काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको राजनीतिक अनिश्चितताबीच देशलाई निकास दिने शक्ति राप्रपा मात्रै भएको दाबी गरेका छन् ।
नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले अन्य राजनीतिक दल असफल भइसकेको जिकिर गरे । पार्टीलाई बलियो बनाउन नेतृत्वदेखि कार्यकर्तासम्म परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले आगामी महाधिवेशनमार्फत संगठन पुनर्गठन गर्नुपर्ने बताए ।
सीमित कार्यकर्तामा केन्द्रित भएर पार्टी बलियो बन्न नसक्ने भन्दै उनले संगठन विस्तार गरी सबैका लागि ढोका खुला गर्न आग्रह गरे । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको एजेन्डा स्थापित गर्न प्रभावकारी राजनीतिक गतिविधि आवश्यक रहेको उनको भनाइ छ ।
उनले भने, ‘नेपालको राजनीति एउटा अध्यारो सुरुङमा प्रवेश गरेको छ । अनिश्चय र अनिश्चितताका कालो बादलहरू आज हाम्रो शिरमाथि मडारिराखेको छ । सबै जस्तो राजनीतिक दलहरू असफलताको बाटोतर्फ गइराखेका छन् । यस्तो बेला देशलाई निकास दिने र एउटा दृष्टि दिने कुनै शक्ति र पार्टी नेपालमा जीवित छ भने त्यो राष्ट्रिय प्रजातन्त्र पार्टी हो । त्यसकारण राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अब आउने चुनौतीको सामना गर्नको लागि तयार पार्ने र आगामी देशको नेतृत्व गर्ने शक्तिको रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई तयार पार्ने हाम्रो जिम्मेवारी छ । हाम्रो कर्तव्य छ । हामी सबै कार्यकर्ताहरूको कर्तव्य छ । त्यसकारण मैले तपाईंहरूलाई भन्छु कि यो राष्ट्रिय प्रजातन्त्र पार्टीलाई यस्तो शक्तिको रूपमा तयार गर्नको लागि हामी परम्परागत रूपमा जसरी हिँडी राखेका छौँ, जसरी चली राखेका छौँ, त्यसले पुग्दैन । मैले पनि जे गरिराखेको छु, त्यसले पुग्दैन । तपाईँहरूले पनि जे गरिराख्नुभएको छ, त्यसले पुग्दैन । हामी सबै बदलिनुपर्छ । र हामी नयाँ ढङ्गले जानुपर्छ र यसलाई एकमुष्टमा भन्ने हो भने आउने महाधिवेशनबाट राप्रपालाई पुनर्गठित गरेर जानुपर्छ । र पुनर्गठित राप्रपा हामीले बोकेर जानुपर्छ । यसको लागि पार्टीमा सबैको लागि ढोका खोल्नुपर्छ । त्यो क्रममा कोही समस्याको रूपमा छन् भने छुट्न पनि सक्छन् । त्यसमा हामीले चिन्ता गर्न हुन्न । अहिले हामी जति छौँ, सैद्धान्तिक रूपमा ती मानिसहरू एकतावद्ध भएर जानुपर्छ । कोही पनि विचलित हुनु हुँदैन । तर व्यावहारिक हिसावले हामीले यो कुरा पनि बुझ्न जरुरी छ । हामी अहिले जति मान्छे छौँ, त्यति मान्छे मिलेर मात्रै राप्रपा हुँदैन । हामीले अरु मान्छे नबढाउने, आम मान्छेको पार्टीको रूपमा राप्रपालाई विकसित नगर्ने, तर भएका मात्रै अङ्गालो मारेर बस्यौँ भने राप्रपा ठूलो हुन्छ त ? अरुलाई आउन नदिने ? राजसंस्था, हिन्दू राष्ट्र पुनःस्थापनाको कुरा त परको कुरा भइगयो । एउटा साइनबोर्ड मात्रै झुन्ड्याएर बसेर यी हामीले हाम्रो आदर्शहरूलाई स्थापित गर्न सक्दैनौँ । त्यसकारण मैले फेरि पनि भन्छु, हामी सबैले एउटा मनस्थिति अब बनाउन जरुरी छ । एउटा अठोट गर्न जरुरी छ र यो पार्टीलाई पुनर्गठित गरेर अघि बढाउन जरुरी छ । आउने महाधिवेशनमा यो पार्टीलाई पुनर्गठित गरेरै लाने हो, भन्ने अठोटका साथ महाधिवेशनको तयारीमा जुट्न म तपाईंहरु सबैलाई आग्रह गर्दछु ।’
आसन्न महाधिवेशनलाई पार्टी पुनर्गठनको अवसरको उपमा उपयोग गर्नुपर्नेमा उनको जोड छ ।
प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलवार