Trending
>>   न्याय सम्पादनमा ढिलाइ र फैसला कार्यान्वयनमा देखिएका समस्या अन्त्य गर्न जरुरीः मन्त्री गौतम >>   मुलुक ‘सर्वसत्तावाद’ तर्फ धकेलियोः राप्रपा अध्यक्ष लिङदेन >>   जोखिमयुक्त विद्यालयको स्थानान्तरण गर्ने क्रम शुरु भएको छः शिक्षा मन्त्रालय >>   शव पहिचानका लागि पहिलोपटक डीभीआई टोली गठन, डीएनए परीक्षण उपकरणसमेत ल्याइयो >>   राष्ट्रिय ख्रिष्टियन महासंघमा विवादः अनाधिकृत समूहद्वारा कीर्ते र कब्जाको प्रयास भइरहेको महासंघको दाबी >>   राजनीतिक दलका बारेमा फैलाइएका भ्रम चिर्न तथ्य र प्रमाणमा आधारित बहस आवश्यकः पूर्वराष्ट्रपति भण्डारी >>   भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग गर्न भारत तयारः विदेश सचिव मिस्री >>   प्रत्यक्ष निर्वाचनतर्फ पार्टी नौ सिटमा सिमित हुनु अकल्पनीय हार हो: महासचिव पोखरेल >>   जनकपुर–अयोध्या रेल सेवा सञ्चालनको तयारी >>   आईजीपी हेरफेरको विषयलाई कारबाहीको रुपमा नबुझौँ : प्रवक्ता
Logo
१८ कार्तिक २०८३, बुधबार
१८ कार्तिक २०८३, बुधबार

जनकपुर–अयोध्या रेल सेवा सञ्चालनको तयारी


जनकपुर–अयोध्या रेल सेवा सञ्चालनको तयारी, धार्मिक पर्यटनसँगै व्यापार विस्तार हुनसक्ने

काठमाडौं। रामायणकालीन धार्मिक तथा सांस्कृतिक सम्बन्धले जोडिएका नेपालका जनकपुरधाम र भारतको अयोध्याबीच रेल सेवा सञ्चालनको तयारी अघि बढेको छ ।

रेल सेवा सञ्चालनका लागि प्राविधिक परीक्षण शुरु गरिने भएको छ । रेल सेवा सञ्चालनमा आएपछि जनकपुर र अयोध्याबीचको धार्मिक सम्बन्ध थप प्रगाढ हुनुका साथै पर्यटन, व्यापार तथा स्थानीय आर्थिक गतिविधिमा समेत वृद्धि हुनेछ । जनकपुरधाम र अयोध्याबीचको पौराणिक सम्बन्धलाई रेल कनेक्टिभिटीले थप मजबुत बनाउने विश्वास व्यवसायीले गरेका छन् । विशेषगरी अयोध्यामा रामको दर्शन गर्न पुग्ने भारतीय पर्यटकलाई सीताको जन्मस्थल जनकपुरधामसम्म ल्याउन रेल सेवाले महत्वपूर्ण भुमिका खेल्ने जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जितेन्द्र महासेठले बताएका छन् ।

उनले रेल सेवा सञ्चालनले जनकपुरको पर्यटन तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने बताएका छन् । वर्षौंदेखि प्रतीक्षा गरिएको रेल सेवा अहिले प्रधानमन्त्री बालेन्द्र साहको नेतृत्वमा दुई देशबीचको कनेक्टिभिटी विस्तार हुने अवस्थामा पुगेको उनको भनाइ छ । महासेठका अनुसार रेल सेवा सञ्चालन भएपछि भारतीय पर्यटकको आगमन बढ्ने, बजार तथा व्यवसाय चलायमान हुने र स्थानीय अर्थतन्त्रले गति लिनेछ । तर यात्रुवाहक रेल सञ्चालनसँगै मालवाहक रेल सञ्चालनको विषयलाई पनि प्राथमिकतामा राख्नुपर्नेछ । महासेठकाअनुसार आफू जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा नै रेलमा मालवाहक बोगी जोड्नुपर्ने र मालसामान ढुवानीका लागि छुट्टै रेल सञ्चालन गर्नुपर्ने माग रेल्वेसँग राखिएको थियो । त्यसबेला मालसामान भण्डारणका लागि होल्डिङ सेन्टर निर्माण गर्ने स्थानबारे समेत छलफल भएको थियो । तर त्यसको प्रगति अहिले कहाँ पुगेको छ भन्नेबारे आफूहरूलाई जानकारी नभएको उनले बताएका छन् ।

