काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार पर्वलाई लक्षित गर्दै सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्ने भएको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, टक्सार महाशाखाले एक सूचना जारी गर्दै आगामी कात्तिक १९ र २० गते सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्न लागेको जनाएको हो। राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति २.५ ग्राम तौलको सुनको असर्फी एक थान र १० ग्राम तौलको चाँदीको मेडालियन (लक्ष्मी र गणेश अंकित) १/१थानका दरले बिक्री गरिनेछ। एक व्यक्तिले बढीमा दुई थानसम्म सुनको असर्फी खरिद गर्न सक्नेछन्।
असर्फी तथा मेडालियन खरिद गर्न चाहने नेपाली नागरिकले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ।
त्यस्तै, खरिदकर्ताले नगद वा क्यूआर कोडमार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ। राष्ट्र बैंकले सुनको असर्फी तथा चाँदीका मेडालियनको मूल्य दैनिक रूपमा निर्धारण गर्ने जनाएको छ। बिहान करिब ११ बजेपछि मूल्य निर्धारण हुने भएकाले त्यसपछि मात्र बिक्री प्रक्रिया सुरु गरिने सूचनामा उल्लेख छ।
बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिक्री गरिने जनाइएको छ।
प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार