✍️सागर फुयाल (बर्लिन, जर्मनी)
बुझेको छ उसले
हारी हारी खेल जित्ने तरिका
ऊ,
म फुकिढल भन्दै लुरेलाई हजुर बलशाली भन्न थाल्छ
म त मुर्ख, हजुर मात्र ज्ञानी भन्न थाल्छ
म हजुरको पाउको धुलो भन्न थाल्छ
जूनभन्दा हजुर ठूलो भन्न थाल्छ
र, भन्दा-भन्दै उसले
हजुर भगवान म भक्त भन्न थाल्छ
हजुरको शोभा मन्दिरभित्र हो
बाहिर बस्ने त छदैँ छौँ नि हामी संसारी तामसी भन्दै
डोर्याउदै-डोर्याउदै भित्र, मन्दिर मै विराजमान गराउछ
हेर्दाहेर्दै आखिरमा मन्दिरकै कैदी बनाउछ
उसलाई थाहा छ
मन्दिरभित्र पसेको भगवान
आजसम्म बाहिर निस्किएको छैन।
प्रकाशित मिति: १८ बैशाख २०८३, शुक्रबार