Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

मह बेचेर वर्षिक रु ३५ लाख आम्दानी


घर वरिपरि मौरीका घारैघार । घरअघि ठूलो सुन्तलाको बगैँचा छ । बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिनचर्या हो । परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौँ रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण उहाँले देखाउनुभएको छ । विगत दुई दशकदेखि व्यावसायिकरूपमा मौरीपालन व्यावसाय गर्दै आउनुभएका कृषक तिमिल्सिनाले मह उत्पादन गरेर वार्षिक रु ३५ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । उहाँको घरमा अहिले एक सयभन्दा बढी मौरीका घार छन् भने ‘सिजन’मा यसको सङ्ख्या अझै थपिने गर्दछ । उहाँले ‘एपि सेरेना’ जातको मौरी पालनबाट मनग्य कमाइ गर्न सफल भएको बताउनुभयो ।

सुरुका केही वर्ष चिसोका कारण ५० प्रतिशत घाटा व्यहोरेका किसान तिमिल्सिनाले पछिल्ला वर्ष सोचेजति नै आम्दानी हुने गरेको जानकारी दिनुभयो । उहाँले वर्षमा दुईपटक मह निकाल्ने गर्नुभएको छ । विसं २०५७ बाट व्यावसायिक माहुरीपालन गर्न थालेका कृषक तिमिल्सिनाको मुख्य आम्दानी यही नै हो । उहाँले उत्पादन गरेको मह धेरै मात्रामा घरबाटै बिक्री हुने गरेको छ भने काठमाडौँ, चितवन, बुटवललगायत बजारमा ब्रान्ड बनिसकेको छ । तिमिल्सिना जिल्लाकै नमूना मौरीपालक किसान हुनुहुन्छ । उहाँले गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुन्छ । उहाँले भन्नुभयो, “कुश्माबजार, बागलुङ, काठमाडौँ, पोखरा र बुटवललगायतका क्षेत्रबाट पनि व्यवसायी घरमै आएर लैजाने गरेका छन् ।” विभिन्न संस्थाको सहयोगमा तालिम लिएपछि तिमिल्सिना मौरीपालनमा हौसिनुभएको थियो । उहाँले महमात्र बिक्री गर्नुहुँदैन मौरीको घार र गोलासमेत बिक्री गर्ने गर्नुहुन्छ । मौरीसहितको घार बिक्रीबाट बर्सेनि रु २० लाखभन्दा बढी आम्दानी हुन्छ उहाँले भन्नुभयो । उहाँको व्यवसायमा श्रीमती र छोराछोरीले समेत सहयोग गर्ने गरेका छन् । उहाँले वर्षमा तीन सय घारसम्म बिक्री गर्ने गर्नुभएको छ । मौरीसहितका घार प्रतिगोटा रु नौ हजार र मह प्रतिकिलो रु एक हजारमा बिक्री गर्दै आएको उहाँले बताउनुभयो । विभिन्न पालिकाले अनुदानमा वितरण गर्ने घार र मौरीको स्रोतसमेत तिमिल्सिनाको फार्म बनेको छ । उहाँले एक सिजनामा सात क्विन्टलभन्दा बढी मह काढ्दै आएको अनुभव सुनाउनुभयो । सो जातको माहुरीको महभिर माहुरीकै जस्तै गुणस्तरीय हुने भएकाले राम्रो फाइदा हुने भनाइ कृषक तिमिल्सिनाको छ । अन्य जातको माहुरीको मह गुणस्तरीय नहुने भएकाले मूल्य कम पर्छ । त्यसमा पनि वनजङ्गलको जडीबुटी खाएका माहुरीको मह भएकाले गुणस्तर बढेको हो । मह राम्रो भएकाले बिक्रीका लागि समस्या नभएको तिमिल्सिना बताउनुहुन्छ ।

मौरीपालनमा अन्य पेसा व्यवसायजस्तो एकैपटकमा लाखौँ लगानी गर्न नपर्ने तर आम्दानी उल्लेख्य हुने यस व्यवसायमा लागेकाहरू बताउँछन् । तरकारी खेती, पशुपक्षी तथा कुखुरापालनमा जस्तो निरन्तर खट्नुपनि नपर्ने भएकाले मौरीपालनमा किसानको आकर्षण बढेको अर्का अगुवा कृषक उमाकान्त शर्माले बताउनुभयो । उहाँका अनुसार अहिले जिल्लाका देउपुर, मल्लाज, भङ्गरा, कुर्घा, ठानामौला, पाङराङ, बाच्छा, लुङ्खुलगायत व्यावसायिक मौरीपालक किसानले बर्सेनि सय बढी मौरीसहितका घार उत्पादन गरेर बिक्री गर्दै आएका छन् । सोही अनुपातमा महसमेत उत्पादन भइरहेको छ ।


प्रकाशित मिति: २४ पुष २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?