काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे खुवाएर बाघ पाल्न नसकिने बताएका छन् ।
बिहीवार काठमाडौंमा वन तथा वातावरण मन्त्रालयले कोप २९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वनको क्षमता हेरेर मात्रै नेपालले बाघ पाल्नुपर्ने बताए । उनले नेपालको वनको क्षमताअनुसार १५० भन्दा बढी बाघ पाल्न नसकिने भएपनि अहिले नेपालमा ३ सय भन्दा बढी बाघ रहेको बताएका छन् ।
अरुले भनेअनुसार बाघको संख्या अब बढाउन नसकिने प्रधानमन्त्री ओलीको भनाइ थियो । नेपालले मित्र राष्ट्रहरुलाई बाघ पाल्ने भए उपलब्ध गराउने तर अब बाघको संख्या बढाउन नसक्ने बताएका छन् ।
उनले भने , ‘अरुले ३० प्रतिशत जंगल राख्छ, हामीले भोकै बसेर ४७ राख्या छौँ, रेस्पेक्ट हुनुपर्दैन हाम्रो कन्ससनेसप्रति । त्यसमा कन्बिन्सेसन दिनुपर्दैन । हामीले भनिदिनुपर्छ दुनियाँलाई होइन भने हामी पनि ३० प्रतिशत राख्छौँ । बाँकी धान, गहुँ फलाउँछौँ, मज्जाले खाएर बस्छौँ । हामीलाई ३० प्रतिशत जंगलले श्वास फेर्न पुग्छ, अरुले हाम्रो चिन्ता नगर्ने हामीले मात्रै अरुको चिन्ता गर्नुपर्ने ? भनिदिनुपर्छ । हामी २००९ मा कोपनेगेन की कहाँ थियो बाघ सम्मेलन, त्यहाँ गयौँ । हामीसँग बाघ थिए ११० वटा की कति थिए । डबल गर्ने भनेर हामीले १० वर्षमा डबल गर्ने भन्यौँ । २०१९, २०२० तिर पुग्दा डबल बाघ चाहिन्थ्यो, २०१८ मा हामीसँग अढाइ सय भन्दा बढी बाघ भइसके । अहिले साढे ३ सय भन्दा बढी बाघ छन् । जंगलमा मात्रै होइन, गाउँमा हिँड्दा पनि बाघ छ की भनेर हिँड्नुपर्छ । हामीले पनि चाहिने खालका काम गर्नुपर्छ । बाघ साढे तीन सय पाल्ने होइन, अलि थोरै पाल्नुपर्छ । डेढ सय बाघ भए पुग्छ । उपहार दिऔँ, हाम्रा मित्रहरुलाई । कोही बाज, कोही मयुर पालेका हुन्छन्, त्यस्ता जाबो चरा के पाल्नु, बाघ पाल्ने नि ढ्याप्प । विभिन्न देशलाई उपहार दिऔँ बाद्ध, खोर समेतै दिनुपर्छ भनेनि दिऔँ । तर जति भन्यो त्यति बाघ बढाउने भन्ने हुँदैन, कति लिमिट हो हाम्रो, हाम्रो वनको क्षमता त्यही अनुसार जानुपर्छ । मान्छे ख्वाएर बाघ पाल्न सकिँदैन । त्यो गल्ती गर्नु हुँदैन । मान्छे ख्वाएर बाघ पाल्ने ? अलिअलि खान्छ नि बाघ भएपछि भन्ने त्यस्तो हुँदैन । आफूलाई खायो भने के हुन्छ ? त्यो हेर्नुपर्यो नि ।’
प्रधानमन्त्री ओलीले नेपाललाई ३० प्रतिशत मात्रै जंगल भए पुग्ने उल्लेख गर्दै नेपालले गरेका कामको सही मूल्यांकन र सम्मान हुन नसके अरु देशका लागि जंगलको संरक्षण गर्न नसक्ने बताए । उनले नेपाललाई ४७ प्रतिशत जंगल राखेको सम्मान र कदर नगरे ३० प्रतिशत मात्रै जंगल राख्ने र बाँकी भूभागमा अन्न उब्जाएर खाने बताएका छन् ।
नेपालको अरुले चिन्ता नगर्ने तर नेपालले अरुको चिन्ता गरिरहनुपर्छ भन्ने नरहेको उनको भनाइ थियो ।
प्रकाशित मिति: ११ पुष २०८१, बिहीबार