जर्मनी । प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तासम्म यसको निरन्तरता कायम राख्ने उद्देश्यसहित ‘साहित्य सार २०२६’ सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनी र नेपाली रुट्स ई.भी.को संयुक्त आयोजनामा शनिबार म्युनिखस्थित आइनेवेल्टहाउसमा आयोजित कार्यक्रममा प्रवासमा नेपाली भाषाको अवस्था, साहित्य सिर्जनाको वातावरण र नयाँ पुस्ताको सहभागितालाई केन्द्रमा राखेर छलफल गरिएको हो।
कार्यक्रमको सुरुआत गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीका पूर्व केन्द्रीय सदस्य तथा समाजसेवी स्वर्गीय कृष्ण शर्मा रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्दै गरिएको थियो। त्यसपछि अनेसास जर्मनीकी अध्यक्ष सीमा ढुङ्गानाले स्वागत मन्तव्य राख्दै प्रवासमा हुर्किरहेको नयाँ पुस्तालाई नेपाली भाषा, साहित्य र संस्कृतिसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन्। साहित्य केवल सिर्जनाको माध्यम मात्र नभई पुस्ता, समुदाय र विचारलाई जोड्ने साझा सेतु भएकाले यसको संरक्षणमा सबैको सहकार्य आवश्यक रहेको उनले उल्लेख गरिन्।

कार्यक्रमको मुख्य आकर्षण ‘प्रवासमा नेपाली भाषा र साहित्य : चुनौती, अवसर र नयाँ पुस्ता’ विषयक प्यानल छलफल रह्यो। सहभागीहरूले नेपाली भाषा पुस्तान्तरणमा देखिएका चुनौती, प्रवासमा साहित्य सिर्जनाका अवसर, डिजिटल माध्यमको बढ्दो प्रयोग तथा समुदायको भूमिकाबारे आफ्ना धारणा राखे। उनीहरूले घरपरिवारबाटै नेपाली भाषाको प्रयोगलाई प्रोत्साहन गर्न सके मात्र आगामी पुस्तामा भाषा र संस्कृतिको निरन्तरता सम्भव हुने बताएका थिए।
कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको जीवन, व्यक्तित्व र नेपाली भाषाको विकासमा उनले पुर्याएको योगदानबारे परिचर्चा गरिएको थियो। साथै कविता, गीत, गजल र मुक्तक वाचनमार्फत स्रष्टाहरूले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए। गजलकार कपिल अर्यालले गजलको संरचना, लय, बहर तथा लेखनका आधारभूत पक्षबारे जानकारीमूलक प्रस्तुति दिएका थिए।
यस अवसरमा अनेसास जर्मनी, नेपाली रुट्स ई.भी. तथा नेपाली परिवार ई.भी. बोडेन्सीले आफ्ना संस्थाका उद्देश्य, गतिविधि र भावी योजनाबारे जानकारी गराएका थिए। संस्थाहरूले प्रवासमा नेपाली भाषा, साहित्य र समुदायको सुदृढीकरणका लागि आपसी सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा हिमालयन परिवार ई.भी. म्युनिख, गुरुङ परिवार ई.भी., नेपाली परिवार ई.भी. बोडेन्सी, एनआरएनए एलसीसी बायर्न, नेपालिज फुटबल टिम (एनएफटी) ई.भी. म्युनिखलगायत विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि, साहित्यकार, विद्यार्थी तथा साहित्यप्रेमीको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता साहित्यिक कार्यक्रमले प्रवासी नेपाली समुदायबीच सिर्जनात्मक संवाद, सहकार्य र सांस्कृतिक आत्मीयता थप मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रमको समापनमा नेपाली रुट्स ई.भी.का अध्यक्ष डा. कृतन गौतमले कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, विभिन्न संघ–संस्था, स्रष्टा, स्वयंसेवक तथा सहभागीप्रति आभार व्यक्त गरे। अनेसास जर्मनीले प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

प्रकाशित मिति: १७ श्रावण २०८३, आईतवार