Trending
>>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने >>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ >>   ‘सरकारले चाहे जस्तो पत्रकारिता गर्न सक्दैनौँ, सञ्चारमन्त्रीले पत्रकारिता नसिकाए हुन्छ’ >>   राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना >>   पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ :काँग्रेस >>   सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल >>   न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र >>   आईजीपी नियुक्तिविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा >>   सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक >>   प्रहरीको नयाँ नेतृत्वको प्राथमिकताः अपराधको डिजिटल रूपान्तरणविरुद्ध जुध्न ‘गुनासो सुनुवाइ संयन्त्र’ ल्याइने
Logo
२० कार्तिक २०८३, शुक्रबार
२० कार्तिक २०८३, शुक्रबार

अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने


काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गरी अभिव्यक्ति र गतिविधि नगर्न आग्रह गरेका छन् ।

शुक्रवार चितवनमा आफ्नो धारणा राख्दै उनले अदालतका विषयमा सुनेका भरमा वा लेखेका आधारमा टिप्पणी गर्दा संस्थाको गरिमा र विश्वसनीयता कमजोर हुने बताएका छन् । उनले अदालत, प्रहरी, सुरक्षा निकाय, निजी क्षेत्र, वैदेशिक सम्बन्ध, पेशागत संगठन र प्रेसलगायतका संस्थाहरू कमजोर भए समग्र देश र लोकतन्त्र नै कमजोर हुने उल्लेख गरेका छन् । लामिछानेले कमजोर लोकतन्त्रले ठूला कुरा गर्नसक्ने भएपनि प्रभावकारी काम गर्न नसक्ने टिप्पणी गरेका छन् । अभिव्यक्ति, क्रियाकलाप र निर्णयमार्फत लोकतन्त्रको महत्वपूर्ण स्तम्भलाई कमजोर बनाउने काम गर्न नहुने उनको भनाइ छ । राज्यका संस्थाहरूलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्नेमा जोड दिँदै उनले प्रहरी र केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) लाई थप बलियो बनाउनुपर्ने बताएका छन् । सीआईबी बलियो भए पद र हैसियतमा बसेका व्यक्तिलाई समेत अनुसन्धानको दायरामा ल्याउन सकिने उनको भनाइ छ । भ्रष्टाचारमा संलग्न व्यक्तिलाई पक्राउ गरेपछि कमजोर अनुसन्धानका कारण अदालतबाट छुट्ने अवस्था आउन नहुने भन्दै उनले अनुसन्धानलाई प्रमाणमुखी र बलियो बनाउनुपर्ने बताएका छन् ।

उनले भने, ‘अदालतलगायत राज्यका संस्थाहरूका बारेमा सुनेका वा लेखिएका आधारमा हचुवाका भरमा टिप्पणी गर्दा ती संस्थाहरू कमजोर हुन्छन् । अदालत, प्रहरी, सुरक्षा निकाय, निजी क्षेत्र, प्रेस, पेशागत संगठन र वैदेशिक सम्बन्धजस्ता राज्यका सबै आधारस्तम्भ कमजोर भएमा अन्ततः देश र लोकतन्त्र नै कमजोर हुन्छ । हाम्रा अभिव्यक्ति, गतिविधि र निर्णयले लोकतन्त्रका आधारस्तम्भहरूलाई कमजोर बनाउनु हुँदैन । राज्यका संस्थाहरूलाई स्वतन्त्र र प्रभावकारी रूपमा काम गर्ने वातावरण दिनुपर्छ । प्रहरी र सीआईबीजस्ता अनुसन्धान निकायलाई यति सक्षम बनाउनुपर्छ कि पद वा प्रतिष्ठाको प्रभावबिना जोसुकै व्यक्तिमाथि पनि निष्पक्ष अनुसन्धान हुन सकोस् । अनुसन्धान यति तथ्यपरक र प्रमाणमा आधारित हुनुपर्छ कि भ्रष्टाचारमा संलग्न व्यक्तिले कानूनी प्रक्रियाबाट उन्मुक्ति पाउने अवस्था नआओस् । त्यसैले हामीले खोजेको अनुसन्धान प्रणाली भनेको निष्पक्ष, सशक्त र प्रमाणमा आधारित अनुसन्धान प्रणाली हो ।’

राज्यका अनुसन्धान गर्ने निकाय सक्षम र प्रभावकारी हुनुपर्ने उल्लेख गर्दै लामिछानेले आफूहरूले खोजेको संस्थागत सुधार त्यही भएको बताएका छन् ।


प्रकाशित मिति: २० कार्तिक २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?