Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

२३ वर्षपछि विद्यालय पुनःस्थापना


३ वैशाख ,त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका–२ सीतापुरमा बाढीका कारण विस्थापित भएको विद्यालय दुई दशकपछि पुनःस्थापना भएको छ । सीतापुरमा रहेको जनतासिद्ध निम्न माध्यमिक विद्यालय विसं २०५७ मा नारायणी नदीमा आएको बाढीका कारण विस्थापित भएको थियो ।

उक्त विद्यालय मध्यविन्दु नगरपालिकाको पहलमा २३ वर्षपछि पुनःस्थापना गरिएको छ । नारायणीमा आएको बाढीले बस्ती कटान र डुबान गरेपछि बस्तीसँगै विद्यालय पनि विस्थापित बन्न पुगेको थियो । विद्यालय विस्थापित भएको २३ वर्षपछि सोही स्थानमा नयाँ वर्षको अवसर पारेर मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले विद्यालयको उद्घाटन गरे ।

विसं २०२६ मा स्थापना भएको जनतासिद्ध निमावि विसं २०५७ को बाढीका कारण सीतापुरबाट विस्थापित भएपछि लुसलहरिको तत्कालीन अमर प्रावि भएको स्थानबाट सञ्चालन भएको थियो । एउटै परिसरबाट दुईवटा विद्यालय सञ्चालन भएको केही वर्षपछि दुई विद्यालय गाभिएर जनतासिद्ध अमर माध्यामिक विद्यालय बनेको थियो । त्यसबीचमा बाढी र डुबानका कारण विस्थापित भएका स्थानीयवासी क्रमशः बस्ती फर्किए पनि गाउँबाट विस्थापित विद्यालय भने फर्किएन ।

विद्यालय विस्थापित भएपछि सीतापुर नन्दपुर सेहरीका विद्यार्थीले अहिले अध्ययनका लागि अन्य क्षेत्र जानुपर्ने बाध्यता छ । विद्यालय स्थापनापछि गुणस्तरीय शिक्षाका लागि अन्य क्षेत्र पुग्नुपर्ने बाध्यता हट्ने विश्वास अभिभावकको छ । विगतमा विद्यालय सञ्चालनमा रहेको र भौतिक संरचनासमेत भएको स्थानमा विद्यालय स्थापनापछि अब गाउँमै विद्यार्थीले गुणस्तरीय शिक्षा पाउने नगरप्रमुख अधिकारीले बताए ।

जनतासिद्ध विद्यालय सञ्चालनको सम्पूर्ण जिम्मेवारी नगरपालिकाको हुने भन्दै उनले अभिभावकले कुनै पनि शुल्क बुझाउनु नपर्ने बताए । पहिलो चरणमा स्थापना भएको जनतासिद्ध र मध्यविन्दु नगरपालिकाको पहाडी क्षेत्र वडा नं १४ का सबै विद्यालयमा सबै व्यवस्थापन नगरपालिकाबाट गर्ने गरी काम भइरहेको उनले बताए ।

मध्यविन्दु नगरपालिकाको शैक्षिक अवस्था सुधारलाई पहिलो प्राथमिकतामा राखेर अहिले काम भइरहेको जनाउँदै उनले सबै पक्षको सकरात्मक सहयोगको नगरपालिकाले अपेक्षा राखेको बताए । मध्यविन्दु नगरपालिका शिक्षा अधिकृत कृष्ण रेग्मीले अभिभावकको माग, नगर शिक्षा समिति र नगरकार्यपालिकाको निर्णयानुसार विद्यालय स्थापना भएको बताए ।

विद्यालय सञ्चालनका लागि समुदायस्तरबाट सहयोग हुने स्थानीय अभिभावकले प्रतिबद्धता व्यक्त गरे । “विद्यालय यहाँबाट विस्थापित हुनुपहिले पाँच सय ६० विद्यार्थी यहीँ पढ्थे । विद्यालय लुसलहरि गएपछि २०२६ सालमा खुलेको विद्यालयको इतिहास पनि हरायो । गाउँका विद्यार्थीले पनि दुःख पाए”, विद्यालय स्थापना तयारी समितका संयोजक श्यामनारायण महतोले भने ।

विद्यालयका पूर्वशिक्षकसमेत रहेका महतोले पूर्ववत् अवस्थामा विद्यालय सञ्चालन गर्न तत्काल सम्भव नभए पनि क्रमशः सबै विद्यार्थी र अभिभावकको रोजाइ बनाउन सबै समुदाय एकबद्ध भएको बताए । आजदेखि वैशाख १० गतेसम्म विद्यालयले भर्ना अभियान सञ्चालन गर्ने मध्यविन्दु–२ का वडाध्यक्ष रामभक्त अधिकारीले बताए ।


प्रकाशित मिति: ३ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?