मालवाहक रेल सञ्चालन हुनसके आयात लागत उल्लेख्य रूपमा घटाउन सकिने महासेठको भनाइ छ । अहिले दक्षिणबाट चामल आयात गर्दा प्रतिकिलो १४ देखि १५ रुपैयाँसम्म ढुवानी खर्च लाग्ने गरेको भन्दै उहाँले रेलमार्फत ढुवानी गर्नसके उक्त खर्च प्रतिकिलो तीन रुपैयाँसम्म झार्न सकिने बताएका छन् । त्यसैले यात्रुवाहक सेवासँगै मालवाहक रेल र आवश्यक पूर्वाधार निर्माणमा पनि ध्यान दिनुपर्ने उनको सुझाव छ ।

महासेठले भने,‘जनकपुर र अयोध्याबीच रामायणकालीन पौराणिक सम्बन्ध छ । अहिले रेल सञ्चालनको तयारी र भोलि हुन लागेको ट्रायल रनले जनकपुर र अयोध्याबीचको धार्मिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिएका छौँ । यसले जनकपुरमा पर्यटकको आगमन बढाउनुका साथै यहाँको आर्थिक गतिविधिमा समेत वृद्धि गर्नेछ । वर्षौंदेखि हामीले प्रतीक्षा गर्दै आएको यो रेल सेवा अहिले प्रधानमन्त्री बालेन्द्र साहको नेतृत्वमा दुई देशबीचको कनेक्टिभिटी विस्तार हुने अवस्थामा पुगेको छ । यसले जनकपुरको समग्र आर्थिक गतिविधि बढाउने, बजार तथा व्यवसायलाई चलायमान बनाउने र स्थानीय अर्थतन्त्रलाई थप गतिशील बनाउने विश्वास छ । अर्कोतर्फ, विगतमा म जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा पनि अहिले सञ्चालनको तयारीमा रहेको रेलमा मालवाहक बोगी जोड्नुपर्ने र मालवाहक रेलसमेत सञ्चालन गर्नुपर्ने माग रेल्वेसँग राखेका थियौँ । त्यसबेला मालसामान भण्डारणका लागि होल्डिङ सेन्टर कहाँ बनाउने भन्ने विषयमा पनि छलफल भएको थियो । तर त्यसको काम अहिले कहाँसम्म अघि बढेको छ भन्नेबारे हामीलाई जानकारी छैन । मालवाहक रेल सञ्चालन हुन सकेमा आयात खर्चसमेत उल्लेख्य रूपमा घटाउन सकिन्छ । उदाहरणका लागि, अहिले दक्षिणबाट चामल आयात गर्दा प्रतिकिलो १४ देखि १५ रुपैयाँसम्म ढुवानी खर्च लाग्ने गरेको छ । तर रेलमार्फत ढुवानी गर्नसके यो खर्च प्रतिकिलो तीन रुपैयाँसम्म झर्न सक्छ । त्यसैले यात्रुवाहक रेलसँगै मालवाहक रेल सञ्चालन र आवश्यक पूर्वाधार निर्माणमा पनि ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ ।’

यता रेल्वे कम्पनीले पनि सेवा जतिसक्दो छिटो सञ्चालनमा ल्याउने गरी तयारी अघि बढाएको जनाएको छ । कम्पनीका प्रवन्ध सञ्चालक परिवेश पराजुलीकाअनुसार रेल सेवा सञ्चालनका लागि विभिन्न निकायसँग समन्वय भइरहेको छ भने प्राविधिक जाँचसमेत अगाडि बढाइएको छ ।

