Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

गहुँ सुक्न थालेपछि कृषक चिन्तित


गत वर्ष यति बेला खेत बारीमा लगाइएका गहुँ जौँले बाला हाल्न सुरु गर्थे । समयमै वर्षा हुँदा कृषकले गहुँ उत्पादनमा घाटा ब्यहोर्नुपरेन । तर, यस वर्ष गहुँ लगाएपछि पानी नपर्दा किसान निरास बनेका छन् । लामो समयदेखि खडेरीले पसाउन थालेको गहुँ सुक्न थालेपछि कृषक चिन्तित बनेका हुन् । त्यसै त जिल्लामा गहुँ उत्पादन कम हुन्छ । त्यसमाथि वर्षा नहुँदा सुक्न थालेपछि किसानलाई भोकमरीको चिन्ता बढेको छ । जिल्लाका अधिकांश क्षेत्रमा आकाशे पानीकै भरमा खेतीपाती गरिँदै आएको छ । गहुँ लगाउँदादेखि नै रोकिएको वर्षा अहिलेसम्म नहुँदा गहुँ पसाउने बेलामा सुक्न थालेको गलकोट नगरपालिका–५ का इन्द्रबहादुर खत्रीले बताउनुभयो ।

उहाँले बारीको मकै स्याहारेर गहुँ छरेपछि रोकिएको वर्षा अहिलेसम्म नहुँदा बीउसमेत उत्पादन नहुने चित्ना व्यक्त गर्नुभयो । खत्रीले भन्नुहुन्छ, “यतिका महिना बितिसक्यो, पानी पर्दैन, बादल धामलधोमल गर्दा पानी आउँछकी भनेर आकाश तिर हे¥यो पानी पर्ने छाँटकाँट देखिएन, खेतबारीमा लगाएको गहुँ सुक्न थाले, आउँदो बर्खा के खाने होला, गहुँले फल देलाजस्तो छैन, बीउ पनि उत्पादन हुन्न भन्ने चिन्ता छ, बीउ बचेन भने त गाह्रो हुन्छ ।” गलकोट, जैमिनी, बागलुङ, निसीखोला, बरेङ लगायतका ठाउँमा राम्रो गहुँ उत्पादन हुन्छ । ढोरपाटन, तमान र ताराखोलामा जौँ उत्पादन हुँन्छ । जैमिनीका कृष्णप्रसाद शर्माले करिब आठ रोपनी खेत तथा बारीमा गहुँ लगाएको सुनाउँदै सिँचाइ गर्न नसक्दा सुक्दै गएको बताउनुभयो । शर्माले पाखोबारीमा बढी गहुँ लगाएको भन्दै पाइपबाट पानी लगाउन सम्भव नभएको सुनाउनुभयो । “खेतमा अलिअलि कुलोबाट पानी ल्याएर लगाइयो, पाखो बारीमा लगाएको गहुँ सुकेर मर्न थालिसक्यो, पोहोरपरार पानी पथ्र्यो, बाली राम्रै हुन्थ्यो, यसपालि खै धेरै समय भयो पानी परेकै छैन”, शर्माले भन्नुभयो, “पाटामा लगाएको गहुँमा पाइपबाट पानी लगाउँ भने सम्भव छैन, अब एक सातासम्म पानी नपरेर यस्तै घाम लागि रह्यो भने गहुँ सबै सुक्छ ।” बागलुङमा कूल सात हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिन्छ । यस वर्ष समयमा पानी नपर्दा गहुँ उत्पादनमा गिरावट आउने कृषि ज्ञान केन्द्र बागलुङको आँकलन छ । केन्द्रका सूचना अधिकारी कुमार पुन सिँचाइ सुविधा भएका खेत र आकाशे पानीको भरमा खेती गरिने बारीमा पनि गहुँ खेती गर्दै आएको बताउनुहुन्छ । पुन भन्नुहुन्छ, “कृषकले गहुँ लगाएपछि लामो समय खडेरी प¥यो, सामान्यतया गहुँ लगाएको दुई÷तीन हप्तामा राम्रो सिँचाइको आवश्यकता हुन्छ, तर यस वर्ष त्यो हुन सकेन, यसले गहुँ उत्पादनमा धेरै गिरावट आउने देखिएको छ ।” जिल्लामा गौतम, विजय, स्वर्गद्वारी र धौलागिरि जातको गहुँ लगाइन्छ ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका अनुसार जिल्लामा ४६ हजार एकसय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ । त्यसमध्ये छ हजार एक सय ४८ हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सहज छ । खेतीयोग्य जमिनको २० दशमलव १५ प्रतिशत जमिनमा सिँचाइको सुविधा छ । त्यसमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर छ । पछिल्लो समय बसाइँसराइले खेतीयोग्य जमिनसमेत बाँझिदै गएका छन् ।


प्रकाशित मिति: २१ माघ २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?