काठमाडौं ।नेपाल र भारतबीच ऊर्जा, यातायात, प्रविधि र पूर्वाधार विकासलाई केन्द्रमा राखेर सहकार्यका नयाँ परियोजना अघि बढाइएका छन् ।
प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणका क्रममा सोमवार दुई देशबीच विभिन्न आठ क्षेत्रमा समझदारी हुनुका साथै महत्वपूर्ण पूर्वाधार तथा ऊर्जा परियोजनाको उद्घाटन र शिलान्यास गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री साहले संयुक्त रूपमा जनकपुर–अयोध्याबीच सञ्चालन हुने ‘सरयू कमला एक्सप्रेस’ रेल सेवाको उद्घाटन गरेका हुन् । यसले नेपाल र भारतबीचको धार्मिक पर्यटन तथा सीमापार यातायात सम्पर्कलाई थप सहज बनाउने अपेक्षा गरिएको छ । भ्रमणका क्रममा कोशी प्रदेशमा निर्माण हुने ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । नेपालको जलविद्युत उत्पादन क्षमता विस्तार गरी भारतीय ऊर्जा बजारसँग जोड्ने योजनाअन्तर्गत यस आयोजनालाई महत्वपूर्ण रूपमा हेरिएको छ । पेट्रोलियम आपूर्ति पूर्वाधारतर्फ मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण औपचारिक रूपमा नेपाललाई हस्तान्तरण गरिएको छ । झापामा नयाँ तेल भण्डारण टर्मिनल निर्माणको शिलान्याससमेत गरिएको छ । यसले नेपालमा पेट्रोलियम पदार्थको भण्डारण र आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ । सीमापार व्यापार र आवागमन सहज बनाउन भारतको बनबासामा एकीकृत जाँच चौकी निर्माणको शिलान्यास गरिएको छ भने नेपाल र भारतलाई जोड्ने धार्चुला सडक पुल उद्घाटन गरिएको छ ।
यसैगरी दुई देशबीच अन्तरिक्ष प्रविधि, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, स्वास्थ्य तथा औषधि, दिगो सहरी विकास, आयुर्वेद तथा परम्परागत चिकित्सा, पशुपालन तथा मत्स्य विकासका क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्र आदानप्रदान गरिएको छ । प्रहरी अनुसन्धान र शैक्षिक सहकार्यलाई पनि समझदारीमा समेटिएको छ । भारतको नेसनल फरेन्सिक साइन्सेस युनिभर्सिटी र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अनुसन्धान तथा शैक्षिक सहकार्य गर्ने सहमति भएको छ । त्यस्तै, भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानबीच पनि सहकार्य अघि बढाइने भएको छ ।
दक्षिण एशिया भूउपग्रहको उपयोगका लागि सञ्चार सञ्जाल स्थापना गर्ने समझदारी पनि भएको छ । यसबाट नेपालमा भूउपग्रह सञ्चार प्रविधिको उपयोग विस्तार गर्ने लक्ष्य राखिएको छ ।
दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा भएका यी समझदारी र परियोजनाका उद्घाटन तथा शिलान्यासले नेपाल–भारत सम्बन्धलाई धार्मिक तथा सांस्कृतिक निकटतासँगै आर्थिक, प्राविधिक र पूर्वाधार विकासको साझेदारीमा विस्तार गर्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: ७ मंसिर २०८३, सोमबार