उनकाअनुसार अहिले अन्तिम लाइसेन्स प्राप्त भइसकेको छैन । सञ्चालन प्रक्रियालाई अन्तिम रूप दिने विषयमा छलफल भइरहेको छ । रेल्वे, भन्सार, सुरक्षा लगायतका विषयमा सम्बन्धित निकायबीच समन्वय र आवश्यक निर्णय गर्ने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ ।

पराजुलीले प्राविधिक परीक्षणका लागि भोलिदेखि ट्रायल रन सुरु गर्ने तयारी रहेको जानकारी दिएका छन् । यद्यपि रेल सेवा सञ्चालन हुने निश्चित मिति भने तय भइसकेको छैन । आवश्यक प्रक्रिया पूरा गरेर जतिसक्दो चाँडो सेवा शुरु गर्ने कम्पनीको तयारी रहेको उनले बताए ।
अयोध्यामा पछिल्लो समय ठूलो संख्यामा पर्यटक पुगिरहेको उल्लेख गर्दै पराजुलीले त्यहाँबाट सिधै रेलमार्फत जनकपुर आउने व्यवस्था भए भारतीय पर्यटकलाई जनकपुरधामसम्म आकर्षित गर्न सकिने बताए । रामको दर्शन गर्न अयोध्या पुग्ने पर्यटकले सीताको जन्मस्थल जनकपुरधामको समेत दर्शन गर्ने उनको भनाई छ ।

उनले भने ,‘हामी जतिसक्दो चाँडो सञ्चालनको तयारीमा छौँ । त्यसका लागि विभिन्न क्षेत्र र निकायसँग समन्वय गरिरहेका छौँ । प्राविधिक रूपमा पनि आवश्यक चेकजाँचहरू अगाडि बढाइरहेका छौँ । अहिले अन्तिम लाइसेन्स प्राप्त भइसकेको अवस्था छैन । तर जतिसक्दो चाँडो सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको छ । अहिले सञ्चालन प्रक्रिया (अपरेसन प्रोसिजर) कसरी अघि बढाउने भन्ने विषयमा छलफल भइरहेको छ । यसलाई चाँडै अन्तिम रूप दिने तयारीमा छौँ । प्राविधिक ट्रायल रन पनि भोलिदेखि सञ्चालन गर्दैछौँ । रेलवेसँगै भन्सार, सुरक्षा लगायतका विषयमा विभिन्न निकायबीच समन्वय र आवश्यक निर्णय गर्नुपर्ने भएकाले त्यसको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ । हामी जतिसक्दो चाँडो सेवा सुरु गर्ने गरी अगाडि बढिरहेका छौँ । तर अहिले नै यही दिन वा गतेबाट सञ्चालन सुरु गर्ने भन्ने विषय भने निश्चित भइसकेको छैन । अयोध्यामा ठूलो संख्यामा पर्यटकहरू आइरहेको हामीले देखिरहेका छौँ । त्यहाँबाट सिधै रेल जनकपुरसम्म आउने व्यवस्था भयो भने रामको दर्शन गर्न आउने भारतीय पर्यटकहरू सीताको जन्मस्थल जनकपुरधामको दर्शन गर्न पनि आउने हाम्रो अपेक्षा छ । यसले पर्यटन आगमनमा वृद्धि हुनुका साथै आर्थिक तथा सामाजिक रूपमा पनि देशलाई ठूलो टेवा पुग्ने विश्वास लिएका छौँ ।’

जनकपुर–अयोध्या रेल कनेक्टिभिटीलाई धार्मिक पर्यटन प्रवद्र्धनको माध्यमका रूपमा मात्र नभई दुई देशबीचको व्यापारिक सम्बन्ध र आर्थिक गतिविधि विस्तार गर्ने अवसरका रूपमा समेत हेरिएको छ ।


प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?