Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

नारायणगढ–मुग्लिन सडक आइतबारदेखि बन्द नहुने


नारायणगढ–मुग्लिन सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा बन्द गरिँदै आएकामा आइतबारदेखि बन्द नगरिने भएको छ । भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो । पहिलो ३० दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म बन्द गरिएको थियो भने त्यसपछि दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरिएको थियो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार सवारीसाधन रोकेर पाँचठाउँको पहाड काट्न सुरु गरिएकामा तुइन खोलाको मुग्लिनतर्फको पहाडबाहेक अन्यत्रको काम अन्तिम चरणमा पुगेको छ ।

तुइन खोलाको भित्तोलाई विष्फोट गराउन लागिएकाले सवारी रोकेर भित्तो काट्ने काम आजदेखि बन्द गर्न लागिएको हो । तुइन खोलाको पुल निर्माणका क्रममा ६० मिटर अग्लो कडा चट्टानसहितको डाँडो थियो । सो डाँडोलाई काट्न कठिन भएको हो । सो पहाडको अझै ४० मिटर काट्न बाँकी छ । यससँगै बाँकी रहेको चिसेन्जी खोलाको पुलको आडको देब्रेपट्टिको भित्तो काट्ने काम अन्तिम चरणमा रहेको छ । सिमलताल, कालीखोला र नाम्ची खोलाको भित्तो काट्ने काम सकिएको छ । यी पुलसँगै काम थालिएका नौ पुल भित्तो काट्न नपर्ने भएकाले बनिसकेका छन् । यसअघि नै सो सडकका पाँच पुल बनिसकेका थिए । पाँचवटा पुल निर्माणाधीन छन् । सडक विस्तारसँगै पुल साँघुरा भएपछि सडकमा रहेका २० वटै पुल नयाँ थप गरिएको हो । पहिलेको पुलको छेउमा अर्काे पुल बनाउँदै गर्दा भित्तो काट्नु परेको हो । आचार्यका अनुसार तुइन खोलाको भित्तो काट्नका लागि विस्फोट गराउन अनुमति लिने प्रक्रियामा रहेको छ । अनुमति पाएसँगै एक महिनामा विस्फोटक पदार्थ झिकाएर विस्फोट गराउने तयारी आयोजनाले गरेको उहाँले जानकारी दिनुभयो । विश्व बैंकको सहयोगमा पुल बनाउन लागिएको हो । एउटा पुलको काम सुरु भएको छैन । पुलको छेउमा सुकुम्वासी बसेकाले हटाउन नसक्दा काम रोकिएको हो । विश्व बैंकको सहयोगमा काम गर्दा क्षतिपूर्ति दिलाएर मात्रै काम गर्नुपर्ने प्रावधान रहेको छ ।

आयोजनाका प्रमुख किरण कार्कीका अनुसार क्षतिपूर्तिका लागि रु एक करोड हाराहारी खर्च हुन्छ । रकम माग गरिएको भए पनि प्राप्त हुन नसक्दा काम सुरु गर्न नसकिएको हो । पुल निर्माण सम्पन्न गर्नुपर्ने मिति २०८० पुस ९ गतेसम्म रहेको छ । सुरुमा ३३ महिनाका लागि सम्झौता भए पनि काम सम्पन्न नभएपछि हालै समय एक वर्ष थप गरिएको हो । सो सडकका १५ पुल निर्माणका लागि अनक कन्स्ट्रक्सनले बोलपत्र प्राप्त गरेको छ । पुल निर्माणका लागि रु एक अर्ब २२ करोड खर्च हुने छ । सो सडकमा यसअघिका पुल साँघुरा थिए । अहिले बनाइएका पुल ११ मिटर फराकिला छन् । सडक नौदेखि ११ मिटर फराकिलो रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवागमन गर्दछन् ।


प्रकाशित मिति: २० फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?