Trending
>>   स्थानीय जनप्रतिनिधिले निर्वाचनमा प्रसारप्रसार गर्न पाइँदैनः सूचना अधिकारी घिमिरे >>   घण्टी बजाउँदै प्रचार गर्न नपाइने: निर्वाचन आयोगको स्पष्ट आदेश >>   नेपाल पर्यटन बोर्ड ऐन संशोधन गरिने >>   समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ? >>   पूर्वराजाबाट नभई राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकतन्त्र खतरामा छः एमाले >>   ‘बनेको बाटोमा हिँड्ने भन्दा पनि नयाँ बाटो खन्ने मान्छे हुँ’: अध्यक्ष ओली >>   ‘सही कुराका लागि मात्रै मेरो जिद्दी हो’: एमाले अध्यक्ष ओली >>   धादिङ बस दुर्घटना : १७ को मृत्यु, २८ घाइते (नामावलीसहित) >>   १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक ६ अर्ब बराबर बचाउन सकिन्छः उद्योगमन्त्री सिन्हा >>   निर्वाचन पर्यवेक्षणको नाममा चलखेल अस्वीकार्य: रामप्रसाद भण्डारी
Logo
११ फाल्गुन २०८२, सोमबार
११ फाल्गुन २०८२, सोमबार

बेनी–जोमसोम सडक दैनिक साढे छ घण्टा बन्द हुने


म्याग्दीको उत्तरी क्षेत्र हँुदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक साढे छ घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–जोमसोम सडकको बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समयतालिका बनाइएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले आगामी फागुन १ देखि १५ गतेसम्म बिहान ६–८, दिउँसो ११ः३० देखि १ः३० र राति ८ः३० देखि ११ बजेसम्म सडक स्तरोन्नतिका लागि यातायात आवतजावत बन्द गरिने जानकारी दिनुभयो । एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधनलाई सहज आवतजावत र साना सवारी डल्लेपिपल–राहुवडा–गलेश्वर वैकल्पिक मार्गको व्यवस्था मिलाइने भएको छ ।

सडक विस्तार र यातायात सञ्चालनसँगै हँुदा दुर्घटनाको जोखिम, यात्रुलाई सास्ती र निर्माणकार्य प्रभावित बनेपछि समयतालिका बनाएको उहाँले बताउनुभयो । निर्माण व्यवसायीले बेनी–जोमसोम¬– कोरला सडक आयोजनामार्फत प्रशासनमा समयतालिकाको व्यवस्था मिलाउन निवेदन दिएका थिए । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले दुई किलोमिटर एक सय दुई मिटर दूरीको बेनी–गलेश्वर सडक विस्तार र कालोपत्र गर्न जय धन्नजय–मङ्गलादेवी–सुवास जेभीसँग रु १२ करोड २५ लाख ९४ हजार चार सय ३६ मा ठेक्का सम्झौता गरेको थियो । सम्झौतालगत्तै सडक फराकिलो बनाउन पहाड काट्ने र डिलतर्फ पर्खाल बनाउने कामलाई तीव्रता दिएको निर्माण कम्पनीका प्रतिनिधि सुवास कार्कीले बताउनुभयो । पचासी जना मजदुरका साथै तीनवटा डोजर परिचालन गरिएको छ । दुई वर्षको अवधिमा सडकलाई ११ मिटर फराकिलो बनाएर नाली, पहिरो रोकथाम गर्न पर्खाल र खोल्सामा कल्भर्ट तथा आठ मिटर चौडाइमा कालोपत्र गरिने भएको छ । बेनी नगरपालिकाको ८, ६ र ९ नं वडाको भूगोल समेटिएको तीन किलोमिटर दूरीको यो सडक विसं २०५३ मा मार्ग खुलेको थियो ।

यो म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको प्रवेशविन्दु हो । चारदेखि छ मिटर फराकिलो सडकको धेरै ठाउँमा ठूला गाडी दुईतर्फी आवतजावत नहुने, फस्ने र जाम हुने गर्दछन् । यस सडक म्याग्दीको बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका साथै मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकले प्रयोग गर्दछन् ।


प्रकाशित मिति: २९ माघ २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?