काठमाडौँ । विभागीय टोली त्रिभूवन आर्मी र एपिएफ क्लवले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद् शुरुवात गरेका छन् ।
मूलपानीमा आईतवार भएको खेलमा आर्मीले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लवलाई २२ रनले हराउँदा एपिएफले वागमती प्रदेशलाई ७१ रनले पराजित ग¥यो । आर्मीको जितमा बसिर अहमद र एपिएफको जितमा आसिफ शेखले शतक बनाए । दुवै म्यान अफ दी म्याच पनि भए । प्रधानमन्त्री कपको यस संस्करण काठमाडौं र मधेस प्रदेशका दुई जिल्ला वीरगञ्ज र जनकपुरमा भइरहेको छ । मधेसबाट शुरु भएको पहिलो दिनको खेल वर्षाका कारण हुन सकेन । काठमाडौंमा आईतवार तल्लो मूलपानीमा आर्मी र पुलिसबीच भएको खेल ४७ औं ओभरमा झारिएको थियो । भिजेको मैदानका कारण टसमा ढिलाइ हुँदा ओभर घटाइएको हो ।गत हप्ता मात्र जय ट्रफी (दुई÷तीन दिवसीय फरम्याट) मा आर्मी र पुलिसबीच फाइनलमा प्रतिष्पर्धा भएको थियो ।
पुलिसले फाइनलमा लगातार दोस्रोपल्ट आर्मीलाई हराउँदै उपाधि उचालेको हो । तर, प्रधानमन्त्री कपमा भने आर्मीले त्यसको बदला लिँदा पुलिसलाई हराउन सफल भयो । बसिर अहमदको शतकमा आर्मीले दुई सय ४४ रनको बलियो लक्ष्य दियो । जबाफी ब्याटिङ गरेको पुलिस ४५.३ ओभरमा दुई सय २१ रनमा अलआउट हुन पुग्यो । ओपनर दिनेश खरेल शुन्यमा र अमित श्रेष्ठ ५ रनमा आउट भए । यससँगै पुलिसको शुरुवात राम्रो हुन सकेन । १.१ ओभरमा पुलिस ७/२ को अवस्थामा थियो । तेस्रो विकेटका लागि ओपनर शंकर राना र रासिद खानबीच एक सय ४ रनको महत्वपूर्ण साझेदारी बन्यो । २३औं ओभरमा स्पिनर साहब आलमले शंकरलाई ४६ रनमा आउट गर्दै साझेदारी तोडे ।
शंकरले ५५ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । रासिद ६० रनमा नरेन भट्टको बलमा बोल्ड भए । २८औं ओभरमा स्पिनर नरेनले उनलाई बोल्ड गरेका हुन् । रासिदले ८२ बलमा पाँच चौका र दुई छक्का हिर्काए । कप्तान आरिफ शेखले ३८ रन र करण केसीले २३ रन बनाए । त्यसबाहेक अन्य ब्याटर चल्न सकेनन् र पुलिसले हार व्यहो¥यो । आर्मीको बलिङमा नरेन साउदले तीन तथा आकाश चन्दले दुई विकेट लिँदा कुशल मल्ल, साहब आदम, बसिर अहमद र पवन कार्कीको नाममा समान एक विकेट रह्यो । अलराउन्ड प्रदर्शन गरेका बसिर म्यान अफ दी म्याच पनि भए । त्यसअघि टस जितेर आर्मीले पहिले ब्याटिङ गर्ने निर्णय ग¥यो ।
मध्य क्रमका ब्याटर चम्कँदा पूरै ओभरमा आर्मीले आठ विकेट गुमाउँदै दुई सय ४३ रनको योगफल बनायो । आर्मीको पनि खराब सुरुआत भयो । १६.२ ओभरमा आर्मी ५८÷४ को अवस्थामा थियो । तर, मध्य क्रमका ब्याटर बसिरले एक सय रन र भीम सार्कीले ६२ रनको महत्वपूर्ण इनिङ खेले । यी दुईले पाँचौं विकेटका लागि ८२ रनको साझेदारी गरे । ३१ औं ओभरमा सारवान यादवले भीमलाई आउट गरेपछि आर्मीको इनिङ फेरि धरमरायो । तर युवा ब्याटर नरेनले अविजित २१ रनको योगदान दिँदै आर्मीको इनिङमा साथ दिए । उनी र बसिरबीच सातौं विकेटका लागि ८० रनको महत्वपूर्ण साझेदारी बन्यो । अन्तिम ओभरमा आउट भएका बसिरले ८६ बलमा सात चौका र दुई छक्का प्रहार गरे ।
पुलिसको बलिङमा सारवानले तीन तथा सागर ढकाल र रासिद खानले दुई विकेट लिँदा ललित राजवंशीको नाममा एक विकेट रह्यो । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा एपिएफको जितमा ओपनर आसिफ शेखले शतक बनाए । उनको शतकमा एपिएफले दुई सय ७२ रनको लक्ष्य दियो । जबाफमा खराब ब्याटिङ गरेको बागमती ४५.१ ओभरमा दुई सय रनमा अलआउट भयो । खराब शुरुवात गरेको बागमती समालिन नै सकेन । नियमित रूपमा विकेट गुमाएपछि सहजै नतिजा सुम्पियो । मध्य क्रमका ब्याटर विवेक राना मगर ३४ रन जोडे । यो नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । उत्तम थापा मगर २६ र शिभम तिवारी २५ रनमा आउट भए ।
तल्लो क्रमका ब्याटरद्वय सुवास खत्री २७ र रिजन ढकालले २० रन जोड्दै बागमतीको योगफल दुई रनसम्म पु¥याएका हुन् । यी दुईले दशौं विकेटका लागि ५३ रनको साझेदारी गरे पनि फराकिलो हार टार्न सकेनन् । एपिएफको बलिङमा कप्तान रोहितकुमार पौडेल र अभिषेश गौतमले समान तीन तथा कमलसिंह ऐरी, नन्दन यादव, युवराज खत्री र अमरसिंह राउटेलाले समान १ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ७१ रनको योगफल तयार गरेको थियो । ओपनर आसिफले सर्वाधिक ११४ रनको शतकीय इनिङ खेले । उनले १०५ बलमा १४ चौका र ३ छक्का प्रहार गरे । पिएम कपमा आसिफको यो तेस्रो पटक शतक हो ।
आसिफले तेस्रो विकेटका लागि सन्दीप जोरासँग १०३ रनको शतकीय साझेदारी गरे । जोरा ५३ बलमा ५२ रन बनाए । लोकेश बम २९ र सुमित महर्जन १८ रनमा आउट भए । युवा ब्याटर युवराज खत्री २६ रनमा अविजित रहँदा कप्तान रोहित ९ रनमै आउट भए । बागमतीको बलिङमा रिजन ढकालले ४ तथा इशान पाण्डेले २ विकेट लिँदा कप्तान सन्दीप लामिछाने र सोनु देवकोटाको नाममा समान १ विकेट रह्यो । करिब एक महिना चल्ने प्रतियोगितामा तीन विभागीय र सात प्रदेश गरी १० टोली सहभागी छन् । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रकाशित मिति: ८ चैत्र २०८२, आईतवार