Trending
>>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की


काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको वास्तविक शक्ति कानूनले दिएको अधिकारमा मात्र नभई नागरिकले प्रदान गर्ने विश्वासमा निहित रहेको बताएका छन् ।

सोमवार प्रहरी निरीक्षक आधारभूत तालिमको १८४ औं समूहको दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले प्रहरी संगठनलाई प्रविधिमैत्री, पारदर्शी र पूर्ण व्यावसायिक बनाउनुपर्नेमा जोड दिएका हुन् । साइबर अपराध, अन्तरदेशीय अपराध र विपद व्यवस्थापनजस्ता बदलिँदो सुरक्षा चुनौतीहरूको सामना गर्न नेपाल प्रहरीले आफ्नो कार्यशैलीमा व्यापक परिवर्तन गर्नुपर्ने महानिरीक्षक कार्कीले बताएका छन् । उनले आधुनिक प्रविधि र कृत्रिम बौद्धिक (एआई) को प्रयोगलाई व्यावसायिक विवेक र मानवअधिकारसँग जोड्नुपर्ने आवश्यकता रहेको बताएका छन् । प्रहरी कर्मचारीहरू वाह्य प्रभाव, व्यक्तिगत आग्रह वा कुनैपनि प्रकारको अनुचित दबाबबाट मुक्त रही कानून कार्यान्वयनमा खटिनुपर्नेमा उनले जोड दिएका छन् । कानून कार्यान्वयनको प्रक्रिया केवल कानूनी हुनुमात्र पर्याप्त नभई व्यवहारमा पनि निष्पक्ष, सम्मानजनक र जवाफदेही हुनुपर्ने उनको भनाइ छ ।

आईजीपी कार्कीले विशेष गरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरूसँगको व्यवहारमा प्रहरी थप संवेदनशील बन्न निर्देशन दिएक छन् । पीडित केन्द्रित दृष्टिकोण अपनाउँदै नागरिकले प्रहरीको निर्णयमाथि प्रश्न उठाए पनि प्रहरीको निष्पक्षतामा सन्देह नगर्ने वातावरण सिर्जना गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

उनले भने, ‘आज साइबर तथा डिजिटल अपराध, अन्तरदेशीय अपराध र विपद् व्यवस्थापनलगायतका नयाँ चुनौतीहरूको प्रभावकारी सामना गर्नु हाम्रो प्रमुख जिम्मेवारी हो । नेपाल प्रहरीलाई सक्षम, सुदृढ, पारदर्शी, प्रविधिमैत्री तथा नागरिकप्रति उत्तरदायी सङ्गठनका रूपमा विकास गर्न हामी निरन्तर प्रयासरत छौँ । सूचना प्रविधि, डिजिटल प्रणाली र कृत्रिम बुद्धिमत्ताको विवेकपूर्ण प्रयोग गर्दै मानवअधिकार, कानूनी प्रक्रिया र व्यावसायिक विवेकलाई केन्द्रमा राखेर सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउनु हाम्रो प्राथमिकता हो । नेपाल प्रहरी संविधान र प्रचलित कानूनप्रति प्रतिवद्ध, निष्पक्ष र व्यावसायिक सङ्गठन हो । व्यक्तिगत धारणा, वाह्य प्रभाव र अनुचित दबाबबाट मुक्त भई कानूनको निष्पक्ष कार्यान्वयन गर्नु प्रत्येक प्रहरी कर्मचारीको दायित्व हो । कानून कार्यान्वयनसँगै त्यसको प्रक्रिया पनि निष्पक्ष, पारदर्शी, सम्मानजनक र जवाफदेही हुनुपर्छ । नागरिकले प्रहरीको निर्णयसँग असहमति जनाए पनि प्रहरीको व्यवहार निष्पक्ष रहेको अनुभूति गर्ने वातावरण निर्माण गर्नुपर्छ । विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य संवेदनशील समूहसँग सम्बन्धित घटनामा संवेदनशीलता, गोपनीयता र पीडितकेन्द्रित दृष्टिकोणलाई प्राथमिकता दिनुपर्छ । स्मरण रहोस्, प्रहरीको शक्ति कानूनले प्रदान गरेको अधिकारमा मात्र होइन, नागरिकले गर्ने विश्वासमा पनि निहित हुन्छ ।’

दिक्षान्त समारोहमा व्यावसायिक तालिम पूरा गरेका प्रहरी अधिकृतहरूलाई सम्बोधन गर्दै उनले संगठनलाई नागरिकको सहयोगी र भरोसायोग्य संस्थाका रूपमा स्थापित गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।


प्रकाशित मिति: २६ आश्विन २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?