काठमाडौँ । प्रदेशबाट जारी भएका प्रेस पासलाई पनि निर्वाचनको समयमा मान्यता दिने विषयमा आयोगले छलफल शुरु गरेको छ ।
निर्वाचन आयोगको नियमित पत्रकार भेटघाटका क्रममा शुक्रवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले पत्रकारहरूको मुभमेन्टलाई सहज बनाउन आयोग प्रतिवद्ध रहेको बताउनु भयो । प्रवक्ता भट्टराईले कानूनमा शुरुदेखि नै सूचना तथा प्रशारण विभागको पासलाई मात्र चिनिएको भएपनि व्यावहारिक कठिनाइलाई मध्यनजर गर्दै प्रदेशको पासलाई पनि सम्बोधन गर्न सकिने बताउनु भयो । पत्रकारहरू निर्वाचनको समयमा जति धेरै ठाउँमा पुग्न सक्छन्, त्यति नै सत्य–तथ्य समाचार सङ्कलन हुने र त्यसले निर्वाचनको निष्पक्षतामा सकारात्मक प्रभाव पार्ने आयोगको ठम्याइ छ । यद्यपि, सवारी साधन प्रयोगको हकमा भने छुट्टै अनुमति आवश्यक पर्ने प्रवक्ताले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘प्रेस पासमा प्रदेशलाई मान्यता पाएको छ छैन भन्नुभएको छ । त्यो विषय यहाँले अघि इन्फर्मली पनि मलाई शेयर गर्नुभएको थियो । हाम्रो त्यस्तो कतै छुटेको छ भने त्यसलाई थप एड्रेस गर्न सकिन्छ । हामीले यहाँ हेर्दाखेरि विगतमा कानून बनाउँदाखेरि पनि शुरुदेखि नै चिनिएको यो सूचना तथा सञ्चार विभाग भएको हिसावले यो त्यही विषय मात्रै परेको छ । र यसमा प्रदेशबाट जारी हुने पासको सन्दर्भमा पनि पत्रकारहरूको मुभमेन्टलाई लिएर आयोग नकारात्मक छैन । यहाँहरू सबै तिर पुगिदिनुभयो भने नै सत्य तथ्य समाचार सङ्कलन हुन्छ र त्यसले निर्वाचनको स्वच्छता निष्पक्षतामा सकारात्मक प्रभाव पार्छ भन्नेकुरामा आयोग विश्वास गर्छ । यो विषय आयोगले थप छलफल गर्नेछ । अब हामीले आयोगमा राख्ने छौँ र आयोगले केही निर्णय गरेपछि हामी त्यसलाई सार्वजनिक गर्ने नै छौँ ।’
आयोगले सञ्चारकर्मीहरूलाई निर्वाचन कभरेजमा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले यो लचकता अपनाउन लागेको प्रवक्ता भट्टराईले बताउनु भयो ।
प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार