काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मनिता जोशी वैद्यले उद्योग तथा बजार अनुगमन नियमित भइरहेको बताउनुभएको छ ।
विभागमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा उहाँले विभागको अनुगमन र निरीक्षण अब केवल दशैँ–तिहार वा कुनै विशेष चाडपर्वमा मात्रै सिमित नहुने बताउनुभएको हो । उहाँले विभागले समयअनुसार बजार अनुगमन गर्ने जानकारी दिनुभयो । उहाँकाअनुसार विभागले यसअघि मुख्यतया आयातित खाद्य सामग्रीमा ध्यान केन्द्रित गरेको थियो भने हाल दुध, पानी र विभिन्न खाद्य उत्पादनहरूमा निगरानी बढाएको छ । उहाँले होटलहरूको निरीक्षणमा पनि विशेष ध्यान दिएको जानकारी दिनुभयो । उहाँले विभागले मौलिक उत्पादनहरुको स्तर निर्धारणको काममा पनि विशेष महत्व दिएर अगाडी बढाएको जानकारी दिनुभयो । परम्परागत खाद्य उत्पादनहरूलाई संसारभर प्रवर्धन गर्नको लागि पनि स्तर निर्धारण आवश्यक रहेको उहाँको भनाई छ । परम्परागत तथा मौलिक खाद्य पदार्थहरुको व्यवसायिक उत्पादन भइरहेकोले यसको मापदण्ड निर्धारण गर्नु विभागको जिम्मेवारी भएको उहाँले बताउनु भयो । उहाँले गुन्द्रुक, मस्यौरा जस्ता परम्परागत खाद्य पदार्थहरूको मापदण्ड तय गरेको र बाँकी रहेका उत्पादनहरूको मापदण्ड पनि निर्धारण गर्दै जाने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले अनुगमन निरीक्षणलाई दशैँतिहारमा मात्रै गर्ने, अथवा कुनै चाडपर्व आयो, वा कुनै घटना भइसकेपछि मात्रै गर्ने होईन, यसलाई नियमित रुपमा हामी जान्छौँ । विभागले समयअनुसार फोकस गरेर बजार अनुगमन गर्छ । यसअघि आयातमा फोकस गरेका थियौँ भने अब हामी दुध पानी, खाध्य उत्पादनमा हामीले ध्यान दिइरहेका छौँ । त्यसैगरी होटलहरुको निरीक्षणमा पनि हामीले ध्यान दिएका छौँ । साथै हामीले स्तर निर्धारणको कामलाई पनि जोड दिएका छौँ । हाम्रा कतिपय परम्परागत फुड प्रोडक्टहरुलाई विश्वको सामु चिनाउन पनि जरुरी छ । यसको व्यवसायिक उत्पादन भइरहेको अवस्थामा यसको मापदण्ड हामीले निर्धारण गर्न आवश्यक छ । गुन्द्रुक, मस्यौरा जस्ता हाम्रा परम्परागत खाद्य पदार्थहरुको मापदण्ड हामीले तय गरेका छौँ र बाँकी रहेकाहरुको बनाउँदै जानेछौँ । जिल्लाका विभिन्न डिभिजन कार्यलयहरुले संयुक्त वा एकल अनुमगन गरिराख्नुभएको छ । उहाँहरुले उद्योगमा जाने, बजार अनुगमन गर्ने, जफत तथा नष्ट गर्ने, रिकल गर्ने जस्ता कार्य पनि भईरहेको छ ।’
उहाँकाअनुसार जिल्लाका विभिन्न डिभिजन कार्यलयहरूले संयुक्त वा एकल रूपमा बजार तथा उद्योगहरुको अनुगमन गर्दै आएका छन् । अनुगमन अन्तर्गत उद्योग भ्रमण, बजार निरीक्षण, जफत तथा नष्ट गर्ने, रिकल गर्ने जस्ता गतिविधिहरू भईरहेको उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार