Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

बिहीबार हनुमानढोकाको दसैं घरमा फूलपाती भित्र्याइँदै


काठमाडौँ । नवरात्रको सातौं दिन बिहीबार दसैंघरमा हर्षोल्लासका साथ फूलपाती भित्र्याउने र बढाइँ गरिँदैछ।

सोही उपलक्ष्यमा गोरखा दरबारबाट फूलपाती ल्याएर काठमाडौंको हनुमानढोका दसैं घरमा भित्र्याउने र सैनिक मञ्च टुँडिखेलमा राष्ट्र प्रमुख र सरकार प्रमुखको उपस्थितिमा नेपाली सेनाले फूलपाती बढाइँ गर्ने पुरानो परम्परा छ।इतिहासकार दिनेशराज पन्तले फूलपाती भित्र्याउने चलन मुख्यगरी राजा महाराजाको विजयी अभियानसँग सम्बन्धित रहेको बताए।‘खेतीपाती, वर्षा र हिलोमैलो सम्पन्न भएको, जनता समेत सबै किसिमले फुर्सद भएका अवस्थामा राजा महाराजाले गर्ने विजयी यात्रासँग फूलपाती जोडिएको छ,’ उनले भने।

फूलपाती परम्पराको उत्पत्ति प्राचीन समयदेखि मानिन्छ। गोपाल वंशदेखि नै फूलपाती भित्र्याउने प्रचलन रहेको पाइन्छ। नेपालको प्राचीन राज्य गोरखा दरबारमा पनि तत्कालीन राजा राम शाहले धादिङको सल्यानटार विजय गरेपश्चात् त्यहाँबाट फूलपाती भित्र्याउने प्रचलन रहेको अभिलेखमा पाइन्छ।

विसं १८२५ मा पृथ्वी नारायण शाहले काठमाडौंमा विजय गरेपछि काठमाडौंलाई राजधानी तोकियो। काठमाडौंबाट शासन सुरू भएपछि पृथ्वीनारायण शाहले गोरखाको भगवतीलाई हनुमान ढोकामा पनि स्थापना गरेका थिए। गोरखाबाट शाही पवित्रताका प्रतीक स्वरूप फूलपाती काठमाडौंको हनुमानढोका दरबारमा ल्याइने परम्परा सुरू गरिएको मानिन्छ।

गोरखामा तयार गरिएका फूलपाती सप्तमीका दिनमा पैदल मार्गबाट काठमाडौं ल्याइने प्रचलन रहेता पनि दूरी, भौगोलिक कठिनाइ लगायत विभिन्न समस्याका कारण २० औं शताब्दीको मध्यतिरबाट काठमाडौं लैजान रोकियो। विभिन्न समस्याका कारण गोरखाबाट फूलपाती ल्याउन नसक्ने भएपछि नवपत्रिकाका बिरूवालाई काठमाडौंबाट करिब ३० किमी पश्चिममा रहेको धादिङको छत्रे देउरालीमा सारियो। विसं २०३७ मा गोरखा पृथ्वी राजमार्गसँग जोडिएर सडक सुविधा भएपछि इतिहास, परम्परा र संस्कृतिको जगेर्ना गर्न गोरखाका स्थानीय बासिन्दा तथा सरोकारवालाको पहलमा विसं २०४० को दशकबाट पुनः गोरखाबाट फूलपाती गाडीमार्फत् हनुमानढोका ल्याउन थालियो।

गोरखादेखि धादिङको जीवनपुरसम्म दसैँ घरका पुजारीसहित हनुमान ढोका दरबार हेरचाह अड्डाबाट मगर जातिका छ र शार्दूल जङ्ग गुल्म (गुर्जु पल्टन) बाट दुई मगर पुजारी सहभागी भई ल्याउने प्रचलन छ। जीवनपुरदेखि काठमाडौँको जमलसम्म यहाँबाट गएका ब्राह्मण जातिका छजनाले ल्याउने परम्परा रहिआएको छ। शार्दूल जङ्ग गुल्मबाट गुल्मपतिको ‘कमान्ड’मा बाजागाजासहित ‘इन्फिल्ड नाल’बाट सलामी दिई जमलबाट हनुमान ढोकासम्म ल्याउने गरिन्छ।

उक्त फूलपाती भित्र्याउने कार्यमा निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जु पल्टन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको ब्यान्डबाजा, पञ्चेबाजा, नेपाल ‘क्याभ्लरी’बाट घोडा, स्थानीय निकायका पदाधिकारीको उपस्थितिमा सिङ्गारिएका कल्स्यौडी र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याई हनुमान ढोकास्थित नासाल चोकमा विधिपूर्वक दसैँ घरमा फूलपाती भित्र्याइन्छ।


प्रकाशित मिति: २३ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?