Trending
>>   चुरोट छाड्न सकिरहनु भएको छैन ? यस्ता छन् घुम्रपानले निम्त्याउने समस्याहरु >>   प्रेम सम्बन्ध भएको समयमा खिचिएका अश्लिल भिडियोहरू पठाएको आरोपमा दुई जना पक्राउ >>   न्याय परिषद् सदस्यमा प्रश्तावित खड्का बिरुद्ध उजुरी आह्वान >>   ट्राफिक प्रहरीको उद्देश्य सवारी चालकलाई कारबाही गर्ने होइन : प्रमुख घिमिरे >>   पक्षघात उपचारका लागि महँगो औषधी निःशुल्क उपलब्ध गराउने स्वास्थ्य मन्त्रीको निर्णय >>   ललितपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजनामा अघि बढिसक्यौँः प्रमुख महर्जन >>   ९८ प्रतिशत नागरिकलाई आधारभुत खानेपानीको पहुँचमा पुर्याईसक्यौं : मन्त्री यादव >>   चार्जिङ स्टेशनमा लगानी बढाउनुपर्छः कुलमान घिसिङ >>   गायिका मेलिना राई विवाह बन्धनमा बाँधिदै ! >>   न्याय मरेको छैन भन्थे हो रहेछ !
Logo
३ माघ २०८१, बिहीबार
३ माघ २०८१, बिहीबार

सफल बन्दै सडक मानवमुक्त अभियान


२२ चैत ,गलकोट । बागलुङ, पर्वत र म्याग्दीमा सडक मानवमुक्त अभियान प्रभावकारी बन्दै गएको छ । छ वर्ष पहिला सडक मानवमुक्त अभियानका निम्ति खोलिएको मानव सेवा आश्रम बागलुङ शाखाको सक्रियताका कारण सडक मानवमुक्त अभियान सफल हुँदै गइरहेको छ ।

अहिले कालिका मन्दिर परिसरमा मागेर खाने सडक मानव देख्न पाइँदैन । उनीहरूको उद्धार, उपचार र आश्रय दिएपछि विगत एक वर्षदेखि कालिका मन्दिर परिसरमा सडक मानव देखिँदैन । यस्तै बागलुङका विभिन्न चोक तथा गल्लीमा देखिने सडक मानव क्रमशः घट्दै गएका छन् ।

आश्रमले धवलागिरिको म्याग्दी, पर्वत र बागलुङलाई सडक मानवमुक्त अभियान बनाउने लक्ष्यका साथ सडक तथा बेसहारा मानवहरूको उद्धार, उपचार, हेरचाह तथा पुनःमिलन गराउँदै आएको छ । विभिन्न कारणले गर्दा सडकमा अत्यन्तै कष्टकर जीवन बिताउँदै आएका सहयोगापेक्षी तथा बेसहारा सडक मानवको उद्धार, उपचार र व्यवस्थापन गर्नाले सडक मानवमुक्त अभियान क्रमशः सफल बन्दै आएको आश्रमका संयोजक विपाना तामाङले जानकारी दिए ।

तामाङका अनुसार चालु आर्थिक वर्षमा मात्रै धवलागिरिका तीन जिल्लाबाट २७ सडक मानवको उद्धार गरिएको बताए । हाल आश्रममा ४९ बेसहारा तथा सडक मानव आश्रित रहेको बताउँदै तामाङले चालु आर्थिक वर्षमा छ जनाको पुनःमिलन, तीन जनाको मृत्यु र स्वेच्छिक १२ जनाले छाडेको बताए । “अहिले सडक मानव विरलै देखिन्छ, कतैबाट खबर आए सुरक्षा निकाय र जनप्रतिनिधिको पहलमा तत्कालै सडक मानवको उद्धार गरिहाल्छौँ, बागलुङ जिल्लालाई सडक मानवमुक्त घोषणा गर्ने अभियानमा सफलता पाइरहेका छौँ, कतिपय सडकपेटीमा बसेर ज्याला मजदुरी गर्नेहरू हुनुहुन्छ, उहाँहरूलाई आश्रममा सुविधा हुन्छ जाउ भनेका छौँ”, तामाङले भने, “छ वर्षमा झन्डै चार सय सडक मानवको उद्धार भइसकेको छ, यहाँ आश्रितको सङ्ख्या धेरै भएमा अन्यत्र आश्रममा स्थानान्तरण गर्ने गरेका छौँ ।”

आश्रममा रहेका ८० प्रतिशत आश्रित मानसिकरूपमा असन्तुलन भएका छन्‌ भने २० प्रतिशत शारीरिक अपाङ्गता भएका छन्‌ । उनीहरूलाई सकेसम्म पुनःमिलनमा जोड दिइएको आश्रममा अभिभावक शिव खड्काले बताए । “उद्धार गरेर ल्याएका सडक मानव कतिपय पुरानै अवस्थामा पुग्नुभएको, घरपरिवारसँग पुनःमिलन गराएका छौँ, कतिपय घरबाट भागेर सडकमा पुगेका, मानसिक रोगका कारण सडकमा पुगेका हुन्छन्, उनीहरुको उपचारपछि घर फर्केका थुप्रै उदाहरण छन्”, खड्काले भने, “हाम्रो कल्पना सडक मानवमुक्त हो, अहिले हदैसम्म प्रभावकारी बनेको छ, अहिले कतै सडकमानव देखेमा खबर गर्नुहुन्छ, नागरिकहरूले समेत मानव सेवा आश्रमलाई गरेको आर्थिक, भौतिक र नैतिक सहयोगका कारण आश्रमले छ वर्षमा यति धेरै काम गर्न सफल भएको हो ।”

आश्रममा सहयोगापेक्षी तथा बेसहारा सडकमानवको सङ्ख्यामा वृद्धि हुँदै गएकाले सडकमा सडकमानव कम देख्न पाइएको छ । दाताको भरमा चल्दै आएको आश्रममा आश्रितको सङ्ख्या बढ्दै गएपछि आवास व्यवस्थापनका लागि समस्या भोगिरहेको आश्रमले जनाएको छ ।

आश्रमले बागलुङ नगरपालिका–४ निरयघाटमा रु १२ करोड लागतमा सात रोपनी जग्गामा आश्रमको भवन बनिरहेको छ । भवन सम्पन्नपश्चात् एक सय ५० देखि दुई सय सडक मानवलाई आश्रय दिन सकिने मानव सेवा आश्रमका अभिभावक निर्मल श्रेष्ठले बताए । हालसम्म आश्रम पुण्यतिथि, जन्मदिन, चौरासी पूजा र व्रतबन्धनजस्ता सामाजिक तथा धार्मिककार्यको अवसरमा प्रदान गरेको खाद्यान्न र नगदबाट सञ्चालित छ ।


प्रकाशित मिति: २२ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?