Trending
>>   बञ्चरेडाँडामा फाहोर व्यवस्थापन गर्न वैकल्पिक सडक बनाइने >>   एमालेले कामनपाको जरिबाना पत्र बुझेन, बालेनले स्टन्टबाजी गरेको आरोप >>   इजिप्टमा टोलेमाइक युगको मन्दिर फेला >>   सरकारसँग व्यापारीहरुको मागः सहकारी समस्या तत्काल समाधान गरियोस् >>   गाजामा इजरायली आक्रमणबाट १७ प्यालेस्टाइनीको मृत्यु >>   प्रतिवर्ष तीन सय बिलियन अमेरिकी डलर जलवायु कार्यमा खर्च गर्ने धनी देशको प्रतिवद्धता >>   फोहोरको विषयमा राजनीति नगरौँः उपप्रधानमन्त्री सिंह >>   पत्रकारितामा फोटोको महत्व धेरै हुन्छ : उपप्रधानमन्त्री सिंह >>   दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै >>   म्याद थपका लागि रवि लामिछानेलाई पुर्‍याइयो अदालत
Logo
९ मंसिर २०८१, आईतवार
९ मंसिर २०८१, आईतवार

हरेक राजनीतिक परिवर्तनमा महिलाहरूको भूमिका निर्णायक : प्रधानमन्त्री


काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले हरेक राजनीतिक परिवर्तनका आन्दोलनमा महिलाहरूको भूमिका निर्णायक भएको बताएका छन् । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् ।

यस्तो छ प्रधानमन्त्रीको सन्देश : मुक्ति, समानता र स्वतन्त्रताको आकांक्षासहित सुरू भएको महिला आन्दोलन र प्राप्त अधिकारको स्मरण र सम्मानस्वरूप विश्वभरि प्रत्येक वर्ष मार्च ८ मा मनाउँदै आएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्वेदश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपालको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाहरूको निर्णायक सहभागिता र गुरूत्वपूर्ण नेतृत्व रहिआएको छ । लोकतन्त्र प्राप्तिको आन्दोलन होस् वा महान् जनयुद्ध र ऐतिहासिक आन्दोलन लगायतका गौरवपूर्ण संघर्षहरू हुन्, ती सबै आन्दोलनमा महिलाहरूको सहभागिता, नेतृत्व एवं बलिदानीपूर्ण संघर्षको जगमा नै हामीले संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादोन्मुख संविधान प्राप्त गरेका छौँ । यो गौरवपूर्ण संघर्ष र ऐतिहासिक उपलब्धि नेपाल र नेपालीहरूका लागि मात्र नभएर मुक्ति, समानता र स्वतन्त्रता चाहने विश्वभरिका जनसमुदायका निम्तिसमेत प्रेरणादायी छ ।

जनताको वीरतापूर्ण संघर्ष र बलिदानको बलमा नेपालले विश्वमै अग्रणी संविधान प्राप्त गरेको छ । नेपालको संविधानले अंश र वंशमा महिलालाई समान अधिकारका साथै नीति निर्माण र राज्य सञ्चालनका सम्पूर्ण अंगहरूमा सम्मानजनक र समानुपातिक प्रतिनिधित्व स्थापित गरेको छ । हाम्रो संविधानले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये, सभामुख र उपसभामुखमध्ये, राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुनैपर्ने संवैधानिक व्यवस्था मात्र गरेको छैन, संघीय र प्रादेशिक संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुका साथै स्थानीय तहका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुनैपर्ने व्यवस्था गरेको छ । साथै सम्पत्ति, कानुनी उपचार, आयआर्जन र वृत्तिविकासका क्षेत्रमा समेत महिलालाई प्राथमिकता दिएको छ । लैगिंक समानताका पक्षधर परिवर्तनकारी शक्तिका निम्ति यो अधिकार पर्याप्त नभए पनि विश्वभरिको व्यवस्था र अभ्यासका दृष्टिले गुणात्मक रहेको तथ्य हामीले स्मरण गर्नैपर्दछ ।

राजनीतिक अधिकारले त्यतिबेला मात्र सार्थकता प्राप्त गर्दछ, जतिबेला उक्त अधिकारले जनताको जीवनमा सकारात्मक प्रभाव पार्दछ, सामाजिक मान्यता र परम्परामा परिवर्तन ल्याउँछ, सांस्कृतिक रूपान्तरणको आधारशिला खडा गर्दछ । महिलाहरूको राजनीतिक अधिकारका साथै आर्थिक अधिकारमा समानता, आत्मनिर्भर र स्वरोजगारको प्रबन्ध, बदलिएको राजनीतिक व्यवस्थाअनुरूप सामाजिक व्यवस्था रूपान्तरणमा हस्तक्षेप महत्वपूर्ण हुन्छ । महिलाविरूद्धको संरचनागत हिंसाको अन्त्य गर्दै उत्पादनका साधन र प्रक्रियामाथि महिलाको स्वामित्व कायम गर्न, महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न हाम्रा प्रयासहरू घनिभूत हुन जरूरी छ । यिनै प्रयासहरूले दीगो विकास लक्ष्य हासिल गर्दै हामीले खोजेको लैंगिक समानताको अवस्थामा पुग्न सक्नेछौँ ।

अन्त्यमा आजको दिनले महिला दिदीबहिनीहरूलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी समान अधिकार र राज्यका सबै अंगमा समानुपातिक प्रतिनिधित्वका साथै अर्थपूर्ण नेतृत्व स्थापित गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु, धन्यवाद ।


प्रकाशित मिति: २४ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?