काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिमा आधारित रूपान्तरणकारी विकास साझेदारीमा बदल्नुपर्ने बताएका छन् ।
सोमवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री साहले दुई देशबीचको सम्बन्धलाई नयाँ पुस्ताको अवसर र समृद्धिसँग जोड्नुपर्नेमा जोड दिएका छन् । उनले नेपाल–भारत सम्बन्ध हिमालयजस्तै अटल र समुन्द्रजस्तै विशाल रहेको उल्लेख गर्दै यस सम्बन्धको वास्तविक आधार दुवै देशका जनता रहेको बताएका छन् । आपसी सम्मान, दृढ विश्वास र निरन्तर सद्भाव नै दुई देशबीचको सम्बन्धको बलियो आधार भएको उनको भनाइ छ । भारतले प्राकृतिक विपद् र कठिन परिस्थितिमा भरपर्दो छिमेकीका रूपमा नेपाललाई सहयोग गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री साहले भारत सरकार र त्यहाँका जनताप्रति आभार व्यक्त गरेका छन् । भारतले विपद्का बेला पहिलो उद्धारकर्ताका रूपमा सहयोग पुर्याउँदै आएको उनले स्मरण गरेका छन् ।
प्रधानमन्त्री साहले दुई देशबीच सम्पन्न प्रतिनिधिमण्डलस्तरीय वार्तामा शताब्दीयौँ पुरानो ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र आधुनिक बनाउने विषयमा विस्तृत छलफल भएको जानकारी दिएका छन् । छलफलका क्रममा द्विपक्षीय सहकार्यका विभिन्न क्षेत्रमा महत्वपूर्ण समझदारी भएको उनले बताएका छन् । दुई देशबीच भएका समझदारी र अघि बढाइएका पूर्वाधार परियोजनाको प्रतिफल सर्वसाधारणको जीवनमा देखिनुपर्नेमा जोड दिँदै उनले किसानका खेतमा समृद्धि, युवाका हातमा रोजगारी र अवसर, विद्यार्थीका सपनामा नयाँ क्षितिज तथा उद्यमीका लागि नयाँ बजार, लगानी र व्यवसाय विस्तारका सम्भावना सिर्जना हुनुपर्ने बताएका छन् । उनले आज भएका ऐतिहासिक उपलब्धिले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् । विगतका पुस्ताले निर्माण गरेको सम्बन्धको बलियो जगमा उभिएर आगामी पुस्ताका लागि अवसर सिर्जना गर्नु अहिलेको नेतृत्वको महत्वपूर्ण जिम्मेवारी भएको उनको भनाइ छ ।
जलवायु परिवर्तनको चुनौती सामना गर्न नेपाल र भारतले सामूहिक प्रयास गर्नुपर्ने विषयलाई पनि प्रधानमन्त्री साहले विशेष रूपमा उठाएका छन् । हिमालय स्वच्छ पानीको स्रोतका रूपमा यस क्षेत्रका करोडौँ मानिसको जीवनसँग जोडिएको उल्लेख गर्दै हिमालयबाट गङ्गासम्म बग्ने निर्मल नदीहरूले दुवै देशको साझा भविष्य र नियतिलाई जोडेको बताए । प्रधानमन्त्री साहले नेपालमा भारतीय लगानीकर्तालाई स्वागत गर्दै दुवै देशको आर्थिक समृद्धिका लागि साझेदारी गर्न आह्वान गरेका छन् । नेपालमा स्थापना हुने भारतीय प्रविधि संस्थान (आईआईटी) मा भारतीय विद्यार्थीसमेत अध्ययन गर्न आउने वातावरण बनाउनुपर्ने र दुवै देशका विभिन्न शहरबीच सीधा हवाई सम्पर्क विस्तार गर्नुपर्ने उनले बताएका छन् । दुई देशबीचको साझा र समृद्ध भविष्य निर्माणका लागि संयुक्त दृष्टिकोण दस्तावेज प्रस्तुत गरिने र सहकार्यका उपलब्धिलाई संयुक्त प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने पनि उनले जानकारी दिएका छन् ।
यस अवसरमा प्रधानमन्त्री साहले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । नेपालका जनताका तर्फबाट मोदीलाई नेपाल भ्रमणका लागि हार्दिक निमन्त्रणा दिँदै उनले भारतीय नागरिकलाई पनि नेपाल भ्रमण गर्न आग्रह गरेका छन् । मुक्तिनाथ, पशुपतिनाथ, जनकपुरस्थित माता जानकी, जीवित देवी कुमारी र भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालको विशिष्ट धार्मिक तथा सांस्कृतिक सम्पदा भएको उल्लेख गर्दै उनले भारतीय नागरिकलाई नेपाल आएर यहाँको प्राकृतिक, धार्मिक र सांस्कृतिक सौन्दर्य अनुभव गर्न निमन्त्रणा दिएका छन् ।
प्रकाशित मिति: ७ मंसिर २०८३, सोमबार