काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री उदय शमशेर राणाले कर्णालीका समस्या काठमाडौंले बुझ्न आवश्यक रहेको बताएका छन् ।
बुधवार काठमाडौमा आधा अध्याय पुस्तक विमोचन गर्दै उनले कणार्ली, सुदूरपूर्व र सुदूरपश्चिमका नागरिकको भावना तथा उनीहरूले भोग्दै आएका दुःख–सुख राजधानी काठमाडौंले बुझ्न आवश्यक रहेको बताएका छन् । काठमाडौंमा बस्ने राजनीतिक नेतृत्वले देशका विभिन्न भूगोल र समुदायका समस्या बुझ्न नसके राजनीति गर्न नहुने उनले बताएका छन् । दुर्गम क्षेत्रका नागरिकका अनुभव र कथाले आफूलाई राजनीतिक बुझ्न तथा उनीहरूसँग घुलमिल हुन सहयोग गरेको उनको भनाई छ ।
उनले भने, ‘हामीले कर्णालीको भावना सुदूरपूर्वको भावना, सुदूरपश्चिमको भावना बुझ्नुपर्छ । काठमाडौंवासीले नबुझे हामीले राजनीति गर्न सक्दैनौ । गाउँको कुरा, विकट जिल्लाको कुरा, कर्णालीको कुरा विभिन्न कथाहरू सुन्दै आएको कारण पनि मैले राजनीति गर्न सकेको हो ।’
पुस्तकका लेखक लक्ष्मणबहादुर शाहीले कर्णालीका दुर्गम बस्तीका समस्या, गरिबी, अभाव र नागरिकका दुःख–पीडालाई राज्यको नीति निर्माण तहसम्म पुर्याउने उद्देश्यले ‘आधा अध्याय’ पुस्तक लेखेको बताएका छन् । केन्द्रिकृत राज्यसत्ताबाट टाढा रहेका गाउँबस्तीका वास्तविक समस्या पहिचान गरी उचित सम्बोधन गर्नुपर्ने उनको भनाई छ । गाउँघरका नागरिकले भोगिरहेका भौगोलिक विकटता, सामाजिक समस्या र अभावलाई पुस्तकमार्फत अभिलेखबद्ध गरी सिंहदरबारसम्म पुर्याउने आफ्नो प्रयास उनले बताए । कर्णालीको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक पहिचानलाई काठमाडौंसँग जोड्ने उद्देश्यले राजधानीमा पुस्तक विमोचन गरिएको उनको भनाई छ ।
उनले भने, ‘आफ्ना वास्तविक समस्याहरू, गाउँ बस्तीमा गरिबीको रेखामुनि रहेका तमाम दाजुभाइ, दिदीबहिनीहरूका पीडा, सुख–दुःखहरू, उकाला–ओराला, विकट बस्तीहरू, भौगोलिक विकटता र केन्द्रिकृत राज्यसत्ताबाट टाढा–टाढाका गाउँबस्तीमा भइरहेका अभाव र पीडाहरूलाई किताबमार्फत लिपिबद्ध गरेको शासकका आँखासम्म, सिंहदरबारका टेबलहरूसम्म पुर्याउने कोशिष गरेको छु । राज्य सञ्चालन गर्नेहरुले कर्णालीको वास्तविक समस्याको पहिचान गरेर त्यसलाई ठीक ढङ्गले सम्बोधन गरिनुपर्छ ।’
उनकाअनुसार जुम्लाको सिञ्जा नेपाली भाषाको उत्पत्तिसँग जोडिएको ऐतिहासिक क्षेत्र हो । खस सभ्यता, मस्टो संस्कृति, मार्सी धान, स्याउ तथा ऐतिहासिक मठमन्दिर र सम्पदाले सिञ्जाको विशिष्ट पहिचान स्थापित गरेका छन् । सिञ्जा सभ्यतालाई नेपालको महत्वपूर्ण सभ्यतामध्ये एकका रूपमा उल्लेख गर्दै उनले त्यसको इतिहास, परम्परा र संस्कृतिबारे राष्ट्रियस्तरमा थप चर्चा हुनुपर्ने बताएका छन् । विगतमा बाइसे–चौबिसे राज्यका रूपमा शक्तिशाली इतिहास बोकेको जुम्लाको पहिचानलाई राष्ट्रिय राजनीतिको केन्द्रसँग जोड्नुपर्ने उनको भनाइ छ ।
प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार