जर्मनी। नेपाली रुट्स ईभी र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनीको संयुक्त आयोजनामा ‘साहित्य सार कार्यक्रम २०२६’ आयोजना हुने भएको छ।
नेपाली भाषा, साहित्य र नेपाली डायस्पोराबीच अर्थपूर्ण संवाद तथा ज्ञान आदानप्रदानलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। नेपाली रुट्सले लामो समयदेखि प्रोफेसनल नेटवर्किङ, करियर विकास तथा ज्ञान आदानप्रदानका माध्यमबाट जर्मनीसहित विभिन्न देशमा रहेका नेपाली समुदायलाई जोड्ने र सशक्त बनाउने काम गर्दै आएको छ।
आयोजकका अनुसार व्यावसायिक सफलतासँगै आफ्नो भाषा, संस्कृति र पहिचानसँग जोडिनु पनि उत्तिकै महत्त्वपूर्ण भएकाले साहित्यलाई साझा माध्यम बनाएर नेपाली समुदायलाई एकै ठाउँमा ल्याउने प्रयासस्वरूप कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा साहित्यिक प्यानल छलफल, कविता, गजल, गीत, मुक्तक, हाइकु लगायत विविध साहित्यिक रचनाको वाचन, खुला अन्तरक्रिया तथा सहभागीबीच नेटवर्किङ गर्ने अवसर रहनेछ। साथै सहभागीहरूले खाजा तथा चियासहित अनौपचारिक भेटघाट र अनुभव आदानप्रदान गर्न सक्ने व्यवस्था पनि गरिएको छ।
नेपाली साहित्यमा रुचि राख्ने, नयाँ सम्बन्ध विस्तार गर्न चाहने, आफ्ना अनुभव र ज्ञान नेपाली समुदायसँग साझा गर्न इच्छुक सबैलाई कार्यक्रममा सहभागी हुन आयोजकले आग्रह गरेको छ।
आयोजकका अनुसार विभिन्न पेसा र व्यवसायमा आबद्ध नेपाली, साहित्यप्रेमी, विद्यार्थी तथा जर्मनीस्थित नेपाली समुदायलाई एउटै मञ्चमा ल्याएर विचार–विमर्श, नेटवर्क विस्तार र साझा नेपाली पहिचानलाई उत्सवका रूपमा मनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो।
प्रकाशित मिति: ३० असार २०८३, मंगलवार