Trending
>>   ११ जिल्ला न्यायाधीशको सरुवा, को पुगे कहाँ ?(सूचीसहित) >>   अर्थमन्त्री विष्णु पाैडेलकाे कमालः आर्थिक वर्षको चार महिनामा १७ प्रतशितले राजस्व वृद्धि ! >>   राष्ट्रपति पौडेलबाट भारतीय सेनापति द्विेदीलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान( फाेटाे फिचर) >>   नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग >>   ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ >>   सडक र खोला मापदण्ड खारेजको माग गर्दै र्‍याली >>   बाढीबाट भएको क्षतिको विवरण सङ्कलन गर्दै कृषि मन्त्रालय >>   नेपाल–भारत सैन्य सहकार्य वार्ता आज >>   भारतको उत्तरप्रदेशमा बस र ट्रक ठोक्किंदा ५ जनाको मृत्यु >>   आज मन्त्रिपरिषद् बैठक बस्दै
Logo
६ मंसिर २०८१, बिहीबार
६ मंसिर २०८१, बिहीबार

यसरी चुम भ्यालीमा आए प्रकाश…


-छेतेन दोण्डुप

चुम भ्यालीका प्रकाशका साहु (टासी) का छोरा छेतेनसँग आज हाम्रो भेट भएको थियो । काठमाडौं बसेर १२ कक्षासम्म पढेका २३ वर्षका छेतेन अहिले सामागाउँमा स्कुल पढाउँछन् । “हामीलाई त धेरैले नराम्रो भने, गाली गरे । हाम्रो कुरा पनि राखिदिनुस् न” – छेतेनले भने ।

छेतेनसँग गरिएका कुराकानी उनकै शब्दमा :
“हामी ठूलो मान्छे हैन । सबैले साहु भने पनि हामी धनी मान्छे पनि हैन । आम्दानी भनेको त्यही किरा मात्र हो । त्यो पनि सँधै भेटिँदैन । बाउ आमाले पढेको पनि छैन । बोल्न पनि जान्दैन । मलाई पहिलाको कुरा त धेरै थाहा छैन । तर सुनेको छु । प्रकाशलाई गाउँमा लिएर जाने चाहिँ मेरो काका हो । हाम्रो गाउँमा दाजुभाइले एउटै श्रीमती बिहे गर्ने चलन थियो । त्यो बेला मेरो बुबा र काकाको एउटै श्रीमती थियो । श्रीमती बित्नुभयो । त्यसपछि काका चाइनाको केरुङमा अर्को बिहे गरेर घरज्वाइँ बस्न जानुभयो । मेरो बुबाले पनि अर्को बिहे गर्नुभयो ।

मेरो आमासँग बुबाको विहे हुनु अगाडिदेखि नै प्रकाश दाइ हाम्रो घरमा हुनुहुन्थ्यो । मेरो बुबा र प्रकाशको उमेर पनि ५-७ वर्ष मात्र फरक होला । प्रकाशले मेरो बुबालाई दाइ (ज्योज्यो) भन्नुहुन्छ अनि मेरो आमालाई चाहिँ दिदी (आचे) भन्नुहुन्छ । हाम्रो घरमा जे पाक्छ त्यही खाएर एउटै परिवार जसरी हुर्केको हो । सामाजिक सन्जालमा आएजस्तो अन्याय गरेको छैन ।पहिला देखिको चलन चल्ती चाहिँ घरमा दुइटा छोरा मान्छे हुँदा एउटाले घर व्यवहार र खेतीपाती हेर्ने अर्कोले चाहिँ चौंरी हेर्ने । प्रकाशले चौंरी हेर्थ्यो मेरो बुबाले चाहिँ घर खेत हेर्थ्यो ।

हामी सानो थियौं । हामीलाई स्याहार सुसार गरेर हुर्काउने नै प्रकाश दाइ हो । मलाई घरको कामहरु सिकाउने नै उहाँ हो । मैले खास काका भन्नुपर्थ्यो वहाँलाई । तर सबैले पक्का भन्ने भएर म पनि पक्का भन्छु ।

प्रकाशले कहिले पनि पैसाको कुरा गरेन । हामीले पनि गरेनौं । तर बेला बेलामा बाउ आमा खोज्न जान पाए हुन्थ्यो भन्थ्यो । बुबा आमाले पनि बाहिरी संसार खासै देखेको थिएन । कहाँ जाने ! प्रकाश घरको सदस्य जस्तो हो । हाम्रो गाउँमा वर्षेनी घोडे जात्रा हुन्छ । घोडे जात्रामा हरेक घरको प्रतिनिधि भएर छोरा मान्छे जानु पर्छ । हाम्रो घरबाट ड्रेस लगाएर प्रकाश नै जान्थ्यो ।

गोठालाको चलन चाहिँ कस्तो भने – सिजन हुन्छ । गाउँभरिको चौंरीको जिम्मा लिनुपर्छ । रक्सी खाएर जिम्मा लिसकेपछि त्यो सिजन छाड्न मिल्दैन । वचन दिइसकेको हुन्छ । तपाईंहरुले लिएर जाने बेला चाहिँ सिजन सुरु भइसकेको थियो । प्रकाशले रक्सी खाएर जिम्मा लिइसकेको थियो । त्यही भएर पठाउन अफ्ठ्यारो मानेको हो मेरो बुबाले । १० दिनमा ल्याइदिनु भनेको हो । अनि तपाईंहरु पनि अन्जान मान्छे हुनुभयो । नचिनेको मान्छेलाई कसरी आफ्नो घरको मान्छे जिम्मा लगाउनु । त्यही भएर त्यस्तो भनेको हो । साहु भएर त्यस्तो भनेको हैन । अनि तलबको कुरामा चाहिँ अब घर परिवार जस्तै भएपछि स्यालरी कसरी दिनु ! के कुरा गर्नु !

अनि हाम्रो गाउँमा बाहिरको मान्छेले किरा टिप्न पनि पाउँदैन । तर प्रकाश दाइले कीरा टिप्दा गाउँको मान्छेले केही भन्दैन । देखे नदेखे जस्तै गरिदिन्थ्यो । अनि कीरा बेचेको पैसाले प्रकाशले चौंरी किन्थ्यो घरकै लागि । अस्ति बाउआमा भेटे पछि पो उसलाई मेरो पनि बाउ आमा रहेछ जस्तो लाग्न थालेको, पैसाको महत्व लाग्न थालेको । उसले जे कमाउँथ्यो हाम्रै घरको लागि खर्च गर्थ्यो ।

उसलाई गोठालो काम मन पर्ने अर्को कारण पनि छ । उसलाई जनावर एकदम मन पर्छ । उ घरमा आउँदा कुकुर विरालोका छाउरा लिएर आउँछ ।
हरेक जनावर उसलाई मन पर्छ । माथि गोठतिर मान्छेहरुले चौंरीका बाच्छाबाच्छीलाई दुध खान दिँदैनन् । तर पक्का दाइले त्यस्तो गर्दैन । लुकी लुकी खान दिन्छ ।
हामीले नागरिकता पनि बनाइदिन खोजेको । तर त्यही हो – मिलेन ।

पाल्जोर भन्ने दाइ छ । अहिले फ्रान्समा छ । हाम्रा बाउ र काकाको बितिसकेकी साझा श्रीमतीको छोरा । उसले चाहिँ प्रकाशलाई धेरै माया गर्छ । उसले र प्रकाशले सँगै समय बिताएका थिए गाउँमा । उ कुरा बुझ्ने छ । पाल्जोरले आफ्नो भागको अंश प्रकाशलाई दिनु भनेका थिए ।

तर नागरिकता नभएर अंश दिन पनि मिलेन । प्रकाशको बिहे पनि गरिदिन खोजेको गाउँमै । तर आफ्नो नागरिकता नभए पछि बच्चाहरुको पनि नागरिकता हुँदैन भनेर प्रकाशले बिहे गर्न मान्नुभएन ।

बुबासँग कुरा भइराख्छ । बुबा पनि खुसि नै हुनुहुन्छ । यत्रो वर्ष बसेको मान्छे माया त लागिहाल्छ नि । सम्बन्धको हिसाबले छोड्न मन थिएन । तर उसको इच्छा ।
केरुङमा बस्ने काकाले १० लाख दिन्छु भनेको छ । अनि फ्रान्समा बस्ने दाइले २ लाख ।

उसलाई भोजपुरमा कसकसले जग्गा दिन्छु भनेको छ रे । दिए हुन्थ्यो । नागरिकता बने हुन्थ्यो । बरु मिल्छ भने त चुमबाटै नागरिकता दिए हुन्थ्यो । उसले हिमाली भेग बुझेको छ । भोजपुर बुझेको छैन । मेरो बिचारमा त उ बाउ आमाको मुख हेरेरै भोजपुर जान लागेको हो । उ फर्केर आउँछ भने त अझै पनि फ्रान्समा बस्ने पाल्जोर दाइले आफ्नो भागको अंश दिन्छु भनेको छ । केरुङ बस्ने काकाले अनि हामीले पनि उसले भोजपुरमा बिहे गरे पनि चुम आएर बिहे गरे पनि बिहे खर्च पनि दिन्छौं भनेका छौं ।
म त अहिले सानो नै छु । तर पनि प्रकाश मेरो बुबा जस्तो मान्छे हो । उसलाई भविष्यमा मैले गर्न सक्ने सबै सहयोग गर्न तयार छु । “


प्रकाशित मिति: १५ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?