काठमाडौँ।नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले नेपाल र भारतबीच तयार पारिएको संयुक्त भिजन पेपरको औचित्यमाथि प्रश्न उठाएका छन् ।
प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणलाई लक्षित गर्दै टिप्पणी गर्ने क्रममा उनले एउटा सार्वभौम र स्वतन्त्र देशले अर्को देशसँग मिलेर संयुक्त भिजन पेपर बनाउनु अनौठो भएको बताएका छन् । ‘एउटा सार्वभौम स्वतन्त्र देशले अर्को देशसँग मिलेर भिजन पेपर बनाउँछ ? कतै सुन्नुभएको छ ? संयुक्त भिजन पेपरमा अब दुईले घाँटी जोडेर के गर्ने हुन् ?’ उनले प्रश्न गरे । रावलले संयुक्त भिजन पेपरबाट नेपालको राष्ट्रिय हितमा सुखद् परिणाम आउनेमा आशंका व्यक्त गरेका छन् । भारत भ्रमणबाट प्रधानमन्त्रीले के उपलब्धि हासिल गरेर फर्कनुहुन्छ भन्नेकुरा हेर्नुपर्ने उनको भनाइ छ । सरकार अहिले के काम गरिरहेको छ भन्नेकुरा आम नागरिकले अनुभुति गर्न नपाएको उनको भनाइ छ । जनताले बुझ्नै नसक्ने गरी अंग्रेजी भाषा घुसाउने र आफूलाई ठूलो देखाउने प्रवृत्ति नयाँ सरकारले देखाइरहेको उनको आरोप छ ।
उनले भने, ‘हाम्रो राष्ट्र नेपालको जुन अहिले सरकार छ । त्यसले के काम गरिरहेको छ । त्यो कुरा बुझेर कम्युनिष्ट र देशभक्त भनेको के हो भन्नेकुरामा आफ्नो ठाउँबाट काम गरौँ । कसैले गरोस्, नरोस्, राजनीति भनेको कुनै व्यक्तिको लागि गरेको होइन । आज जेन–जी भन्छन्, यो त अमेरिकाको समाजशास्त्रीले आफ्नो व्यापार व्यवसाय वस्तु प्रचार गर्दा कसरी समाजमा भिज्न सकिन्छ भनेर ल्याएको प्रचार हो । त्यसलाई यहाँ ल्याएर जेन–जी भनेर हालिदिएको छ । काँधमा बोकेर घुमेको छ, त्यसको व्याख्या गर्ने कोही पनि छैन । युवाहरुको सरकार भनेर आएका प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारत भ्रमणमा जाने सन्दर्भमा उहाँको उहाँहरु अंग्रेजी धेरै घुुसाउनु हुन्छ । ३० प्रतिशत अंग्रेजी घुसाउनु हुन्छ, जनताले बुझ्दैनन् । आफूलाई ठूलोपन देखाउनुपर्छ । नेपालको संविधानमा नेपाली भाषा देवनागरिक लिपीमा हुनेछ भन्नेछ । त्यसको कार्यान्वयन हुँदैन । उहाँले संयुक्त भिजन पेपर देखाउनुभएको छ । एउटा सार्वभौम स्वतन्त्र देशले अर्को देशसँग मिलेर भिजन पेपर बनाउँछ । कतै सुन्नुभएको छ ? सुन्नुभएको छ कतै ? संयुक्त भिजन पेपरमा अब दुईले घाँटी जोडेर के गर्ने हुन् ? कुनै सुखद् परिणाम आए भन्नेकुरा एकदमै कम मात्रै सुन्नुहुनेछ ।’
नेता रावलले भारत भ्रमणबाट प्रधानमन्त्री बालेन्द्र साहले के लिएर फर्किनुहुन्छ ? भन्नेकुरा अहिल्यै भन्न नसकिने बताएका छन् । उनले पार्टीको राष्ट्रिय जागरण अभियानमामा देशको अर्थतन्त्र, राजनीति, संस्कृति, समृद्धिबारे सोच्नुपर्ने बताएका छन् । नेता रावलले हजारौँ मानिसहरु देश छोडेर गइरहेको अवस्थामा सरकारले कस्ता नीति ल्याउँछ र अहिलेसम्म के गरेको छ भन्नेबारेमा जनतालाई त्यसको फेहरिस्त जानकारी गराउनुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘भारत भ्रमणबाट वर्तमान प्रधानमन्त्रीले के लिएर आउनुहुन्छ, त्यो हेर्नुपर्छ । हाम्रो राष्ट्रिय जागरण अभियानमा हाम्रो देशको अर्थतन्त्र, राजनीति, संस्कृति, समृद्धिबारे सोच्नुपर्छ । आज हजारौँ मानिस देश छोडेर गइरहेका छन्, त्यसबारेमा हामीले सोच्नुपर्छ । सरकारले कसरी निर्णय गर्छ,त्यसबारेमा हामी जनताको बीचमा लैजानुपर्छ ।’
उनले गेटा अस्पताल राम्रोसँग चल्न नसकेको भन्दै सरकारलाई राम्रोसँग अस्पताल सञ्चालन गर्न आग्रह गरेका छन् ।
प्रकाशित मिति: ६ मंसिर २०८३, आईतवार