Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

छाला जुत्ता व्यवसाय संकटमा


कैलालीको टीकापुरमा रहेका छाला जुत्ता पसलमा कारोबार सन्तोषजनक नभएपछि लामो समयदेखि व्यवसाय चलाएका पुरुषहरू विदेश ताक्न थालेका छन् । व्यवसायमा विगतभन्दा कारोबार घट्दै जान थालेपछि व्यवसायी विदेश जान थालेका हुन् । जुत्ता व्यवसायी चार जना अहिले विदेश गइसकेको उनीहरू बताउँछन् । अन्य छ जनासमेत विदेश जाने तयारीमा रहेको व्यवसायी तिलबहादुर सार्कीले बताउनुभयो । यसरी जुत्ता निर्माण गर्ने व्यवसायी विदेश जान थालेपछि व्यवसाय भने महिलाले धान्न थालेका छन् । छाला जुत्ता व्यवसायीले टीकापुरमा यो व्यवसाय थालेको कसैको तीन दशक पुग्न थाल्यो भने कोहीले दुई दशक बिताइसकेका छन् । यही पेसाबाट जीवन धानेकाहरू अहिले व्यवसाय नचलेपछि भन्ने दिक्क छन् ।

विगत २३ वर्षदेखि यही पेसा गरिरहेका तिलबहादुर व्यापार खासै नचलेपछि श्रीमतीलाई सीप सिकाएर विदेश जाने तयारीमा हुनुहुन्छ । “लामो समयसम्म यो पेसा गरियो, विगतमा राम्रै चलेको थियो”, उहाँले भन्नुभयो, “अहिले पसल बन्द गरेर जान थालेको होइन, मैले जानेको सीप श्रीमतीलाई सिकाइरहेको छु । श्रीमतीले यो व्यवसाय धान्नेछिन् ।” केही वर्ष विदेशमा धन कमाइपछि पुनः यही पेसामा फर्कने योजनासहित तिलबहादुर विदेश जाने तयारीमा हुनुहुन्छ । “मसहित छ जनाले विदेशका लागि कागजात बुझाएका छौँ । सबैले पसल श्रीमतीलाई सुम्पने तयारी गरेका छौँ”, उहाँ भन्नुहुन्छ, “कोरोना महामारीपछि हाम्रो व्यवसाय धेरै धरापमा छ । तयारी जुत्ताले हाम्रो व्यापार खासै चलेको छैन ।” टीकापुरमा एक दर्जन बढी छाला जुत्ताका पसल छन् । यहाँ करिब ४० जनाले रोजगारी पाएका छन् । यहाँ छालाका जुत्ता हातैले बनाइन्छन् । लामो समयदेखि कच्चा पदार्थ किनेर आफैँले उत्पादन गरिने छाला जुत्ता टीकापुरको स्थानीय उत्पादित सामग्रीमा पर्दछन् । छाला जुत्ता पसलमा अहिले महिलाहरू पनि काम गरिरहेका देखिन्छन् । टीकापुरमा रहेका एक दर्जन पसलमध्ये सातवटा पसलमा महिला काम गरिरहेका हुन्छन् । महिला त्यहाँ कामदारका रूपमा नभइ कतिपयले आफैँं पसल सम्हालिरहेका छन् भने कतिपय श्रीमान्को सहयोगीका रूपमा काम गर्छन् । सन्तोषी नेपालीका श्रीमान्ले लामो समयदेखि छाला जुत्ता पसल गर्नुभयो । यहाँको कमाइमा चित्त नबुझेपछि जुत्ता बनाउने सीप श्रीमतीलाई सिकाएर उहाँ हाल विदेशमा हुनुहुन्छ । अचेल पसल उहाँकी श्रीमती सन्तोषीले चलाइरहनुभएको छ । सन्तोषीले जुत्ता, चप्पल आफैँ बनाउनेसमेत गर्नुभएको छ । “श्रीमान्बाट मैले सीप सिकेँ, यहाँको कमाइले पुग्दैन भन्दै उहाँ विदेश जानुभयो”, सन्तोषी भन्नुहुन्छ, “साँझ–बिहान घरको काम गर्छु । दिउँसो पसल आफैँले चलाएकी छु । जुत्ता बनाउन पनि सिकेकी छु । पसल चलेको छ ।” पूजा नेपालीले पनि लामो समयदेखि श्रीमान्सँगै सहयोगीका रूपमा काम गरिरहनुभएको छ । उहाँले कामदार राख्नुभन्दा आफैँ काम गरौँ भनी यो सीप सिक्नुभएको हो ।

पूजाका श्रीमान् मोहनलाल नेपालीलाई श्रीमती सहयोगी हुँदा सहज भएको छ । उहाँ नयाँ काम गर्नुहुन्छ, उहाँकी श्रीमतीले पुरानो मर्मतको काम गर्नुहुन्छ । “मेरो श्रीमती पसलमा सघाउँदा मलाई कामदार राख्नुपरेको छैन । अब उनलाई यो काम राम्ररी सिकाएर म पनि विदेश जाने तयारीमा छु”, उहाँले भन्नुभयो । जुत्ता पसलमा बालबालिकादेखि वृद्धवृद्धासम्मलाई हुने पाँचदेखि छ प्रकारका जुत्ता चप्पल पाइन्छन् । टीकापुरमा तयार हुने छालाका जुत्ता चप्पल अन्यभन्दा सस्तो र बलियो छन् । तर पनि बजार खासै नरहेको उनीहरूको गुनासो छ । टीकापुरमा उत्पादन भएका छालाका जुत्ता चप्पलको खपत यही हुन्छ । पछिल्लो समय आधुनिक जुत्ता चप्पल भित्रिँदा व्यवसाय खासै नचलेको उनीहरूको गुनासो छ ।


प्रकाशित मिति: २३ माघ २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?