Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

कास्कीमा सडक दुर्घटना बढ्दो


१९ चैत ,गण्डकी । दुई साताको अन्तरमा पोखरामा दुई जनाले सडक दुर्घटनामा ज्यान गुमाए । महानगरको व्यस्त सडक न्यूरोडमा गत शुक्रबार मिनी माइक्रोले ठक्कर दिँदा स्कुटर चालक ४५ वर्षीय सूर्य थकालीको मृत्यु भयो ।

त्यसअघि यही चैत ३ गते चिप्लेढुङ्गामा नगर बसको ठक्करबाट स्कुटरमा सवार २४ वर्षीया दीक्षा कार्कीले ज्यान गुमाउनुपर्यो । यी प्रतिनिधि घटनाले पोखरामा बढ्दो सवारी दुर्घटनालाई दर्शाउँछ ।

यसरी लगातार जसो भइरहेका दुर्घटनाले सडक सुरक्षामा प्रश्न उठ्न थालेको छ । सार्वजनिक यातायातमा देखिएको असुरक्षाप्रति सर्वसाधारण त्रसित छन् । सडक दुर्घटना न्यूनीकरण नभएकामा जनगुनासो बढ्दो छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आवको हालसम्म कास्कीमा ७९ वटा सडक दुर्घटना भएका छन् । दुर्घटनामा परी २९ जनाले ज्यान गुमाए भने ८९ जना गम्भीर घाइते भए । आव सकिन अझै तीन महिना बढी बाँकी छ । गत वर्ष ९८ दुर्घटना हुँदा ५५ जनाको मृत्यु भएको थियो । आव २०७७/०७८ मा भएका ६४ सडक दुर्घटनामा ४३ जनाले ज्यान गुमाएका थिए ।

पछिल्ला तीन वर्षको आँकडाले कास्कीमा सडक दुर्घटना बढ्दै गएको देखाउँछ । दुर्घटनाको सङ्ख्यासँगै मानवीय क्षति पनि बढ्दो क्रममा छ । बढ्दो आवादी र सवारी चापले बर्सेनि दुर्घटनाको जोखिम बढाएको हो ।

पोखरा महानगर र राजमार्ग क्षेत्रमा बढी दुर्घटना हुने गरेको कार्यालयका सूचना अधिकारी एवं प्रहरी वरिष्ठ नायब निरीक्षक शिवप्रसाद पाठकले बताए । नब्बेदेखि ९५ प्रतिशतसम्मको सवारी दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेका उनको भनाइ छ । “तीव्र गति, मापसे जस्ता कारणबाट बढी दुर्घटना हुने गरेको छ, सहरी क्षेत्रमा हुने दुर्घटनामा साना सवारीसाधनको बढी दोष देखिन्छ”, उनले भने ।

चालु आवमा भएका ७९ दुर्घटनामध्ये ४४ तीव्र गतिका कारण भएको उहाँले उल्लेख गरे । स्तरहीन सडक, यान्त्रिक गडबडी, जथाभावी पार्किङ आदि कारणले पनि दुर्घटना हुने गरेको छ । “पोखरामा व्यवस्थित पार्किङ नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ”, प्रहरी वरिष्ठ नायब निरीक्षक पाठकले भने, “ठाउँठाउँमा भइरहेको सडक, नाली निर्माणले पनि दुर्घटनाको जोखिम बढाइरहेको छ ।”

कार्यालयले दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


प्रकाशित मिति: १९ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?