Trending
>>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

दुर्घटना न्यूनीकरण गर्न चालक–यात्रु परिचय


१० चैत्र ,गलकोट । जिल्ला ट्राफिक कार्यालय बागलुङले गण्डकी प्रदेशमै पहिलोपटक दुर्घटना न्यूनीकरणको पृथक कार्यक्रम सुरु गरेको छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चालक–यात्रु परिचय कार्यक्रमको थालनी गरेको हो ।

लामो दूरीको सवारी चलाउँदा यात्रुले चालक र सहचालकको परिचय आवश्यक रहेको भन्दै चालक–यात्रु परिचय कार्यक्रम थालेको जिल्ला ट्राफिक कार्यालय बागलुङका निमित्त प्रमुख प्यामनारायण पौडेलले जानकारी दिए । “दुर्घटनाको भित्री कारण खोतल्दै जाँदा लामो यात्रामा सहचालकले सवारी चलाउँदा बढी दुर्घटना भएको पाइयो, हालै मात्र मुस्ताङमा दुर्घटना भएको यात्रुबाहक बस सहचालकले नै चलाउँदा भएको अनुसन्धानबाट खुल्न आएको थियो, यस्ता धेरै दुर्घटना सिकारु चालकका कारण भएको छ”, निमित्त प्रमुख पौडेलले भने, “लामो दूरीको यात्रामा सहचालकले सवारी चलाएको हुनसक्छ, चालक र यात्रुको परिचय भएपछि सहचालकले सवारी चलाएको खण्डमा यात्रुले ट्राफिक कार्यालयको हटलाइनमा सम्पर्क गर्न सक्नुहुनेछ ।”

सहचालकले सवारी चलाएको गुनासो सुन्ने गरेकाले लामो दूरीको सवारीलाई बाटोमै रोकेर चालक, सहचालक र यात्रुलाई सवारीबाट झारेर परिचय गराइने जिल्ला ट्राफिक कार्यालय बागलुङले जनाएको छ । लामो दूरीका सवारीसाधनलाई बढी महत्त्व दिँदै चालक–यात्रु परिचय कार्यक्रमलाई अगाडि बढाइएको हो ।

गण्डकी प्रदेशमा पहिलोपटक बागलुङबाट दुर्घटना न्यूनीकरणका लागि चालक–यात्रु परिचय कार्यक्रम थालिएको जिल्ला ट्राफिक कार्यालय बागलुङले जानकारी दिएको छ । “यात्रुले चालक चिनेपछि सहचालकले सवारी चलाउँदासाथ यात्रुले थाहा पाउने भएकाले चालक–यात्रु परिचय कार्यक्रमको थालनी गरिएको हो”, बागलुङका ट्राफिक प्रहरी टीकाराम शर्माले भने, “सहचालकले सवारी चलाउँदा ट्राफिक प्रहरीलाई खबर गर्न यात्रुलाई चालक परिचय कार्यक्रममै भनिन्छ, सहचालकले सवारी नचलाउँदा दुर्घटना कम हुन्छ ।”

ट्राफिक प्रहरीले रुकुमपूर्व हुँदै बागलुङ आएका लामा दूरीका बस, बागलुङ बजारबाट विभिन्न स्थानका लागि छुटेका सवारीसाधनलाई ट्राफिक चोकमा रोकेर चालक–यात्रुको परिचय गरिँदै आएको छ । यस्तै मालढुङ्गामा पनि मुस्ताङ, म्याग्दीलगायतका क्षेत्रबाट छुटेका र उक्त जिल्लामा भित्रने लामा दूरीका यातायातका साधनका चालक र सहचालकको परिचय गर्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

यो परिचय कार्यक्रम एक महिनादेखि निरन्तर चलिरहेको छ । ट्राफिक कार्यालय बागलुङले पछिल्लो समय दुर्घटना न्यूनीकरणका लागि ‘सरप्रराइज चेकिङ’, प्रयोगात्मक परीक्षास्थलमा ट्राफिक सचेतना कार्यक्रम, विद्यालयमा ट्राफिक सचेतना र चालक–यात्रु परिचय कार्यक्रम गर्दै आएको छ ।


प्रकाशित मिति: १० चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?