Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

हिटर र गिजरले ज्यान लेला ,प्रयोग गर्दा के के कुरामा सावधानी अपनाउने ?


काठमाडौं । काठमाडौँकी एक २३ वर्षीय युवती ग्यास गिजरको प्रयोग गरेर बाथरुममा नुहाउँदै हुनुहुन्थ्यो । बाथरुम छिरेको दुई घण्टासम्म पनि बाहिर ननिस्किएपछि दिदीले ढोका फोडेर हेर्दा उनि बेहोसी अवस्थामा भेटिए । उनलाई तुरुन्त महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुर्‍याइयाे ।

उपचारमा संलग्न अस्पतालका छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार उहाँलाई ‘हाइफ्लो अक्सिजन’मा राखियो । दोस्रो दिनमा बल्ल राम्रोसँग होस आएपछि चार दिनपछि ‘डिस्चार्ज’ गरियो । डा. बम भन्नुहुन्छ, “बिरामी समयमै अस्पताल ल्याइएकाले केही हुन पाएन । लामो समयसम्म उद्धार नभएको भए बिरामीको मृत्यु पनि हुनसक्थ्यो ।”

जाडोयाममा पानी तताउन गिजरको प्रयोगबाट निस्सासिएर बेहोस भएको, झ्याल ढोका थुनेर कोइला बालेर सुत्दा मृत्यु भएको, आगलागीको घटनाजस्ता अप्रिय घटनाहरु बर्सेनि दोहोरिने गरेका छन् । मङ्सिरको अन्त्यसम्म चिसोको आभास हुन थालिसकेको छ । शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, कोइला तथा हिटर बाल्ने तथा पानी तताउन गिजरको प्रयोग गर्ने गरिन्छ । यी सबैको प्रयोग गर्ने क्रममा सावधानी नअपनाउँदा मृत्युको मुखमा समेत पुग्नसक्ने सम्भावना रहने भएकाले सावधानी अपनाउन चिकित्सकको सुझाव छ ।

डा. बम भन्नुहुन्छ, “जाडोमा मकल बाल्ने, हिटर बाल्ने, दाउरा बालेर कोठा र शरीर न्यानो बनाउने कुरा स्वाभाविक हुन् । न्यानो बनाउँदा भने झ्याल, ढोका र पर्दा सबै बन्द गर्नुहुन्न । भेन्टिलेसन खुला राख्नुपर्छ । बाथरुममा नुहाउँदा भेन्टिलेसन सधैँ खुला राख्नुपर्छ ताकि कार्बोन मोनोअक्साइड कोठाभित्र गुम्सेर नबसोस् र यसले पोइजनिङको अवस्था लिएर नआओस् ।”

झ्याल र ढोका बन्दा हुँदा कोठा गुम्सिएर कार्बोन मोनोअक्साइड विषालु ग्यास पनि उत्पन्न हुन्छ । डा. बमका अनुसार कोठाको झ्याल र ढोका बन्द गर्दा कार्बोन मोनोअक्साइड अत्यधिकमात्रामा उत्पन्न गराइदिन्छ र कोठामा भएको अक्सिजनलाई प्रतिस्थापन गरिदिन्छ ।

“कोठा गुम्सिएर कार्बोन मोनोअक्साइड हाम्रो शरीरभित्र फोक्सोको माध्यमबाट श्वासनली हुँदै रगतमा प्रवेश गर्छ । हेमोग्लोबिनसँग मिलेर बनेको अक्सिजनलाई प्रतिस्थापन गरेर कार्बोन मोनोअक्साइड हेमोग्लोबिनसँग बाँधिएर बस्छ । त्यो रगत प्रवाह भएर मस्तिष्कसम्म पुग्छ र कार्बोन मोनोअक्साइड पोइजनिङ हुन्छ”, उहाँ भन्नुहुन्छ ।

कार्बोन मोनोअक्साइड पोइजनिङ हुँदा रिँगटा लाग्ने, चक्कर आउने, बान्ता हुने, आँखा तिरमिराउने जस्ता लक्षण देखिन सक्छन् । अर्धचेत अवस्थामा यी लक्षणलाई अनुभव गर्न नपाई बेहोसी अवस्थामा बिरामीहरु भेटिने र समयमा उद्धार नगरिएको खण्डमा कतिपयको मृत्यु नै हुने चिकित्सक बताउनुहुन्छ । लामो समय बेहोसी अवस्थामा हुँदा दिमाग सुन्निने, मुटुको चाल बन्द हुने गर्दछ ।

छाती रोग विशेषज्ञ डा. प्रज्वल श्रेष्ठ भन्नुहुन्छ, “आगो बाल्दा अक्सिजन आवश्यक पर्दछ । आगो बल्दा कोठाभित्र रहेको अक्सिजन खपत हुन्छ । बन्द कोठाभित्र चाहे त्यो बाथरुम होस् वा कोठा अक्सिजनको मात्रा कम हुन्छ र कार्बोन मोनोअक्साइड ग्यास पनि उत्पन्न हुन्छ ।” उहाँले कोठा गुम्सिँदा टाउको झुम्म हुने तथा भारी हुने, टाउको दुख्ने अनि बेहोस हुने खालका लक्षण देखिने गरेको बताउनुहुन्छ ।

डा. श्रेष्ठ भन्नुहुन्छ, “सामान्य सावधानी अपनाउँदा ठूलो दुर्घटनाबाट बच्न सकिन्छ । जाडो महिनामा सकेसम्म घरभित्र बन्द कोठामा आगो र कोइला बाल्नुहुँदैन । पानी तताएर नुहाउँदा पनि बाथरुमको झ्याल ढोका पूर्णरुपमा बन्द गरेर नुहाउनु हुँदैन ।”

विज्ञका अनुसार जाडो महिनामा विद्युतीय हिटर र ‘ब्लोअर’ले सुक्खा हावा फाल्ने हुँदा लामो समयसम्म यसको प्रयोग गर्नुहुन्न । लामो समयसम्म कोठामा हिटर ताप्दा त्यसले घाँटी तथा नाक सुक्खा हुने, घाँटी खसखस हुने खालका लक्षण देखिनसक्छ किनकि प्राकृतिक हावामा आद्रता हुन्छ । जुन हिटर बाल्दा पाइँदैन । विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिकलाई यसको बढी जोखिम हुने भएकाले सजग रहनुपर्ने विज्ञको भनाइ छ ।

डा. श्रेष्ठ भन्नुहुन्छ, “उक्त लक्षणहरु साना बच्चा तथा ज्येष्ठ नागरिकले थाहा पाउन सक्दैनन् त्यसैले सचेत रहनुपर्छ । केही लक्षण देखिहालेमा तुरुन्त कोठा बाहेर निस्किने वा झ्याल ढोका खोलिहाल्नुपर्छ ।”

धेरैजसो घटना बाथरुममा नुहाउन गएको र लामो समयसम्म बेहोसपछि उद्धार गरिएका छन् । लामो समयसम्म बेहोस हुँदा कतिपय अवस्थामा मृत्यु नभए पनि अक्सिजनको कमीले मस्तिष्कलाई क्षति पुर्‍याइसकेको हुन्छ । अक्सिजनको मात्रा केही मिनेटमात्र पनि दिमागमा प्रवाह भएन भने दिमागमा क्षति पुर्‍याउँछ । त्यस्तो बिरामी बाँचे पनि लामो समयसम्म कोमामा जाने अवस्था रहन्छ भने बिरामी शय्यामा बसेर जीवन बिताउन बाध्य हुन्छन् । त्यसैले जनचेतना जगाउन जरुरी भएको डा. श्रेष्ठको भनाइ छ ।

चिकित्सकहरु ग्यास, गिजर, हिटर र आगो ताप्दा जहिल्यै पनि हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र प्रयोग गर्न सुझाव दिनुहुन्छ । साथै आगो तापिसकेपछि पूर्ण रुपमा निभेको छ की छैन यकिन गर्ने, कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्ने, आगो ताप्दा वा हिटर बाल्दा छिटो जल्ने चिज जस्तै कागज, कपडा नजिकै राखेर नताप्ने, सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने, गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गरेर प्रयोग गर्नुपर्ने उहाँको सुझाव छ ।


प्रकाशित मिति: २४ मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?