काठमाडौँ । नेपाल प्रिमियर लिगमा कर्णाली याक्समाथि जितपछि काठमाण्डु गोर्खाजका कप्तान करण केसीले टोलीमा रहने सात जना घरेलु खेलाडी नै जित दिलाउन सक्षम रहेको बताएका छन् ।
जितपछि पत्रकार सम्मेलनमा काठमाण्डुका कप्तान करणले डेविड वार्नरसँगै विदेशी खेलाडी आउट भएपछि पनि नेपाली खेलाडीमाथि जित दिलाउने विश्वास रहेको बताए । १६० सम्मको लक्ष्य अनुमान गरिए पनि बलिङमा केही गल्ती हुँदा केही ठूलो लक्ष्य पाएको उनको भनाइ छ । तर पिच राम्रो रहेकाले १८१ रनको लक्ष्य जिताउन सकिन्छ भन्ने विश्वास रहेको करणले बताए । साना साझेदारीसँगै रासिद खानको इनिङले गर्दा जित सम्भव भएको उनी बताउँछन् । कप्तान करणले टिममा खेल्ने सातै जना खेलाडीमा जित दिलाउने क्षमता रहेको धारणा राखे । कर्णालीका कप्तान सोमपाल कामीले निकालेको जितजस्तै नतिजा निकाल्दा उनी खुशी भए ।
साथै कर्णालीले त्यस्तै स्वाद पाएको भन्दै उनले ठट्यौली पारामा जवाफ दिए । आफ्नो जिम्मेवारी पनि खेल जिताउने भूमिका रहेको र त्यहीअनुरूप खेलेको उनको भनाइ छ । बलिङमा रासिदले राम्रो गर्न नसके पनि ब्याटिङमा राम्रो गरिरहेको करण बताउँछन् । तथापि अन्य खेलमा सुधार आउन सक्ने उनले आशा गरे । विश्वकप विजेता टोलीका सदस्य डेविड वार्नरजस्तो खेलाडीसँग खेल्न पाउनु महत्वपूर्ण रहेको करणले धारणा राखे । उनले महत्वपूर्ण निर्णयमा सहभागी हुन टोलीका लागि राम्रो पक्ष रहेको उनी बताउँछन् ।
कर्णाली याक्स अरिफुल इस्लामले टोलीको आवश्यकअनुरूप पावरप्लेमा राम्रो रन जोड्नु आफ्ना लागि खुशीको क्षण रहेको बताए । टि ट्वान्टी क्रिकेटमा पावरप्लेको रन महत्वपूर्ण हुने उनले उल्लेख गरे । त्यहीअनुरूप रन जोड्न सक्दा खुसी लागेको उनले बताए । तथापि, त्यसलाई ठूलो रनमा फिनिस गर्न चुकेको उनी बताउँछन् । प्रशिक्षकको विश्वासअनुरूप खेल्न पाउँदा उनले खुसी व्यक्त गरे । बंगलादेशी ब्याटर अरिफुलले नेपालमा क्रिकेटको राम्रो महोल रहेको बताए । त्यसले क्रिकेट विकासमा महत्वपूर्ण रहने धारणा राखे ।
प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार