Trending
>>   भारतमा रहेका नेपालीको पीडाः पहिचान लुकाउनुपर्ने बाध्यतादेखि असुरक्षित यात्रासम्म >>   इरान अमेरिकी शर्तमा सहमत हुन तयार नभएको ट्रम्पको भनाइ, वार्ता अनिश्चित >>   लण्डनमा सैन्य खर्च कटौतीको माग गर्दै प्रदर्शन, शिक्षा र स्वास्थ्यमा लगानी बढाउन आग्रह >>   प्रधानमन्त्री बालेन्द्र साहलाई राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने >>   रिजनले पाए ओमोडाको कारः रिजन उत्कृष्ट बलर र लोकेश उत्कृट ब्याटर >>   सुदूरपश्चिमको पोल्टामा एनपीएलको उपाधि >>   दिल्लीको ठाउँ-ठाउँमा फहराइए नेपाल–भारतका झण्डा >>   जहाँ बसेर पनि मतदान गर्न पाउने व्यवस्था गर्नुपर्छः कुलमान घिसिङ >>   पञ्चेश्वरदेखि भैरहवा विमानस्थलसम्मका मुद्दा टुंग्याउन प्रधानमन्त्रीलाई कुलमान घिसिङको सुझाव >>   मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त
Logo
६ मंसिर २०८३, आईतवार
६ मंसिर २०८३, आईतवार

भारतमा रहेका नेपालीको पीडाः पहिचान लुकाउनुपर्ने बाध्यतादेखि असुरक्षित यात्रासम्म


काठमाडौं । भारतमा वर्षौंदेखि बसोवास गर्दै आएका नेपालीहरू आफ्नै देशको नागरिकता बोकेर पनि विदेशी भूमिमा आफ्नो पहिचान लुकाउन बाध्य छन् ।

बैंक खाता खोल्नेदेखि सिमकार्ड लिनेसम्मका झन्झट, रोजगारीका नाममा ठगी, महिला तथा बालबालिकामाथि हुने शोषण, असुरक्षित यातायात र उपचारका क्रममा आर्थिक संकटजस्ता समस्याले उनीहरूलाई पिरोलिरहेको छ । भारतमा लाखौँ नेपाली रहेको अनुमान गरिए पनि उनीहरूको यकिन तथ्याङ्क र अवस्थाबारे राज्यसँग व्यवस्थित अभिलेख छैन । वर्षौंदेखि भोग्दै आएका यी समस्या सुनाउँदै प्रवासी नेपालीहरूले अब पहिचान, सुरक्षा र सामाजिक सुरक्षाको प्रत्याभूति हुनेगरी नेपाल सरकारले भारतसँग कुटनीतिक पहल गर्नुपर्ने माग गरेका छन् । भारतको राजधानी नयाँदिल्लीमा लामो समयदेखि बस्दै आएका नेपालीहरूले नेपाल सरकारसँग आफ्ना समस्या समाधानका लागि प्रभावकारी कुटनीतिक पहल गर्न माग गरेका छन् । उनीहरूले भारतमा रहेका नेपालीको व्यवस्थित तथ्याङ्क सङ्कलन, नेपाली नागरिकताको सहज पहिचान र त्यसकै आधारमा आधारभूत सेवा प्राप्त गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । अर्घाखाँची घर भई लामो समयदेखि दिल्लीमा बस्दै आएका विजय भुसालले भारतमा नेपालीको पहिचान नै प्रमुख समस्या बनेको बताएका छन् । उनकाअनुसार भारतमा नेपाली भएको पहिचान खुलाउँदा हेपिनुपर्ने डरले धेरै नेपालीले आफ्नो वास्तविक परिचय लुकाएर बस्नुपर्ने अवस्था छ । उनि आफैँले पनि लामो समयसम्म आफ्नो नेपाली पहिचान लुकाएर बस्नुपरेको अनुभव सुनाएका छन् । उनले नेपाली नागरिकताकै आधारमा भारतमा बैंक खाता खोल्न, सिमकार्ड लिन र अन्य आवश्यक सेवा प्राप्त गर्न सक्ने व्यवस्था हुनुपर्ने माग गरेका छन् । नेपाली नागरिकता ठूलो पहिचान भए पनि भारतमा त्यसको व्यावहारिक उपयोग हुन नसकेको उनको गुनासो छ ।

भुसालले भारतमा रहेका नेपालीको सङ्ख्याबारे यकिन तथ्याङ्कसमेत नरहेको भन्दै नेपाल र भारत दुवै सरकारले संयुक्त रूपमा अभिलेख तयार गर्नुपर्ने बताएका छन् । खुला सीमाको अभ्यासलाई कायम राख्दै सीमा आवागमन गर्ने नेपालीको विवरण कम्प्युटर प्रणालीमा राख्नसके उनीहरूको पहिचान र अवस्थाबारे जानकारी लिन सहज हुने उनको भनाइ छ । उनले विगतमा नेपाली दुतावासमा पटक–पटक समस्या राख्दा पनि सुनुवाई नभएको अनुभव सुनाउँदै अहिलेको सरकारले भने केही काम गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

भुसालकाअनुसार नेपाल–भारतमैत्री बसको नाममा सञ्चालित कतिपय बसले नेपाल सरकारबाट आवश्यक अनुमति नलिई यात्रु ओसारपसार गर्ने गरेका छन् । यात्रुलाई सीमासम्म पुर्याएर त्यहाँ अर्को एजेन्ट वा कम्पनीको जिम्मा लगाउने र पुनः अर्को बसबाट गन्तव्यतर्फ पठाउने प्रवृत्तिले यात्रु समस्यामा पर्ने गरेका छन् ।

उनले भने, ‘म भारत आएको २७ वर्ष भइसक्यो । मेरा छोराछोरी यहीँ हुर्किए, यहीँ विवाह गरेँ । लामो समय भारतमा बस्दा नेपाली पहिचान लुकाएर बस्नुपर्ने अवस्था भोगेँ । नेपाली हुँ भन्दा हेपाइ सहनुपर्ने डरले आफूलाई भारतीय भनेर चिनाउनुपर्ने बाध्यता थियो । तर अब म खुलेर गर्वका साथ आफू नेपाली हुँ भन्न चाहन्छु । नयाँ सरकारले भारतमा बस्ने नेपालीको पहिचान र अधिकार सुनिश्चित गर्न पहल गरोस् भन्ने मेरो अपेक्षा छ । नेपाली नागरिकताकै आधारमा भारतमा बैंक खाता खोल्न, सिमकार्ड लिन र आफ्नो नेपाली पहिचान प्रमाणित गर्न पाउने व्यवस्था हुनुपर्छ । नागरिकता हाम्रो प्रमुख पहिचान हो । त्यस्तै, भारतमा बसोवास गर्ने नेपालीको वास्तविक तथ्याङ्क दुवै देशका सरकारले संकलन गर्नुपर्छ । ५० लाख नेपाली छन् भनिन्छ भने त्यसको आधिकारिक तथ्याङ्क पनि हुनुपर्छ । खुला सीमाना भएपनि नेपाली नागरिकको विवरण व्यवस्थित रूपमा अभिलेखमा राख्न सकिन्छ । भारतमा घरजग्गा तथा अन्य व्यवहारिक आवश्यकता पूरा गर्न कतिपय नेपालीले आफ्नो पहिचान लुकाउनुपर्ने अवस्था छ । भाडामा बस्ने नेपालीले समेत विभेद र अपमान सहनुपरेको मैले आफ्नै अनुभवबाट देखेको छु । त्यसैले मेरो सरकार र नेपाली दुतावाससँग आग्रह छ । भारतमा बस्ने नेपालीलाई आफ्नो पहिचान लुकाउनुपर्ने बाध्यता अन्त्य गरी सम्मानपूर्वक नेपाली भएर बाँच्न पाउने वातावरण बनाइयोस् । नेपाली नागरिकताको उचित मान्यता र नेपालीको आधिकारिक तथ्याङ्क संकलनका लागि दुवै देशले मिलेर ठोस पहल गरून् ।’

एउटै सिट नम्बर विभिन्न एजेन्सीले विक्री गर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने र सुरक्षा मापदण्ड पूरा नगरी बस सञ्चालन गर्ने गरिएको उनको भनाइ छ । यसले यात्रुको सुरक्षामाथि गम्भीर जोखिम निम्त्याएको उनले बताएका छन् ।

विशेषगरी चाडपर्वका समयमा यात्रुको चाप बढ्दा भाडा असुली, सिटको दोहोरो बिक्री र क्षमताभन्दा बढी यात्रु राख्ने समस्या थप बढ्ने गरेको छ । बसमा आगलागी वा अन्य दुर्घटना हुँदा यात्रु तत्काल बाहिर निस्कन नसक्ने अवस्था सिर्जना हुनसक्ने भन्दै उहाँले यातायात सेवाको नियमित अनुगमन र नियमन गर्न माग गर्नुभयो ।

म्यानपावरको प्रलोभनदेखि मानव बेचबिखनसम्म
भारतमा नेपालीहरूले भोगिरहेको अर्को गम्भीर समस्या रोजगारीको प्रलोभनमा हुने ठगी र महिला तथा बालबालिकाको शोषण हो । पाल्पा घर भई दिल्लीमा बस्दै आउनुभएका तेजराम न्यौपानेले नेपालबाट भारत आउने क्रममा धेरै नेपाली म्यानपावर तथा दलालको ठगीमा पर्ने गरेको बताएका छन् । उनकाअनुसार विदेशमा राम्रो रोजगारी दिलाउने भन्दै विभिन्न प्रलोभन देखाएर भारत ल्याउने र यहाँ पुगेपछि पैसा लिएर सम्पर्कविहीन हुने प्रवृत्ति बढेको छ । यस्ता घटनाबारे पर्याप्त रूपमा सार्वजनिक चर्चा हुन नसकेको उनको भनाइ छ । न्यौपानेले भारतमा रोजगारीका अवसर र प्रतिष्पर्धाबीच नेपालीले आफ्नो क्षमता, सीप र कार्यक्षमताका आधारमा स्थान बनाउनुपर्ने अवस्था रहेको बताएका छन् । तर रोजगारीका लागि भारत आउने नेपालीको सबैभन्दा ठूलो समस्या कागजात र आर्थिक सुरक्षासँग जोडिएको उनको भनाइ छ ।

उनले भने, ‘यहाँ धेरै नेपालीहरुलाई विदेश पठाउने लोभमा म्यानपावर दलालहरुले अत्यन्तै फसाएको छ । यहाँको मिडियाले बाहिर त्यत्ति लैजाँदैन । नेपालको मिडियालाई पनि यहाँ भएको घटना भएकाले उहाँ थाहा नभएर धेरै नेपालीले दुःख पाउनुभएको छ । ललाइफकाइ कसरी यहाँ लिएर आउँछन् र यहाँ आएर पैसा खाएर भाग्ने क्रम बढी छ । समस्या धेरै नै छन् । भारतमै डेढ अर्ब जनसंख्या छ भने उनीहरु यहाँ आएर अरुले नोकरी गरुन् भनेर चाहँदैनन् । तँ गए तीन अरु आउँछन् भन्छ । नेपालबाट आएकालाई यहाँ कसैले इज्जत गर्ला भन्नेकुरा छैन । कागजातको कुरा ठूलो हो । नेपालबाट उपचार गर्न आएकालाई पैसा ट्रान्सफर गर्न समस्या छ । अहिलेको सरकारले गर्छ की, सरकारले गर्ने भनेको कुटनीतिक पहल नै हो ।’

भारतमा उपचारका लागि आउने नेपालीले रकम भुक्तानी र बैंकिङ कारोबारमा समेत समस्या भोग्नुपरेको उनले बताएका छन् । विशेषगरी क्यान्सरजस्ता गम्भीर रोगको उपचारका लागि आउने बिरामीलाई ठूलो रकम आवश्यक पर्ने भएपनि नेपालबाट भारतीय रुपैयाँ पठाउन सहज नहुँदा समस्या हुने गरेको उनको अनुभव छ । त्यसका लागि निश्चित अवधिका लागि अस्थायी बैंक खाता खोल्ने र आवश्यक रकम जम्मा तथा झिक्न सक्ने व्यवस्था गर्न उनले सरकारसँग आग्रह गरेका छन् ।

कोठीबाट नेपाली चेलीको उद्धार गर्नुपर्ने अवस्था
अछाम घर भई दिल्लीमा काम गर्दै आउनुभएकी जानकी कडायतले नेपाली महिला तथा बालबालिका भारतमा विभिन्न प्रलोभनमा पारेर ल्याइने र उनीहरूलाई जोखिमपूर्ण अवस्थामा पुर्याइने गरेको बताइन् । उनकाअनुसार एजेन्टहरूले नेपाली चेलीहरूलाई कामको प्रलोभन देखाएर भारत ल्याउने र कतिपयलाई कोठीमा पुर्याउने गरेका छन् । त्यहाँ पुगेपछि बाहिर निस्कनसमेत नदिने अवस्था रहेको उनले सुनाइन्। कडायतले पछिल्लो एक वर्षमा मात्रै पाँच जना नेपाली महिलालाई कोठीबाट उद्धार गर्न सहयोग गरेको जानकारी दिएकी छिन् । उद्धार गरिएका महिलालाई प्रहरीको सहयोगमा परिवारसम्म पुर्याउन निकै कठिन हुने गरेको उनको अनुभव छ ।

उनले भनिन् , ‘ म भारतको नयाँ दिल्ली ग्रिन पार्कमा बस्न थालेको २० साल भयो । हामी पनि एक अर्काको सोचेर सहयोग गर्नुपर्छ भन्ने भावना हुन्छ । तर हामी नेपालीहरु अरु मानिसहरु फसाउने, चोरी गरेर जाने समस्या छ । त्यसैले आधार कार्ड र परिचय पत्र नहुँदासम्म कसैले पनि काम नलगाउने गर्नुपर्छ ।’

उनले नेपालबाट भारत आउने महिला तथा बालबालिकालाई माइती नेपाललगायत सम्बन्धित निकायले सीमा पार गराउनुअघि गन्तव्य, कामको प्रकृति र उनीहरू बस्ने स्थानको पूर्ण विवरण जाँच गर्नुपर्ने सुझाव दिएकी छिन् । भारतमा कामका लागि आउने नेपालीको परिचयपत्र र आवश्यक कागजात सुनिश्चित गरेर मात्रै रोजगारीमा लगाउनुपर्नेमा पनि उनले जोड दिएकी छिन् ।

नेपाल–भारत मैत्री बसका नाममा ठगी र यात्रुको सुरक्षा जोखिम
भारतमा रहेका नेपालीले भोगिरहेको अर्को समस्या नेपाल–भारत आवतजावत गर्ने बस सेवासँग सम्बन्धित छ । नेपालीको नाममा सञ्चालन भइरहेका कतिपय बसको आधिकारिक अभिलेख र अनुमति स्पष्ट नभएको तथा यात्रुलाई विभिन्न एजेन्टमार्फत अलपत्र पार्ने गरिएको गुनासो प्रवासी नेपालीहरूले गरेका छन् ।

अभिलेख र स्वास्थ्य बीमाको व्यवस्था गर्न माग
कञ्चनपुरको बेलौरी घर भई हाल दिल्लीमा बसोवास गर्दै आएका अर्जुन भण्डारीले भारतमा रहेका नेपालीको वास्तविक सङ्ख्या र अवस्थाको अभिलेख नहुँदा उनीहरूलाई आवश्यक पर्दा सहयोग पुर्याउन कठिन हुने गरेको बताएका छन् । उनकाअनुसार रोजगारीका लागि केही महिना भारत आउने नेपाली अचानक बिरामी पर्दा वा मृत्यु हुँदा शव व्यवस्थापनदेखि परिवारसम्म सूचना पुर्याउनेसम्मका समस्या देखिने गरेका छन् । आर्थिक अवस्था कमजोर भएका नेपालीले उपचार खर्च जुटाउन नसक्दा थप पीडा भोग्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । भण्डारीले नेपाल र भारतबीचको खुला सीमालाई व्यवस्थित गर्दै दुवै देशले आवतजावत गर्ने नागरिकको तथ्याङ्क राख्नुपर्ने बताएका छन् । यसरी सङ्कलित विवरणका आधारमा भारतमा रहेका नेपालीका लागि स्वास्थ्य बीमा तथा अन्य सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्न सकिने उनको सुझाव छ । उनले सामान्य रोजगारी गरेर जीविकोपार्जन गर्ने नेपालीलाई एकपटक बिरामी पर्दा ठूलो रकम खर्च गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै स्वास्थ्य बीमालाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन् ।

उनले भने, ‘नेपालबाट आाएका मानिसहरु विशेष गरी चाडपर्वमा धेरै हुने गर्दछन् । त्यसबेला नेपालबाट सञ्चालित हुने बस सेवाहरु केही समयदेखि नेपाल–भारतमैत्री बसको नामबाट चलिरहेका छन् । उनीहरुको आधिकारिक रेकर्ड छैन । उनीहरुले नेपालबाट अनुमति पनि नलिएको र उनीहरुले यहाँबाट यात्रु लिएर जाने, बोर्डरमा झार्ने गरेको पाइन्छ । बोर्डर पारी अर्को एजेण्टलाई खोजेर ह्याण्डओभर गर्ने गरेका छन् । त्यो खालको काम हुँदा एउटै व्यक्तिलाई तीन चार वटा सिट बेचेर दुःख पाएको छ । आगलागी भएका घटनामा मानिस बाहिर निस्किन नपाएर मरेको अवस्था छ । बाँकी दुर्घटना भनेको छँदैछ । सुरक्षा सावधानी छैन । उपचारको बेलामा रकम नहुने समस्या छ । भारतमा यता जो पनि आउनुभएको छ । नेपालमा रोजगारी नभएर यहाँ आएर काम गरेर फेरि फर्किनुभएको छ । तीन चार महिनाका लागि आएको व्यक्ति अचानक यहाँ आएको बेला बिरामी हुने र मृत्यु भएको खण्डमा शवको व्यवस्थापन ठूलो समस्या छ । नेपाली कति छन्, त्यसको रेकर्ड होस् । नेपालमा कति भारतीय छन् र भारतमा कति नेपाली छन् भन्ने यकिन तथ्यांक सरकारसँग भयो भने इन्स्योरेन्स गर्न सकिन्छ । इन्स्योरेन्स हुने बित्तिकै धेरै कुरा सहज हुन्छ । स्वास्थ्य बीमाको धेरै आवश्यकता छ ।’

भारतमा रहेका नेपालीका समस्या समाधानका लागि नेपाल र भारत सरकारबीच कुटनीतिक समन्वय आवश्यक रहेको प्रवासी नेपालीहरूको निष्कर्ष छ । उनीहरूले नेपालीको पहिचान सुनिश्चित गर्ने, श्रमिकको अधिकार संरक्षण गर्ने, मानव बेचबिखन नियन्त्रण गर्ने, यातायात सेवा व्यवस्थित बनाउने तथा स्वास्थ्य र आर्थिक सुरक्षाको प्रत्याभुति गर्ने विषयमा सरकारले ठोस पहल गर्नुपर्ने माग गरेका छन् ।

उनीहरूकाअनुसार भारतमा रहेका नेपालीको वास्तविक तथ्याङ्क तयार पार्नु नै अधिकांश समस्या समाधानको पहिलो आधार बन्न सक्छ । तथ्याङ्कसहितको व्यवस्थित अभिलेख भए मात्रै विदेशमा रहेका नेपालीको अवस्था पहिचान गर्न, विपद् तथा स्वास्थ्य समस्यामा सहयोग पुर्याउन र आवश्यक सामाजिक सुरक्षा कार्यक्रम लागू गर्न सहज हुनेछ ।


प्रकाशित मिति: ६ मंसिर २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?