Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

आकर्षक मूल्यमा बिक्री हुँदै अगौटे सुन्तला


चितवन। चितवनको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा उत्पादन भएको सुन्तलाले आकर्षक मूल्य पाउन थालेको छ । उचित मूल्य पाउन थालेपछि किसान उत्साहित भएका छन् ।

सुन्तला पर्याप्त उत्पादन हुने यस क्षेत्रका किसानले सुरुआतमै अगौटेबाट राम्रो आम्दानी लिन सफल भएका छन् । इच्छाकामना गाउँपालिका–५ का रामप्रसाद बोहोरा अघिल्ला वर्षको तुलनामा अहिले सुन्तलाले उचित मूल्य पाएको बताउछन् । उनले अहिले सुन्तलाको होलसेल मूल्य प्रतिकिलो रु ९० सम्म परेको बताए । बोहराले भने, “कम उत्पादन भए पनि मूल्य राम्रै पाएका छौँ ।”

बोहोराले दुई बिघा क्षेत्रफलमा सुन्तला खेती गर्दै आएका छन् । वैदेशिक रोजगारमा गएर राम्रो नभएपछि तीन महिनामा नेपाल फर्केका ३३ वर्षीय उनी सुन्तलाबाट विदेशको भन्दा राम्रो कमाइ भएको बताउछन् भने बुबाको पालादेखि आफ्नो घरका लागि मात्रै सुन्तला खेती गरिएको भए पनि बिस्तारै यसलाई व्यावसायिक गर्दै जाँदा अहिले आम्दानीको मुख्य स्रोत नै सुन्तला खेती भएको उनले बताए । बोहोराले भने, “अहिले सुन्तलाको मूल्यबाट सन्तुष्ट छु । अन्य साथीहरू पनि सन्तुष्ट छन् ।” अझै सुन्तलाको मूल्य बढ्नेमा उनी विश्वस्त छन् । विगत वर्षहरूमा यति बेला प्रतिकिलो रु ७० हाराहारीमा सुन्तला बिक्री हुने गरेको थियो ।

सुन्तलाले उचित मूल्य पाउँदा इच्छाकामना गाउँपालिकाका किसान हर्षित छन् । इच्छाकामना–३ माझगाउँका सीताराम गुरुङले चार बिघा क्षेत्रफलमा सुन्तला खेती गर्दै आएका छन् । उनले अहिले उत्पादन भएको सुन्तलाले बजार मूल्य राम्रो पाएको भन्दै यही मूल्य कायम रहे यस वर्ष राम्रो आम्दानी लिन सकिने बताए । उनले भने, “अहिले होलसेल मूल्य नै प्रतिकिलो रु ९० देखि रु १०० सम्म परेको छ । यो बढ्दै जाने देखिन्छ ।” बजार भाउ स्थिर रहन नसक्ने भएकाले अहिलेको मूल्यबाट घटबढ हुनसक्ने भन्दै उनले बजारको व्यवस्था गर्न सके व्यावसायिक सुन्तला खेती गर्ने किसानले राम्रो आम्दानी लिन सक्ने बताए ।

गुरुङले भने “अहिले थोरै उत्पादन भएको छ । त्यही कारणले मूल्य पाउन सकेको हो । २४ वर्षको उमेरदेखि सुन्तला खेती गर्दै आएको अनुभव सुनाउँदै ६० वर्षीय गुरुङले अगौटे सुन्तलाले राम्रो मूल्य पाएको बताए । आफू सुन्तला खेतीबाट सन्तुष्ट रहेको उनले बताए । उनले वार्षिक रु चारदेखि रु पाँच लाखसम्मको सुन्तला बेच्दै आएका छन् । इच्छाकामना गाउँपालिकाको कृषि विकास शाखा प्रमुख आशिष त्रिपाठी अहिले बजारमा आएको सुन्तलालाई बजारको अभाव नभएको बताउछन् । उनले भने, “बजारको अभाव पनि छैन र सुन्तलाले राम्रो मूल्य पनि पाएको छ ।” केही किसानले ठेकेदारमार्फत सुन्तला बजारमा ल्याउने हुँदा मूल्य पाए पनि पैसा नपाउने समस्या भएको भन्दै उनले यो समस्या समाधानका लागि शाखाले सहकार्य गर्ने प्रयास गरिरहेको बताए ।

यस पालिकामा ३५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आइएको छ । जहाँ वार्षिक तीन सय मेट्रिक टन सुन्तला उत्पादन हुँदै आएको छ भने जिल्लाको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका–२९ को पहाडी क्षेत्रमा सुन्तला खेती गरिँदै आइएको छ ।


प्रकाशित मिति: १४ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?