Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

मध्यमाघसम्म हिउँ न वर्षा


“हावा मात्र चल्छ, हिउँ पर्दैन”, मुस्ताङको ठिनी गाउँका आशबहादुर थकालीले भन्नुभयो, “पोहोर परार यतिबेलासम्म धेरैपटक हिमपात भइसक्थ्यो, यसपालि कुनै छाँटकाँट छैन ।” मध्यजाडो गुज्रिसक्दा पनि मुस्ताङमा हिउँ परेको छैन । गाउँबस्ती सुक्खा छन् । डाँडाकाँडा फुस्रा र नाङ्गा । हिमपात नहुँदा किसानलाई खेतीबालीको पिरलो छ । सिँचाइ नभएका ठाउँमा त अन्नपात माटोमै सुक्ने स्थिति छ । हिउँ नपरे उवा, जौँ, गहुँ, लसुन, आलुलगायत बाली नसप्रने थकालीले बताउनुभयो । हिउँमा खुल्ने मुस्ताङका पर्यटकीयस्थल पनि उजाड देखिन थालेको उहाँको भनाइ छ । घरपझोङ–२ मार्फाका दीपक लालचनले हिमपात नहुँदा फलफूल र अन्नबालीलाई चाहिने चिसोपना कम हुने उल्लेख गर्नुभयो । “चिस्यान पुगेन भने स्याउ उत्पादनमा ह्रास आउन सक्छ”, उहाँले भन्नुभयो, “मार्फामा भने सिँचाइ सुविधा भएकाले आत्तिनुपर्ने अवस्था छैन ।” जौँ खेती बढी हुने थासाङ गाउँका किसानलाई भने मौसमले चिन्ता थपिदिएको उहाँको भनाइ छ । थासाङमा सिँचाइको उचित प्रबन्ध छैन । हिमपात र वर्षा नहुँदा खेती प्रणालीसँगै हिमाली जनजीवन प्रभावित भएको छ ।

लालचनले कडा जाडो हुनुपर्ने याममा न्यानो महसुस हुन थालेको बताउनुभयो । “यो वर्ष पुस, माघमा पनि उति साह्रो जाडो भएन”, उहाँले सुनाउनुभयो । चिसो छल्न बेँसी र सहर झरेका मुस्ताङी पनि हिउँ नपरेको सुन्दा अचम्मित छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका निमित्त प्रमुख प्रकाश बस्ताकोटीले मौसमअनुसार हिउँ र पानी नपर्दा बालीनालीको उब्जनी र गुणस्तर खस्कने बताउनुभयो । “स्याउको फूल फुल्न र फल लाग्न जति चिसोपना चाहिने हो त्यो पुगेन भने उत्पादन घट्छ”, उहाँले भन्नुभयो । जाँै, गहुँ, उवा छरिसकेका र आलु लगाउने तयारीमा रहेका किसानले हिमपात पर्खिरहेको बस्ताकोटीले बताउनुभयो । “माघ घर्किन लाग्दासम्म हिमपात नुहुन जलवायु परिवर्तनको असर पनि हुनसक्छ”, उहाँले भन्नुभयो, “यस्तो क्रम दोहोरिरहे हिमाली भेगमा नयाँ बालीले प्रवेश पाउने, रैथानेको उत्पादन घट्ने हुन्छ ।” पछिल्लो समय मुस्ताङको उपल्लो भेगमासमेत काँक्रा, गोलभेँडाजस्ता तरकारीजन्य बाली उब्जाउ हुन थालेको उहाँले सुनाउनुभयो । मुस्ताङमात्र नभएर गण्डकी प्रदेशका कुनै पनि हिमाली जिल्ला र उच्च पहाडी भेगमा अहिलेसम्म हिमपात भएको छैन । छिटपुट वर्षासमेत हुनसकेको छैन । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले मुस्ताङ, मनाङ, म्याग्दी र बागलुङको उच्च क्षेत्रमा लगाइएको हिउँदे बालीमा बढी असर पुगेको बताउनुभयो । “बेलामा पानी नपर्दा, हिमपात नहुँदा असिञ्चित ठाउँको खेतीमा त क्षति नै पुग्छ”, उहाँले भन्नुभयो । बाह्रैमास नहर र कुलो सिँचाइको सुविधा भएका ठाउँमा भने समस्या नहुने प्रमुख रेग्मीले बताउनुभयो । हिउँदे वर्षा होला र खेती सप्रला भन्ने आशमा रहेका किसानलाई भने खडेरीबाट ठूलो मार पर्ने उहाँले उल्लेख गर्नुभयो ।

खडेरीले पहाडी क्षेत्रमा गहुँ, तोरीसहित तरकारी र फलफूलजन्य बालीमा बढी असर पर्ने उहाँको भनाइ छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले गण्डकी प्रदेशमा तत्काल पानी पर्ने सम्भावना नरहेको बताउनुभयो । आकाश धुम्म भए पनि अहिलेको मौसम प्रणालीले वर्षा नहुने उहाँको भनाइ छ । “गण्डकी प्रदेशसहित देशैभर सामान्यतया मौसम बदलीको अवस्था छ”, उहाँले भन्नुभयो, “यो बदली वर्षामा परिणत हुने सम्भावना भने छैन ।” हिमाली भेगका केही ठाउँमा हल्का हिमपात भने हुनसक्ने महाशाखाको अनुमान छ । “यसपालिको हिउँदमा अहिलेसम्म हिमपात र वर्षा हुनसकेको छैन, नयाँ मौसम प्रणाली आएर वर्षा र हिमपात गराउन पनि सक्छ तर त्यो यकिन छैन”, मौसमविद् अधिकारीले भन्नुभयो ।


प्रकाशित मिति: १८ माघ २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?