Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

बारा २ मा निर्वाचनको सम्पूर्ण तयारी पूरा


८ वैशाख ,बारा । यही वैशाख १० गते बारा क्षेत्र नं २ मा हुन गइरहेको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन हुने बारा क्षेत्र नं २ को सम्पूर्ण मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।

मतदान केन्द्रमा खटिसकेका कर्मचारीले मतदानलाई सहज हुने गरी आवश्यक संरचना तयार पार्ने काम सुरु गरिसकेको मुख्य निर्वाचन अधिकृत उपाध्यायले बताए । उनका अनुसार गर्भवती, अशक्त, जेष्ठ नागरिकलाई लाइनमा बस्नु नपर्ने र उहाँहरुलाई पहिलो प्राथमिकतामा राखेर मतदान गर्ने ब्यवस्था मिलाइएको छ ।

उनका अनुसार शनिबार बिहानदेखि मतपत्र पठाउन सुरु गरिने र भोलि बेलुकासम्म सबै मतदान केन्द्रमा पुर्याइसकिने छ । निर्वाचन आचारसंहिता पालना गराउन सुरु देखि नै कडाइ गरिए पनि छिटफुटरुपमा आचारसंहिता उल्लङ्घनका उजुरी आएको र त्यसमा आवश्यक छानविन भइरहेको मुख्य निर्वाचन अधिकृत उपाध्यायको भनाइ छ ।

यस्तै बाराको कलैयास्थित शैक्षिक तालिम केन्द्रमा मतगणनास्थल तय गरिएको र मतगणनास्थलमा आवश्यक तयारी भइरहेको जनाइएको छ । प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार बारा क्षेत्र नं २ मा एक हजार छ सय ८८ नेपाल प्रहरी, छ सय पाँच सशस्त्र प्रहरी र तीन सय नेपाली सेनालाई निर्वाचनमा परिचालन गरिएको छ।

कसैले मतपेटिका चलाउन र धाँधली गर्न खोजेको अवस्थामा त्यस्ता व्यक्तिलाई सिधै गोली हान्न सक्ने गरी सुरक्षाकर्मीलाई निर्देशन दिइएको प्रजिअ सापकोटाले बताए । निर्वाचनका समयमा जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको पासबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशसान कार्यालयबाट पास लिएको भए पनि त्यसको दुरुपयोग भएको पाइएमा कानुन बमोजिम त्यस्तालाई कारवाहीसमेत गरिने प्रजिअ सापकोटाको भनाइ छ । सो निर्वाचन क्षेत्रका ८२ मतदान स्थलमा एक सय ३८ मतदान केन्द्र तोकिएको छ ।

त्यसमध्ये ६५ मतदानस्थल अतिसंवेदनशिल र १७ सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निर्वाचनलाई दृष्टिगत गरी आजदेखि तीन दिन भारतीय सीमा नाकामा आवतजावत बन्द गरिएको छ ।

वैशाख १० गते राति १२ बजे भारतीय सिमाना बन्द रहने प्रजिअ सापकोटाले बताए । महागढी नगरपालिका, पचरौता नगरपालिका, करैयामाई गाउँपालिका, सुवर्ण गाउँपालिका र देवताल गाँउपालिकाका ४४ वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कुल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए ।

सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ उम्मेदवार चुनावी मैदानमा छन् ।


प्रकाशित मिति: ८ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?