Trending
>>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने >>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ
Logo
२१ कार्तिक २०८३, शनिबार
२१ कार्तिक २०८३, शनिबार

लिफ्टिङ खानेपानी योजनाको काम सुरु


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तीन वडामा साप्सुखोलाको पानी निकालेर वितरण गर्ने गरी लिफ्टिङ खानेपानी योजनाको काम सुरु गरिएको छ । वडा नं ३ बाम्राङ, वडा नं ४ खाल्ले र वडा नं ५ लफ्याङमा खानेपानीको सुविधा विस्तार गर्ने उद्देश्यले मेवा दोभान, साप्सु कालिका देवीस्थान लिफ्टिङ खानेपानी योजनाको काम थालिएको हो । लफ्याङस्थित साप्सुखोला किनारमा शनिबार आयोजित कार्यक्रममा तत्कालीन संविधानसभा सदस्य अर्जुन राईले विधिवत लिफ्टिङ खानेपानी योजना शिलान्यास गर्नुभएको छ ।

साप्सुखोलाको पानी पाँच हजार एक सय मिटरमाथि रहेको पर्यटकीयस्थल मझुवागढीस्थित देवीस्थानमा निकालेर दुई हजार तीन सय ८२ घरधुरीलाई वितरण गर्ने गरी लिफ्टिङ खानेपानी योजनाको काम सुरु गरिएको हो । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय खोटाङमार्फत रु ५४ करोड ६७ लाख ९० हजार सात सय १६ मा मृत सञ्जिवनी–सगरमाथा जेभी काठमाडौँले लिफ्टिङ खानेपानी योजनाको ठेक्का लिएको छ । निर्माण कम्पनीले विसं २०८२ भदौ ४ गतेसम्ममा सम्पन्न गर्ने गरी विसं २०७९ साउन २२ गते लिफ्टिङ खानेपानी योजनाको सम्झौता गरेको हो ।

खानेपानीको बढ्दो समस्या समाधान गर्नका लागि खोलाको पानी निकाल्ने योजना सुरु गरिएको मेवा दोभान, साप्सु कालिका देवीस्थान लिफ्टिङ खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष ललितकुमार राईले बताउनुभयो । निर्माण कम्पनीले विसं २०७९ भदौ ५ गतेदेखि काम सुरु गरेको जनाएको छ । लिफ्टिङ खानेपानी योजनाअन्तर्गत ६१ वटा आरभिटी ट्याङ्की, एउटा ट्रिटमेन्ट प्लान्ट, एउटा कार्यालय भवन, एउटा सम्प वेल, सातवटा गार्ड हाउसलगायतका संरचना बन्ने जनाइएको छ । एक सय तीन किलोमिटर वितरण पाइप लाइन र खोलाबाट पाँच हजार एक सय ट्रान्समिसन लाइनको काम हुने निर्माण कम्पनीका इञ्जीनियर हरिदेवकिशोर रजकले जानकारी दिनुभएको छ । खोलाको पानी प्रतिसेकेण्ड २५ लिटरका दरले देवीस्थानमा निकाल्ने योजनासहित लिफ्टिङको काम अघि बढाइएको छ ।

एक मेगावाट क्षमताको मेवाखोला हाइड्रोपावर सञ्चालनमा ल्याएका संविधानसभा सदस्य राईकै पहलमा हाइड्रोपावर नजिकैबाट लिफ्टिङ खानेपानी योजना सुरु गरिएको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा रम्बाखोला–माझखोला साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन गरिएको छ । दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजना गत वर्षको चैत (विसं २०७८)देखि सञ्चालनमा ल्याइएको हो । रम्बाखोला, माझखोला र काउले मुहान भएको खानेपानी आयोजनालाई मिलाएर दिक्तेल वडा नं १ दिक्तेल, २ सोल्मा र ३ बाम्राङका एक हजार ४९ घर उपभोक्तालाई प्रशोधन गरिएको स्वच्छ र गुणस्तरीय पानी वितरण गरिएको छ । नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत गरी रु २२ करोड ५५ लाख ५८ हजार लगानीमा खानेपानी आयोजना सञ्चालन गरिएको हो ।

करिब वर्ष दिनअघि सञ्चालनमा ल्याइएको सहरी खानेपानी तथा सरसफाइ आयोजना विभिन्न ठाउँमा अवरुद्ध हुँदै आएको छ । दिक्तेल बजारको ढलान गरिएको सडकमुनि बिच्छ्याइएको खानेपानीको पाइपमा ठेकेदारको लापरवाहीका कारण समस्या देखिएपछि ढलान काटेर मर्मत गर्दा विभिन्न ठाउँमा पारिएको खाल्डाखुल्डीले सवारीसाधन तथा पैदलयात्रुलाई समेत आवतजावतमा समस्या हुँदै आएको छ ।


प्रकाशित मिति: २४ पुष २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?