Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

बर्लिनमा नेपाली संस्कृतिको भव्य उपस्थिति : हिमालमा जलवायु परिवर्तनको असरबारे मनमोहक प्रस्तुति (फोटो फिचर)


बर्लिन। बर्लिनमा आइतबार सम्पन्न विश्वप्रसिद्ध बहुसांस्कृतिक सडक महोत्सव Karneval der Kulturen मा नेपालले मौलिक कला, संस्कृति मार्फत जलवायु परिवर्तनको असर प्रस्तुत गरेको छ। विश्वका ६० भन्दा बढी देशहरूको सहभागिता रहेको उक्त महोत्सवमा नेपालले ‘Nepali Heritage Troupe’ का रूपमा आफ्नो कला, संस्कृति र मौलिक पहिचान प्रस्तुत गरेको हो।

यस वर्षको नेपाली प्रस्तुतिको केन्द्रमा जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्र, जनजीवन, संस्कृति तथा वातावरणमा पारेको असरलाई विशेष रूपमा समेटिएको थियो। हिमाल, जैविक विविधता, हिमाली संस्कृति तथा प्रकृति संरक्षणसम्बन्धी सन्देशलाई केन्द्रमा राखेर नेपालका तीनवटै भूगोलका संस्कृतिलाई कलात्मक ढंगले प्रस्तुत गरिएको थियो।

महोत्सवको सम्पूर्ण तयारी बर्लिनस्थित नेपाली राजदूतावासको संयोजकत्वमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) जर्मनी, गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनी, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) जर्मनी, क्षेत्रीय समन्वय समिति (एलसीसी) बर्लिन–ब्रान्डेनबर्ग तथा क्षेत्रीय समन्वय समिति (एलसीसी) हेसेन र शेर्पा कुडुग जर्मनीबीच सहकार्य गरिएको थियो।साथै नेपाल पर्यटन बोर्डको समेत सहयोग रहेको थियोे ।

कार्यवाहक राजदूत सागरप्रसाद फुयालका अनुसार महोत्सवमा नेपालको प्रस्तुति भव्य र व्यवस्थित बनाउनेगरी महिनाअघिदेखि तयारी सुरु गरिएको थियो। त्यस्तै, गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीका वरिष्ठ उपाध्यक्ष राजेश सुनारले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्न महोत्सव महत्त्वपूर्ण भएको बताए। उनले यस्ता कार्यक्रमहरूले नेपाली पहिचानलाई विश्वसामु परिचित गराउन र मुलुकको अर्थतन्त्रलाई समेत मजबुत रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

महोत्सवका लागि पाँच महिना लामो तयारी गरिएको थियो। यसक्रममा हेरिटेज ग्रुपको संयोजन निरोज नेपाली र सुनिल रानाले गरेका थिए। रानाले नै महोत्सवका लागि हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरलाई केन्द्रमा राखेर मुलुकको सबै भुगोलका संस्कृतिलाई समेट्ने गरी कार्यक्रमको अवधारणा तय गरेका थिए। साथै नृत्यको संयोजन तथा कोरियोग्राफी ईनास अध्यक्ष लेजुना श्रेष्ठ र अनिता मोक्तानले गरेका थिए। स्वयंसेवक संयोजन सावित्री कुँवर, सन्चिता पन्त, लक्ष्मी कुँवर र चन्द्रकला परियारले गरेका थिए।

महोत्सवमा कार्यवाहक राजदूत फुयाल, दूतावासका तृतीय सचिव दिपेन्द्र साह, एनआरएनए जर्मनीका संस्थापक अध्यक्ष दिलबहादुर गुरुङ, एनआरएनए जर्मनीका अध्यक्ष लोकमणी ढकाल, ईनास जर्मनीका महासचिव निरोज नेपाली, एलसीसी बर्लिन–ब्रान्डेनबर्गका संयोजक रवि ढुंगाना सहित जर्मनभरबाट सयौं महोत्सवमा सहभागी हुन बर्लिन आएका थिए।

नेपालले सन् २०१२ देखि निरन्तर रूपमा उक्त महोत्सवमा सहभागिता जनाउँदै आएको छ। सन् २०२४ मा नेपालले करिब ६० वटा अन्तर्राष्ट्रिय समूहलाई पछि पार्दै उत्कृष्ट प्रदर्शनसहित पहिलो स्थान हासिल गरेको थियो। हरेक वर्ष लाखौं दर्शकहरूको उपस्थिति रहने यस महोत्सवलाई विश्वकै महत्वपूर्ण बहुसांस्कृतिक उत्सवमध्ये एक मानिन्छ। विभिन्न देशहरूले आ–आफ्नो भाषा, संस्कृति, संगीत, नृत्य तथा परम्परालाई झल्काउने झाँकी प्रस्तुत गर्ने गर्दछन्।


प्रकाशित मिति: ११ जेष्ठ २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?