Trending
>>   निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ >>   मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा >>   निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा >>   राष्ट्रिय लिगमा चर्च ब्वाइजको चौथो जित, चित्लाङको चौथो बराबरी >>   गैरसरकारी संस्थाहरुले नेपालको राष्ट्रिय प्राथमिकताअनुसार काम गर्नुपर्छः प्रधानमन्त्री कार्की >>   जेन–जी परिषद् गठन गर्ने सरकारको निर्णय >>   उद्योग खोल्न नेतालाई गुहार्नुपर्ने र खोलेपछि चन्दा दिनुपर्ने व्यवस्था अन्त्य गर्छौंः बालेन्द्र साह >>   आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति >>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार

पशुपति क्षेत्रमा वत्सलेश्वरी पार्वती जात्राको निमन्त्रणा मङ्गलबार गरिने


२९ फागुन ,काठमाडौँ ।चैत्र कृष्ण अष्टमीका दिन मङ्गलबार पशुपतिका भट्टले उपत्यकाका विभिन्न स्थानमा वत्सलेश्वरी पार्वतीको जात्राको निमन्त्रणा गर्ने कार्यक्रम रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दु : दु : च्याँ च्याँ भनिने जात्रामा उपत्यकाका मुख्य देवदेवी एवं स्थानीयवासीलाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा दिने लिच्छवीकालदेखिको परम्परा रहेको कोषले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

जात्रामा आमाको दूध खाने बालबालिका पनि हेर्न आउनु भनी निमन्त्रणा गरिने भएकाले दु : दु : च्याँ च्याँ भन्ने गरिएको हो । निमन्त्रणका लागि बागमती पारि बस्नुहुने पशुपतिनाथका भट्ट श्रीरामकारान्तर भट्ट जाने भएका छन्‌ । मुलुकमा शान्ति होस् भन्ने कामनाले लिच्छवीकालदेखि नै पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी जात्रा चैत ४ गते शनिबार दिउँसो ४ बजेदेखि सुरु हुने कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए ।

आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट सुरु हुने जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाउने परम्परा रहेको कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले जानकारी दिए । जात्राअघि बज्रेश्वरी, वत्सलेश्वरी, आकाशभैरव, पशुपति क्षेत्रका नौ शक्तिपीठलगायत स्थानमा देशोद्वार पूजा सम्पन्न गरिन्छ । पूजा सम्पन्न गरी बज्रेश्वरी जात्रा सुरु गरिन्छ ।

बज्रेश्वरी जात्रा समापन हुनेबित्तिकै वत्सलेश्वरीको जात्रा आरम्भ हुन्छ । वत्सलेश्वरी जात्रा तीन दिनसम्म मनाइन्छ । चैत्र शुक्ल द्वितीयाका दिन सिन्दुर जात्रा गरी वत्सलेश्वरी जात्रा समापन गरिन्छ । मुलुकमा शान्ति होस् भन्ने कामनाले पूजा एवं जात्रा गरिएकाले दूध खाने बालक पनि यो जात्रा हेर्न आउँछन् भन्ने विश्वास पशुपति क्षेत्रमा गरिन्छ । देशोद्वार पूजा र जात्रामा चार थरका मानिस प्रत्यक्षरुपमा संलग्न हुने गरेका छन् । उपाध्याय, वैद्य, डङ्गोल र सङ्गत गरी चार थर प्रत्यक्षरुपमा सहभागी हुने गरेको पशुपति क्षेत्रको जात्राका विषयमा विद्यावारिधि शोध गरिरहनुभएका कोषका कर्मचारी वरुण खतिवडाले जानकारी दिए ।

वत्सलेश्वरीलाई नक्साल भगवतीको दिदीका रुपमा पूजा आराधना गरिन्छ । भगवान् शिवको पत्नीका रुपमा पुजिने वत्सलेश्वरीलाई पशुपतिबाट निकालेको भन्ने किंवदन्तीका आधारमा यस अवसरमा नक्साल भगवतीको जात्रा पनि पशुपति क्षेत्रमा लगिन्छ । नक्साल भगवतीले भगवान् शिवको ध्यानाकर्षण गराउन बेलुकी रथले पशुपतिको मूलढोकामा तीनपटक ठोकाएर फर्काउने प्रचलन रहिआएको छ ।

बहिनीले श्रीमान्को ध्यानाकर्षण गराएपछि वत्सलेश्वरी माता भने चैत्र शुक्ल प्रतिपदा अर्थात् चैत ८ गते बुधबार राति छोरा चन्द्रविनायक कहाँ बस्न जाने परम्परा छ । यसै परम्पराअनुसार वत्सलेश्वरीको रथ तानेर चाबहिल गणेशसमेत भनेर पुजिने चन्द्रविनायकमा लगिन्छ । त्यहाँबाट पशुपति क्षेत्रका विभिन्न स्थानमा घुमाएर पशुपति अमालकोटमा ल्याई सिन्दुर जात्रा गरेपछि ११ दिन लामो जात्रा चैत ९ गते बिहीबार सकिन्छ ।

प्रत्येक वर्ष यो जात्रा मनाएमा जनतामा रोगव्याध नलाग्ने, सुख, शान्ति हुने विश्वास रहेको छ । यसै विश्वासले बालबालिका पनि जात्रा हेर्न पशुपति क्षेत्रमा जाने गरेका छन् । यस अवसरमा जयवागेश्वरीको नवाली टोलमा वत्सलेश्वरी माताको रथलाई राख्ने गरिएको छ । सिफलचौरमा रथ घुमाएर जात्रा गरिन्छ । सिफल ढोकामा पशुपतिका कोटवालाले चमर पङ्खा हम्केर मातालाई आह्वान गर्ने विधि छ ।


प्रकाशित मिति: २९ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?