काठमाडौँ । दबन्दी छुटमा प्राप्त जग्गा विक्री वितरण गर्न दिई सरकारी तथा सार्वजनिक सम्पती हिनामिना गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत रुविना शाहीको प्रतिवेदन जाहेरीका आधारमा मंगलवार मुद्दा दर्ता भएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिएकी हुन् । मुद्दामा तत्कालीन प्रधानमन्त्री नेपाल, तत्कालीन सङ्घीय मामिला, संविधानसभा तथा संसदीय व्यवस्था तथा संस्कृति मन्त्री डा. मिनेन्द्र रिजाल, तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्री स्वर्गीय डम्बर श्रेष्ठ र तत्कालीन मुख्यसचिव स्वर्गीय माधवप्रसाद घिमिरेसहित ९७ जनालाई प्रतिवादी बनाइएको छ । अदालतकी सूचना अधिकारी हितानकाअनुसार आरोपपत्रमा ७३ करोड ३९ लाख ५६ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र दफा ३ को उपदफा १ तथा पहिलो संशोधनअनुसार कैद, बिगो बराबर जरिवाना र बिगो असुलउपर गर्न माग गरिएको उनले बताइन् । त्यस्तै, रिजाल स्क्यानिङ एण्ड कम्पनी प्रा.लि.को नाममा रहेको सुनसरी र मोरङ जिल्लाको ५९ बिघा ९ कठ्ठा १२ धुर जग्गा जफत गर्नसमेत मागदाबी गरिएको छ ।
हितानले भनिन् , ‘आज हदबन्दी छुट प्राप्त जग्गा बिक्री वितरण गरी सरकारी तथा सार्वजनिक सम्पतीको हिनामिना र भ्रष्टाचार गरेको आरोपमा ९७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत रुबिना शाहीको प्रतिवेदन तथा जाहेरीका आधारमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालीन मन्त्री डा. मीनेन्द्र रिजाल, तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्री स्वर्गीय डम्बर श्रेष्ठ र तत्कालीन मुख्यसचिव स्वर्गीय माधवप्रसाद घिमिरेसहित ९७ जनालाई प्रतिवादी बनाइएको छ । उक्त मुद्दामा ७३ करोड ३९ लाख ५६ हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, बिगो बराबर जरिवाना तथा बिगो असुलउपरको मागदाबी गरिएको छ । त्यसैगरी, रिजाल स्क्यानिङ एन्ड कम्पनी प्रा.लि.को नाममा रहेको सुनसरी र मोरङ जिल्लाको ५९ बिघा ९ कठ्ठा १२ धुर जग्गा जफत गर्नसमेत मागदाबी गरिएको छ । अबको कानूनी प्रक्रियाः अदालतले ९७ जना प्रतिवादीका नाममा म्याद जारी गर्नेछ। म्याद प्राप्त भएपछि प्रतिवादीहरू अदालतमा उपस्थित भई बयान दिनेछन् । त्यसपछि मुद्दाको थप सुनुवाइ तथा न्यायिक प्रक्रिया अघि बढ्नेछ ।’
मुद्दा दर्ता भएसँगै अब अदालतले ९७ जना प्रतिवादीलाई उपस्थित हुन म्याद जारी गर्नेछ । म्याद प्राप्त भएपछि प्रतिवादीहरू अदालतमा उपस्थित भई बयान दिने र त्यसपछि मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढ्ने सूचना अधिकारी हितानले बताएकी छिन् ।
प्रकाशित मिति: १७ कार्तिक २०८३, मंगलवार