काठमाडौँ । ५ औँ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन राजधानीमा शुरु भएको छ ।
उद्यमशीलता फैलाऔँ, युवालाई स्वरोजगार बनाऔँ भन्ने उद्देश्यका साथ आईतवारबाट राजधानीमा भएको ५ औँ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन शुरु भएको हो । सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले लघुवित्त संस्थाहरूले गरिबी निवारण, महिला सशक्तिकरण तथा वित्तीय पहुँच विस्तारमा महत्वपूर्ण योगदान पु¥याएको बताएका छन् । लघुवित्तमार्फत महिलाको सहभागिता उल्लेखनीय रूपमा बढेको र यसले समाजमा सकारात्मक परिवर्तन ल्याएको उनको भनाइ छ । श्रेष्ठकाअनुसार पछिल्लो समय नेपालमा गरिबी दर घट्दै गएको छ । यसमा लघुवित्तको भुमिका ठूलो रहेको छ ।
उपाध्यक्ष श्रेष्ठले लघुवित्त वित्तीय संस्थाहरूले गरिबीको मात्रा बढी रहेका क्षेत्रमा प्राथमिकता दिएर कार्यक्रम विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । अहिले भने जनघनत्व बढी भएको शहरी क्षेत्रमा लघुवित्तको पहुँच बढ्दै गएको र बहुबैंकिङको प्रवृत्ति देखिएको उनले उल्लेख गरेका छन्।
हाल लघुवित्त क्षेत्रमा विभिन्न समस्या देखिएको बताउँदै उनले निष्क्रिय कर्जा (एनपीएल) बढ्दै गएको र कर्जा असुली गर्न कठिनाइ भइरहेको उल्लेख गरेका छन् । धेरै लघुवित्त सदस्यहरू पनि आर्थिक समस्यामा परेको अवस्था रहेको उहाँले बताउनु भयो । कोभिड १९ पछि समग्र अर्थतन्त्र अझै पूर्ण रूपमा सुधार हुन नसकेको र त्यसको असर लघुवित्त क्षेत्रमा पनि देखिएको उनको भनाइ छ ।
उपाध्यक्ष श्रेष्ठले पछिल्ला वर्षहरूमा बाह्य दबाबहरूले पनि नेपालको अर्थतन्त्रमा असर पारेको उल्लेख गरेका छन् । दुई–तीन वर्षअघि रसिया–युक्रेन युद्धले मूल्यवृद्धि बढाएको, वाह्य क्षेत्रमा असर गरेको र विदेशी मुद्रा सञ्चिति घटाएको उहाँले स्मरण गर्नुभयो । हाल पश्चिम एशियामा जारी युद्धको प्रभाव पनि देखिन थालेको उनले बताएका छन् ।
यसका साथै आन्तरिक राजनीतिक उथलपुथलले पनि अर्थतन्त्रमा दबाब सिर्जना गरेको उहाँले उल्लेख गरेका छन् ।
उपाध्यक्ष श्रेष्ठले भने ,‘लघुवित्तले गरिबी निवारण, महिला सशक्तिकरण र वित्तीय पहुँचमा एकदमै ठूलो योगदान दिइरहेको छ । यसको उदाहरण महिलाको उपस्थिति बढ्नु पनि हो । पछिल्लो समय गरिबी पनि घट्दै गएको छ । अहिले नयाँ मापदण्डअनुसार २० प्रतिशत र पूरा मापदण्डलाई लिने हो भने ४ प्रतिशतमा गरिबी आएको छ । यसो भन्दै गर्दा राष्ट्रिय तथ्यांक कार्यालयले जारी गरेको एउटा तथ्यांकअनुसार लघुक्षेत्र गरिबीको तथ्यांकअनुसार कतिपय पालिकामा १–२ प्रतिशत गरिबी छ । नेपालकै कतिपय पालिकामा ७८ प्रतिशत गरिबी रहेको छ । ५०–६० प्रतिशत गरिबी हुने पालिकाहरु धेरै नै छन् । लघुवित्त वित्तीय संस्थाहरुले तिनै संस्थाहरुलाई प्रयोग गरेर कहाँ गरिबिको मात्रा बढी छ, त्यतातर्फ बढी फोकस गर्नुपर्छ । अहिले जनघनत्व धेरै भएको शहरी क्षेत्रमा लघुवित्तहरु जाने र बहुबैंकिङका कामहरु हुने गरेको छ । खासगरी कोभिड लागेपछि नेपालको अर्थतन्त्रमा पनि समस्या देखियो, सँगसँगै लघुवित्त संस्थामा पनि समस्या देखियो । त्यतिबेला गरिएको अध्ययनमा धेरै बहुबैंकिङ भएको, लघुवित्त संस्थाहरुमा सुशासनको कमी, लघुवित्त सदस्यदेखि कर्मचारीको