Trending
>>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा


माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा

काठमाडौँ। प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले माओवादी आन्दोलनको पुनर्गठन र पुनर्जागरण आवश्यक रहेको बताएका छन् ।

उनले विगतमा जनयुद्धको नेतृत्व गरेको पुस्ताले अब माओवादी आन्दोलनलाई अघि बढाउन नसक्ने जिकिर गरे । आन्दोलनका बाँकी एजेन्डालाई नयाँ पुस्ताले अघि बढाउनुपर्ने उनको भनाइ छ ।उनले माओवादी आन्दोलनका उपलब्धिका रूपमा संविधानमा समेटिएका अधिकारको प्रभावकारी कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै समानुपातिक प्रतिनिधित्व र समानताको अधिकार कार्यान्वयनमा देखिएका विकृतिप्रति चिन्ता व्यक्त गरे । समयअनुसार विचार विकास गर्दै नयाँ चुनौतीको सामना गर्न नसक्दा माओवादी आन्दोलनमा प्रतिक्रान्तिको अवस्था सिर्जना भएको उनको भनाइ छ ।

बन्दुकको लडाइँ मात्र क्रान्ति नभएको उल्लेख गर्दै उनले संविधानसभा, शान्ति प्रक्रिया र जनताका समस्या समाधानका लागि गरिने संघर्ष पनि क्रान्तिकै निरन्तरता भएको बताए । माओवादी आन्दोलनले जनताका समस्या समाधान गर्ने दिशामा आफूलाई अघि बढाउन नसकेको उनको टिप्पणी छ ।उनले संविधान, लोकतन्त्र, समावेशिता र राष्ट्रियताको संरक्षणका विषयमा गम्भीर भएर सोच्नुपर्ने बेला आएको बताउँदै पछिल्लो राजनीतिक परिस्थितिले प्राप्त उपलब्धिसमेत संकटमा पर्न सक्ने खतरा औँल्याए । उपलब्धिको रक्षा गर्न नयाँ ढंगले राजनीतिक पहल आवश्यक रहेको उनको भनाइ छ ।

उनले भने, ‘जनयुद्धसम्म एउटा बन्दुक लडियो, त्यसपछि संविधान सभामा लडियो, त्यसपछि शान्ति प्रक्रियामा जनताका समस्याहरूको समाधान गर्ने कुराको लडाइँ नै क्रान्ति हुन्थ्यो । त्यतातिर माओवादी आन्दोलनले त्यो दिशा लिन नसक्नु मुख्य समस्या भएको कारणले प्रतिक्रान्ति भयो यो देशमा । अब यो संविधान पनि के हुन्छ, लोकतन्त्र रहन्छ कि रहँदैन ? हाम्रो राष्ट्रियता यतिबेला कति सङ्गीन घडीमा छ, राष्ट्रियता कति खतरामा छ भन्ने कुरा तपाईं हामी सबैले अनुभुत गरेका छौँ । यसको रक्षा हामी गर्न सक्छौँ कि सक्दैनौँ ? संविधान नरहँदा यो लोकतन्त्र नरहँदा यो समावेशिता आदि त्यस्ता कुरा त त्यो अर्कै कुरा भइहाल्यो । कहाँ पुग्ला ? सबैले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ । हाम्रा उपलब्धिहरू आज समाप्त हुँदै गर्दा अब फेरि एकपटक नयाँ सिराबाट, नयाँ ढङ्गले, नयाँ पुस्ताले जो राजनीतिक सुझबुझ भएको पुस्ता होस्, नयाँ पुस्ताले माओवादी आन्दोलनलाई पुनर्गठन गर्नुपर्छ । यसको पुनर्जागरण गर्नुपर्छ । माओवादी आन्दोलनका एजेण्डा अहिले पनि बाँकी छन् । त्यो आवश्यकता अहिले पनि छ । त्यसलाई पुनर्गठित गर्नुपर्छ । त्यसमा मैले आफ्नो तर्फबाट सहयोग र योगदान गर्न म तयार छु, तर मेरो शर्त के छ भने नयाँ पुस्ताले आएर यसको नेतृत्व गर्नुपर्छ । यहाँनिर पुस्ताको कुरा आउँदा एउटा कुरा आउँछ, को कति वर्षमा भन्दा सक्षम र असक्षमको कुरा हो, पुस्ताको कुरा गरेको हैन मैले । अब हिजो जनयुद्ध लडेर त्यसको नेतृत्व गरेको जो टिम थियो, त्यो असक्षम भइसक्यो । हामीभन्दा पछिल्लो पुस्ता जो छ, तपाईँहरूले पुनर्गठन गर्नुप¥यो ।’

माओवादी आन्दोलनका एजेन्डा अझै सान्दर्भिक रहेको दाबी गर्दै उनले नयाँ पुस्ताले आन्दोलनको पुनर्गठन र पुनर्जागरण गर्न अघि बढे सहयोग गर्ने बताए । पुस्तान्तरण उमेरमा नभई क्षमता र योग्यतामा आधारित हुनुपर्ने उल्लेख गर्दै उनले राजनीतिक सुझबुझ भएको नयाँ पुस्ताले नेतृत्व लिएर बाँकी एजेन्डा अघि बढाउनुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?