्रौलाले लेखक प्रसाईँले आफ्नो भण्डारफोर गरेको बताउनुभयो । “जब तपाईँलाई अर्काको आँखाले हेर्छ, तपाईँले नदेखेका, लुकाउन खोजेका कुराको उसले छिद्र खोल्छ”, सङ्ग्रौलाले भन्नुभयो, “उज्ज्वले पनि खगेन्द्र भन्ने पात्रको भण्डाफोर गरेको हो ।” भण्डाफोर कम्युनिष्टको भाषा भए पनि आजकालकाले बिर्सेको भन्दै उहाँले कटाक्ष गर्नुभयो । “पहिले कम्युनिष्टहरूले दुष्ट, पापी, अत्याचारी, देशी–विदेशी प्रतिक्रियावादीको भण्डाफोर गर्थे, अहिले उनीहरु आफैँ भण्डाफोरित भइसके”, सङ्ग्रौलाले भन्नुभयो । सतहत्तर वर्षीय उनले जीवनको एक भाग अरुका लागि बाँच्ने प्रयास गरेको सुनाउनुभयो ।

“जिन्दगी दुई किसिमले बाँचिन्छ, आफ्ना लागि र अरुका लागि”, उहाँले भन्नुभयो, “मैले जीवनको एक खण्ड समाजलाई अर्पण गरेँ, उत्पीडिनमा परेकाहरूको न्याय र अधिकारका पक्षमा बोल्ने प्रयास गरेँ ।” आफ्नै जीवनवृत्त समेटिएको पुस्तक ‘एक बागी’ पढेपछि जीवन दुर्गुण, असङ्गति र अन्तरविरोधले भरिपूर्ण रहेको पाएको उहाँले उल्लेख गरेँ । सङ्ग्रौलाले आफ्नो निन्दा र प्रशंसामा नभई वस्तुनिष्ठ र गम्भीर अनुसन्धान गरेर पुस्तक लेखिएको बताउनुभयो । थोरै छापिएका, कमैले पढेका, कतिले बिर्सिसकेका आफ्ना पुराना कृतिलाई पनि लेखक प्रसाईँले स्मरण गराएको उहाँले उल्लेख गर्नुभयो । सङ्ग्रौलाका पुराना रचनाको सन्दर्भ, विषयवस्तु र समयबोधलाई लेखक प्रसाईँले पुस्तकमा सन्दर्भित गर्नुभएको छ । लेखक प्रसाईँले ‘एक बागी’ खगेन्द्र सङ्ग्रौलालाई विषय बनाएर लेखिएको जीवनीपरक पुस्तक रहेको बताउनुभयो । “पुस्तकमा सात दशकको नेपाली समाजको एकसरो कथा भन्न खोजिएको छ”, उहाँले भन्नुभयो, “यसले राणाकाल, पञ्चायत, बहुदल हुँदै गणतन्त्रसम्मको नेपाली समाज र राजनीतिबारे बुझ्न सघाउँछ ।” लेखक प्रसाईँले पाँच–छ वर्षको खोज र अध्ययनपछि ‘एक बागी’ लेखेको सुनाउनुभयो । “यो खगेन्द्र सङ्ग्रौलाको जीवनी हो, उहाँ कुनै ठूलो र असाधारण मान्छे भएर जीवनी लेखेको होइन, उहाँ आममान्छे हो, साधारण लेखक हो”, उहाँले भन्नुभयो, “खगेन्द्र सङ्ग्रौलाले बाँचेको जीवन र समयका कथाहरू पुस्तकमा छन् ।” विर्मशमा लेखकद्वयले पाठकसँग संवाद पनि गरे ।

पुस्तकको रचनागर्भदेखि लेखक खगेन्द्र सङ्ग्रौलाको साधना र सङ्घर्षबारे पाठकले जिज्ञासा राखेका थिए । सङ्ग्रौलाले सामाजिक न्याय र समानताका लागि आफू सधैँ ‘बागी’ विचार र चिन्तन लिएर हिँडिरहेको बताउनुभयो । नयाँ विश्व अनलाइनद्वारा आयोजित सो कार्यक्रममा पुस्तक हस्ताक्षरलाई समेत जोडिएको थियो । पाठकले लेखकको हस्ताक्षरसहित पुस्तक लिएका थिए । नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारीले लेखक–पाठकबीच अन्तरसंवादसमेत भएको बताउनुभयो । ‘एक बागी’ बेला पब्लिकेशनबाट केही महिनाअघि प्रकाशित भएको थियो ।


प्रकाशित मिति: २४ माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?