Trending
>>   सुदूरपश्चिम रोयल्सको दोस्रो जित >>   सात जना नेपाली खेलाडीमा जिताउने क्षमता छ: करण केसी >>   काँग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुग्यो >>   नियुक्ति सिफारिस पारदर्शी बनाउन सरकारलाई निर्देशन दिन्छौँः सभापति श्रेष्ठ >>   विचौलिया प्रकरणमा सरकार आफैँ मुछिएको छ, यसको स्वतन्त्र छानविन सरकारले गर्न सक्दैनः महामन्त्री पौडेल >>   प्रेस स्वतन्त्रतामाथि गरिएको हस्तक्षेपको छानविन गर्न संसदीय विशेष समिति बनाउन काँग्रेसको माग >>   फिनटेक नवप्रवर्तनलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले अनुकूल वातावरण बनाइरहेको छः गभर्नर पौडेल >>   राज्य सञ्चालन बालबालिकाको भाँडाकुटी बन्योः शंकर पोखरेल >>   भोटेकोशी बाढीबारे चीनले तत्काल सूचना दिएको थिएनः परराष्ट्र सचिव राई >>   न्यायाधीशमाथी महाभियोग लगाउने विषयमा काँग्रेसले तत्काल धारणा सार्वजनिक नगर्ने :भीष्मराज आङदेम्बे
Logo
१६ कार्तिक २०८३, सोमबार
१६ कार्तिक २०८३, सोमबार

प्रेस स्वतन्त्रतामाथि गरिएको हस्तक्षेपको छानविन गर्न संसदीय विशेष समिति बनाउन काँग्रेसको माग


प्रेस स्वतन्त्रतामाथि गरिएको हस्तक्षेपको छानविन गर्न संसदीय विशेष समिति बनाउन काँग्रेसको माग

काठमाडौँ । नेपाली काँग्रेसले पत्रकार पक्राउ तथा प्रेस स्वतन्त्रतामाथि भएको हस्तक्षेपको छानविन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ ।

काँग्रेसको सोमवार बसेको संसदीय दलको बैठकले संसदीय विशेष छानविन समिति बनाउन माग गर्ने निर्णय गरेको हो । बैठकपछि निर्णय सुनाउँदै काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप आपत्तिजनक रहेको बताएका छन् । उनले पत्रकार पक्राउको स्पष्ट कानूनी आधार, पक्राउ पुर्जी वा अदालतको अनुमति सार्वजनिक नगरी समाचार कक्षमै प्रहरी परिचालन गरिनु स्वतन्त्र पत्रकारितामाथिको अनुचित दबाब र विधिको शासनविपरीत भएको बताएका छन् । यस्ता घटनाको जवाफ सरकारले दिनुपर्ने उनको भनाई छ । सरकारको पछिल्ला विवादित गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाहरूको स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न उठाएको उनको भनाई छ । निर्वाचनबाट प्राप्त जनादेश शासन सञ्चालन गर्ने अधिकार भएपनि संविधान र कानूनभन्दा माथि उठ्ने अनुमति नभएको उनले स्पष्ट पारेका छन् ।

सरकारका जनसरोकारका काम र सुशासनका सकारात्मक प्रयासमा काँग्रेसको समर्थन रहने तर लोकतन्त्र, प्रेस स्वतन्त्रता, शक्ति पृथकीकरण र विधिको शासनविपरीतका गतिविधिको निरन्तर विरोध गर्ने उनको भनाई छ । सरकारको गतिविधिले मुलुकको संवैधानिक संरचनालाई कमजोर बनाउँदै आफूअनुकूलको शासन स्थापित गर्ने प्रयास भइरहेको आशंका पैदा गरेको उनले बताएका छन् । पत्रकार धरपकडलगायत विवादित घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्र्नुपर्ने उनको भनाई छ ।

