Trending
>>   न्याय सम्पादनमा ढिलाइ र फैसला कार्यान्वयनमा देखिएका समस्या अन्त्य गर्न जरुरीः मन्त्री गौतम >>   मुलुक ‘सर्वसत्तावाद’ तर्फ धकेलियोः राप्रपा अध्यक्ष लिङदेन >>   जोखिमयुक्त विद्यालयको स्थानान्तरण गर्ने क्रम शुरु भएको छः शिक्षा मन्त्रालय >>   शव पहिचानका लागि पहिलोपटक डीभीआई टोली गठन, डीएनए परीक्षण उपकरणसमेत ल्याइयो >>   राष्ट्रिय ख्रिष्टियन महासंघमा विवादः अनाधिकृत समूहद्वारा कीर्ते र कब्जाको प्रयास भइरहेको महासंघको दाबी >>   राजनीतिक दलका बारेमा फैलाइएका भ्रम चिर्न तथ्य र प्रमाणमा आधारित बहस आवश्यकः पूर्वराष्ट्रपति भण्डारी >>   भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग गर्न भारत तयारः विदेश सचिव मिस्री >>   प्रत्यक्ष निर्वाचनतर्फ पार्टी नौ सिटमा सिमित हुनु अकल्पनीय हार हो: महासचिव पोखरेल >>   जनकपुर–अयोध्या रेल सेवा सञ्चालनको तयारी >>   आईजीपी हेरफेरको विषयलाई कारबाहीको रुपमा नबुझौँ : प्रवक्ता
Logo
१८ कार्तिक २०८३, बुधबार
१८ कार्तिक २०८३, बुधबार

प्रत्यक्ष निर्वाचनतर्फ पार्टी नौ सिटमा सिमित हुनु अकल्पनीय हार हो: महासचिव पोखरेल


प्रत्यक्ष निर्वाचनतर्फ पार्टी नौ सिटमा सिमित हुनु अकल्पनीय हार हो: महासचिव पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्दै पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा पुनर्गठन गर्नुपर्ने बताएका छन् ।

बुधवार काठमाडौंमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विगतका राजनीतिक तथा शासकीय अनुभवको समीक्षा नगरी समाजवाद निर्माणको लक्ष्य हासिल गर्न नसकिने बताएका हुन् । उनले संविधानसभाबाट संविधान जारी भएपछि केपी शर्मा ओलीको नेतृत्वमा बनेको नौ महिने सरकारले नाकाबन्दीको सामना गर्नेदेखि नेपाली जनतामा आशा र विश्वास जगाउने काम गरेको दाबी गरेका छन् । उक्त सरकारको कामले नेपालमा वामपन्थी जनमत विस्तार गर्न महत्वपूर्ण भुमिका खेलेको उनको भनाइ छ । तर अन्य सरकारहरूले केही महत्वपूर्ण काम गरे पनि जनमत विस्तार गर्न नसकेको उनले टिप्पणी गरेका छन् । २०७४ सालमा गठन भएको शक्तिशाली सरकारले समेत वामपन्थी जनमत विस्तार गर्न नसकेको भन्दै त्यसको कारण पार्टीले गम्भीर रूपमा खोज्नुपर्ने बताए । महासचिव पोखरेलले भदौ २३ र २४ गतेका घटनापछि एमालेको राजनीतिक जीवनमा ठूलो धक्का लागेको उल्लेख गरेका छन् । पार्टी नेतृत्वमा रहेका बेला मुलुकमा भएका ती घटनाले पार्टीको भविष्यबारे गम्भीर प्रश्न खडा गरेको उनको भनाइ छ । उनकाअनुसार त्यसपछिको राजनीतिक अवस्थालाई पार्टीले प्रतिगमनतर्फ उन्मुख भएको रूपमा विश्लेषण गरेको थियो । सोही विश्लेषणका आधारमा भू–राजनीतिक षड्यन्त्रको सामना गर्ने योजना बनाएर पार्टी अघि बढेको उनले बताएका छन् । फागुन २१ गते सम्पन्न निर्वाचनमा विगतमा पार्टीले गरेका राम्रा कामको आधारमा जनमत पुनः प्राप्त गर्न सकिने अपेक्षा गरिएको भएपनि परिणाम सोचेअनुसार आउन नसकेको उहाँले स्वीकार गरेका छन् । प्रत्यक्ष निर्वाचनतर्फ पार्टी नौ सिटमा सिमित हुनु अकल्पनीय हार भएको उनको टिप्पणी छ । उनले निर्वाचनको परिणामपछि पार्टीले समीक्षा प्रक्रिया अघि बढाएको जानकारी दिएका छन् । निर्वाचन परिचालन कमिटीले कार्यकर्ताबाट सुझाव सङ्कलन गरी समीक्षा प्रतिवेदन तयार गरेको र त्यसपछि सचिवालय बैठकबाट पार्टी पुनर्गठनसम्बन्धी कार्यदल गठन गरिएको उनले बताएका छन्।

महासचिव पोखरेलले भने, ‘भदौ २३ र २४ गतेका घटनापछि पार्टीले ठूलो राजनीतिक धक्का व्यहोर्नुप¥यो । फागुन २१ गतेको निर्वाचनमा अपेक्षाअनुसार परिणाम आउन सकेन र पार्टी प्रत्यक्षतर्फ नौ सिटमा सिमित भयो । यसले पार्टीको अवस्था र भविष्यबारे गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता देखायो । यसैक्रममा निर्वाचन समीक्षा, कार्यकर्ता सुझाव र पार्टी पुनर्गठनका प्रयासमार्फत ४० बुँदे सङ्कल्प प्रश्ताव तयार गरियो । त्यसकै आधारमा केन्द्रिय कमिटीको तेस्रो बैठकले आगामी कार्यदिशाका रूपमा दुई कार्यभार र १५ कार्ययोजना अघि सारेको छ । अब विगतका कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्दै पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा एकतावद्ध बनाएर अघि बढ्न आवश्यक छ । यही आधारमा वर्तमान चुनौतीको सामना गर्दै समाजवाद निर्माणको लक्ष्य हासिल गर्न सकिन्छ ।’

उक्त कार्यदलले कार्यकर्ताबाट सुझाव सङ्कलन गरी सहमतिका आधारमा ४० बुँदे सङ्कल्प प्रश्ताव तयार गरेको तथा केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टीका समस्याहरूको पहिचान गर्दै आगामी कार्यदिशाका रूपमा दुई कार्यभार र १५ वटा काम अघि सारेको उनले जानकारी दिएका छन् । पोखरेलले पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा एकतावद्ध बनाउनु अहिलेको प्रमुख आवश्यकता रहेको बताएका छन् । पार्टीभित्र एकता कायम गरेर मात्रै वर्तमान चुनौतीको सामना गर्न सकिने उनको भनाइ छ । उनले विगतमा नेपालमा वामपन्थी शक्तिहरूले उल्लेख्य जनमत हासिल गरेको स्मरण गर्दै त्यसको आधार र उपलब्धिको समीक्षा गरेर आगामी राजनीतिक कार्यदिशा तय गर्नुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?