काठमाडौँ ।नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा रहेको सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
पार्टी सम्पर्क कार्यालय चुनदेवीमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा उनले सुशासनको प्रतिवद्धतासहित बनेको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको र राज्यका विभिन्न संरचनामा अन्योल बढेको आरोप लगाएका छन् । प्रशासनतन्त्र र संवैधानिक निकायको सञ्चालनमा विधि तथा प्रक्रिया पालना नभएको भन्दै उनले सरकारलाई कानूनी शासनको प्रत्याभूति गराउन आग्रह गरेका छन् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भइरहेको आरोप लगाउँदै महतले सञ्चारकर्मीको अभिव्यक्ति र सूचना सम्प्रेषण गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने बताएका छन् । बिना आधार पत्रकार तथा सञ्चारमाध्यममाथि धरपकड गर्ने गतिविधि लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको उनको भनाइ छ ।
सरकारले निर्वाचनका क्रममा गरेका प्रतिवद्धताअनुसार काम नगरेको भन्दै उले सुशासन, विधिको शासन र नागरिकका सरोकारका विषयमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रकाशित मिति: १७ कार्तिक २०८३, मंगलवार