उनले भने, ‘लोकतन्त्रमा निर्वाचनबाट प्राप्त जनादेश शासन सञ्चालनको अधिकार हो, संविधान र कानुन भन्दा माथि उठ्ने अनुमति होइन । यो अहिलेको विषयवस्तुहरुको विषयमा हाम्रो निष्कर्ष छ । तर पछिल्ला सरकारी गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाहरूको स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न खडा गरेका छन् । पत्रकार धरपकड लगायत लगायतका घटनाप्रति अन्य घटनाप्रति नेपाली कांग्रेस संसदीय दल आपत्ति प्रकट गर्दछ । पक्राउको स्पष्ट कानूनी आधार, पुर्जी वा अदालतको अनुमति सार्वजनिक नगरी समाचार कक्षमै प्रहरी परिचालन गरिनुले स्वतन्त्र पत्रकारिता माथि अनुचित दबाब मात्र होइन, विधिको शासन विपरीत हो, स्वेच्छाचारिता हो । यसको जवाफ सरकारले दिनुपर्छ । नेपाली काँग्रेसले निरन्तर भन्दै आएको छ, वर्तमान सरकारले गर्ने सही कार्य, जनसरोकारका विषय र सुशासनका सन्दर्भमा समर्थन छ । तर लोकतन्त्र र विधिको शासन, प्रेस स्वतन्त्रता, शक्ति पृथकीकरण लगायतका सारभूत मूल्य मान्यता विपरित सरकार लागेमा काँग्रेसले विरोध गर्छ र गरिरहन्छ । न्यायपालिकाको स्वतन्त्रतालाई अक्षुण्ण हुनुपर्दछ र राख्नुपर्दछ । यो पनि हामीले निरन्तर भन्दै आएका विषय हो । सरकारको काम ड्यू प्रोसेस अफ ल अनुसार हुनुपर्दछ । तर सरकारको गतिविधि जे गरे पनि हुन्छ, जवाफ दिनु पर्दैन भन्ने मानसिकता र प्रवृत्तिका उपज जस्तो भएर सार्वजनिक भइरहेको छ । यी सबै घटनाहरू मुलुकको संवैधानिक संरचनालाई कमजोर बनाउँदै आफू अनुकूलको शासन स्थापित गर्न गरिएको सुनियोजित प्रयत्नको खतरनाक शृङ्खला हो भन्ने नेपाली काँग्रेस संसदीय दलको ठम्याइ छ । अतः नेपाली काँग्रेस पत्रकार धरपकड लगायत यससँग जोडिएका सबै विवादित सरकारी गतिविधिको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्दछ, दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्दछ, यसका लागि संसदीय विशेष समिति गठन गर्नुपर्दछ भन्ने नेपाली काँग्रेसको स्पष्ट अडान पनि छ ।’

काँग्रेसले पछिल्ला घटनाक्रमबारे साझा धारणा बनाउन संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक बोलाएको छ । बैठकमा सरकार, न्यायपालिका र प्रहरीसमेत जोडिएका विवादित विषय तथा बिचौलिया प्रकरणबारे छलफल हुने नेता आङ्देम्बेले जानकारी दिएका छन् । कार्यकारी प्रमुख, न्यायालय र प्रहरीसम्बन्धी विवाद सार्वजनिक भइरहँदा न्याय सम्पादनको निष्पक्षतामाथि समेत प्रश्न उठेकाले साझा धाराणा बनाउन आवश्यक रहेको उनको भनाई छ । विपक्षी दलहरुसंग यी विषयको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय संसदीय समिति आवश्यक रहेको सन्र्दभमा छलफल गर्ने उनले जानकारी दिएका छन् । उनले विवादित विषयलाई ओझेलमा पार्न प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फ ध्यान मोड्न खोजेको उनको भनाई छ । यस्ता विषयलाई ओझेलमा पार्न नहुने उनको भनाई छ । उनले संसद्को बैठक यथाशिघ्र आह्वान गरेर विशेष संसदीय समिति गठनमा दबाब दिने विषयमा विपक्षी दलहरुको बैठकमा छलफल गरिने बताएका छन् ।

उनले भने, ‘संसदमा रहेका विपक्षी दलको हामीहरुले बैठक बोलाएका छौँ । बैठकमा अहिले बिचौलियाको विषयले जसरी कार्यकारी प्रमुख प्रधानमन्त्रीजी, न्यायालय, प्रहरी जसरी चाहिँ मुछिएको अवस्था छ, आरोपित भएको अवस्था छ । न्याय सम्पादन गर्ने ठाउँहरु नै जब विवादित ढङ्गबाट सार्वजनिक भइरह्यो भने उनले चाहिँ सम्पादन गर्ने न्यायहरु कति न्यायोचित हुन्छ, निष्पक्ष हुन्छ भन्ने कुराको चाहिँ हामीहरुलाई शङ्का छ । यस विषयमा उच्चस्तरीय छानबिन संसदीय समिति गठन गर्नुपर्छ भने त्यसको लागि संसदको बैठक बस्न जरुरी हुन्छ । संसदको बैठक बस्नका लागि पनि हामीहरु विपक्षी दलको बैठक बसेर आवश्यक छलफल गरि निर्णय गर्छौ । चाँडो भन्दा चाँडो संसदको बैठक आह्वान गरेर यी विषयहरुलाई निष्कर्षमा पु¥याउन पर्छ ।’

साथै बैठकमा भोटेकोशी र रसुवामा भएका विपत्तिसम्बन्धी संसदीय विशेष समितिको काम तथा प्रगतिबारे पनि समीक्षा गरिएको थियो । साथै, देशका ७७ वटै जिल्लामा विपत्तिबाट प्रभावित नागरिकका समस्या बुझ्न सांसदहरूलाई दिइएको जिम्मेवारी र उनीहरूबाट प्राप्त प्रतिवेदनबारे छलफल भएको नेता आङ्देम्बेले जानकारी दिएका छन् ।


प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?