कमीकमजोरी देखिएको थियो, लघुवित्त सदस्यले पनि वित्तीय अनुशासन पालना गर्नुपर्ने हुन्छ । लघुवित्तीय संस्थाहरुले पनि संस्थागत सुशासनको पालना गर्नुपर्ने हुन्छ । अहिले सुशासनको मुद्दा जोडतोडले उठेकाले संस्थागत सुशासन हुन जरुरी छ । अहिले लघुवित्तमा धेरै समस्या देखिएका छन् । एनपीएल कर्जा बढिरहेको छ । कर्जा उठाउन गाह्रो भइरहेको छ । धेरै लघुवित्तीय सदस्यहरु पनि समस्यामा छन् । कोभिडका कारणले असर गरेको समग्र अर्थतन्त्र पनि सुधार हुन पनि बाँकी छ । कोभिड पछि पनि विभिन्न समस्यामा परिरहेको अवस्था छ । विभिन्न समयमा वाह्य दबाबहरु पनि गरेका छन् । २/३ वर्ष अघि रसिया युक्रेन युद्धले अर्थतन्त्रमा दबाब दिएको थियो । मूल्यवृद्धि बढाएको थियो । वाह्य क्षेत्रमा असर गरेको थियो र मुलुकमा रिजर्भ घटेको थियो । अहिले पुन पश्चिम एशियामा युद्ध चलिरहेको छ, त्यो युद्धको प्रभाव देखापरिसकेको छ । त्यस्ता बाह्य प्रभावहरुलाई हामीले सामना गर्नुपर्नेछ । आन्तरिक प्रभाव पनि देखापरिरहेको छ । राजनीतिक उथलपुथल त्यसको एउटा उदाहरण हो । लघुवित्तले एकातिर उत्पादन, उत्पादकत्व बढाउन पर्छ भने उद्यमशीलता पनि बढाउनुपर्छ । त्यससँगै वित्तिय पहुँच पनि बढाउन जरुरी छ । अहिले किसानले उत्पादन गरेका वस्तुहरु बजार नपाएको एकदमै गुनासो आइरहेको छ ।’
उपाध्यक्ष श्रेष्ठकाअनुसार लघुवित्तले उत्पादन र उत्पादकत्व बढाउने तथा उद्यमशीलता प्रवद्र्धन गर्ने दिशामा काम गर्न आवश्यक छ । वित्तीय पहुँच विस्तारसँगै किसानले उत्पादन गरेका वस्तुहरूको बजारीकरणमा पनि लघुवित्त संस्थाहरूले भुमिका खेल्नुपर्ने उन ले बताएका छन् ।
किसानले उत्पादन गरेका वस्तुले उचित बजार नपाएको गुनासो बढिरहेको भन्दै उहाँले बजारीकरणका क्षेत्रमा लघुवित्त संस्थाहरू सक्रिय हुनुपर्ने धारणा राखेका छन् । साथै आन्तरिक उत्पादनको उपयोग बढाउनुपर्ने र सोच तथा मानसिकतामा पनि परिवर्तन आवश्यक रहेको उनले बताएका छन् । उत्पादन बढाएर लागत घटाउनसके बजारमा प्रतिष्पर्धा गर्न सकिने श्रेष्ठको भनाइ छ ।
सम्मेलनमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले लघुवित्त संस्थादेखि सदस्यहरुसम्म समस्यामा परेका कारण एनपीएल बढिरहेको बताएका छन् । लघुवित्त संस्थाहरुले आवश्यक नभएका व्यक्तिलाई कर्जा दिदाँ पनि खराब कर्जाको अनुपात ह्वात्तै बढेको बताएका छन् ।
कार्यकारी निर्देशक पौडेलले भने,‘केही व्यवसायीक हिसावले लघुवित्त समस्यामा छ । लघुवित्तका ग्राहकहरु समस्यामा छन् । त्यसकारण निष्क्रिय कर्जा बढेको छ । त्यो भन्दा अर्को कारणहरु हेर्दा लघुवित्तले आवश्यक नभएका व्यक्तिलाई कर्जा दिएका कारण निष्क्रियकर्जा बढेको छ । यसलाई सच्चाउन आवश्यक छ । राष्ट्र बैंक सरकार लघुवित्त संस्थाको विकल्प सोच्ने अवस्थामा रहँदैन । सरकार राष्ट्र बैंकले विकल्प सोच्न पनि हुँदैन । यो क्षेत्र मुलुकका लागि अतिआवश्यक छ । यसले के देखाउछ भने आज जुन वर्ग २७/२८ लाखले लघुवित्तको कर्जा उपभोग गरिरहेका छन्, त्यसले पनि यसको महत्वलाई झल्काएको छ ।’
कार्यकारी निर्देशक पौडेलले वाणिज्य बैंकबाट माइक्रो फाइन्सहरुले ठूलो मात्रमा ऋण लिएकाले ती संस्थाहरु बिग्रने छुट नभएको बताएका छन् ।
प्रकाशित मिति: ८ चैत्र २०८२, आईतवार