Trending
>>   आज मिति २०८१ साल मङ्सिर ०९ गते आइतबार,हेर्नुहोस आजको राशिफल >>   चलचित्र भवनमा स्वदेशी चलचित्रकै दबदबा >>   पशुअधिकारका लागि ‘भिगन ग्यालरी’ >>   चार महिनामा साढे चार खर्ब व्यापार घाटा >>   चितवनमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटना, २८ जना घाइते >>   पूर्वमन्त्री पदम राईको निधन >>   अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प र नेटो प्रमुख रुटबिच ‘विश्वव्यापी सुरक्षा’बारे छलफल >>   प्रहरी महानिरीक्षक कुँवरबाट नवनिर्मित भवन उद्‌घाटन >>   डब्लुुएमएसी वेल्स खेल्दै सन्जित >>   २८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
Logo
८ मंसिर २०८१, शनिबार
८ मंसिर २०८१, शनिबार

उपराष्ट्रपति यादवसँग गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिको भेट


१५ चैत ,काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिले आज भेटवार्ता गरेका छन् । सङ्घका कार्यकारी अध्यक्ष रविना थापा र अध्यक्ष कुल आचार्यको प्रतिनिधित्वमा गएको प्रतिनिधिमण्डलले उपराष्ट्रपति समक्ष नागरिकताको निरन्तरता, विदेशमा रहेका नेपालीको सम्पत्तिको सुरक्षा, नेपालमा सहजै लगानीको वातावरण निर्माणलगायत विषयमा छलफल गरेको थियो ।

सो अवसरमा उपराष्ट्रपति यादवले गैरआवासीय नेपालीको लगानी विषयमा यथाशक्य छिटो समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । लगानीका लागि मार्ग प्रशस्त गर्न आफू प्रतिबद्ध रहेको र विदेशमा आर्जन गरेको पुँजी र ज्ञान नेपालको प्राविधिक तथा व्यावसायिक ज्ञान, सीप विकासको क्षेत्रमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका थिए ।

भेटमा सङ्घका कार्यकारी अध्यक्ष थापाले सङ्घले लामो समयदेखि नागरिकताको निरन्तरताको लागि आवाज उठाउँदै आएपनि सो विषय टुङ्गो नलागेको भन्दै त्यसका लागि सकारात्मक पहल गरिदिन उपराष्ट्रपति यादवको ध्यानाकर्षण गराए।

त्यस्तै सङ्घका अध्यक्ष आचार्यले सम्पत्तिको सुरक्षा सम्बन्धी कानूनलाई गैरआवासीय नेपालीमैत्री बनाउन र लगानीका लागि विद्यमान बाधा व्यवधान सुल्झाउनका लागि सकारात्मक पहल गरिदिन आग्रह गरेका थिए । अध्यक्ष आचार्यले पटक पटकको प्रयासबाट पनि नागरिकताको विषय नटुङ्गिनु दुखद् भएको भन्दै उक्त विषय सम्बोधनका लागि सबै निकायबाट पहल गर्नुपर्नेमा जोड दिए ।

सङ्घका उपाध्यक्ष आर के शर्माले श्रमिकको योगदानलाई मुलुकले यथेचित सम्मान गर्न सक्नुपर्नेमा जोड दिँदै राज्यका सर्वोच्च निकायबाट पनि त्यसका लागि सकारात्मक रुपमा पहल हुनुपर्नेमा जोड दिए । सङ्घका युवा संयोजक अब्दुल बासिदले गैरआवासीय नेपाली ऐनलगायत गैरआवासीय नेपालीसँग प्रत्यक्ष सरोकार राख्ने विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन र त्यससम्बन्धी नियमावली तथा आदेशमा संशोधन गर्न र लगानी सम्बन्धमा विद्यमान न्युनतम मापदण्ड हटाउन सहयोग गर्न उपराष्ट्रपति समक्ष आग्रह गरे।

सङ्घका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले विश्वभर छरिएर बसेका गैरआवासीय नेपाली नेपाललाई छिट्टै समृद्ध बनाउने अभियानमा लागेको भन्दै उक्त अभियानमा सरकारसँगको सहकार्य र राज्यका सर्वोच्च निकायको समर्थन आवश्यक रहेको बताए।

भेटमा आइसीसी उपाध्यक्ष दुर्गा उपाध्यक्ष, सचिव गोविन्दप्रसाद गौतम, पूर्वआइसीसी सदस्य राम बेलबासे, क्षेत्रीय संयोजक (मध्यपूर्व) मनोजकुमार श्रेष्ठ, भगिरथ योगीलगायत विभिन्न मुलुकका प्रतिनिधिहरु र सङ्घका प्रमुख कार्यकारी अधिकृत रवीकिरण अधिकारीको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: १५ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?