Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

टेलिफोन महसुल घटाउन भारत सकारात्मक : मन्त्री शर्मा


१० चैत्र ,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्ने शुल्क घटाउन भारत सकारात्मक रहेको बताएकि छन्‌ । चारदिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा आज त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सो कुरा बताएकि हुन्‌ ।

उनले भारतमा बस्ने र यहाँबाट भारत जाने नेपालीले भोग्दै आएका समस्या समाधान गर्न आफूले छलफल गरेको बताइन्‌ । “विभिन्न सन्दर्भमा भारतमा ठूलो सङ्ख्यामा नेपालीको बसोबास रहेको छ, नेपालबाट भारतमा टेलिफोन गर्दा शुल्क कम छ, तर भारतबाट नेपालमा टेलिफोन गर्दा शुल्क महँगो छ”, उनले भनिन्‌, “यो विषयलाई हामीले गम्भीतापूर्वक उठाएका छौँ ।”

भेटमा आफूले नेपालको भन्दा कम दर नभए पनि कमसे कम ‘रेसिप्रोकल’ ढङ्गबाट भारतले नेपालमा कल गर्दा लाग्ने शुल्कमा घटाइदिन आग्रह गरेको बताइन्‌ । “उनिहरूले त्यो विषयलाई सकारात्मक लिएका छन्‌”, मन्त्री शर्माले भनिन्‌। भारतमा गएका नेपालीले मोबाइलको सीम कार्ड लिन समस्या भोग्नुपरेको अवस्थालाई समाधान गर्न आफूले आग्रह गरेको उनले बताइन्‌ ।

“भारतका सञ्चार राज्यमन्त्रीसँग द्विपक्षीय भेटवार्ता भयो, भेटमा हामीले ब्याण्डविथ अन्य नाकाबाट भित्रयाउन र अप्टिकल फाइबरको पहुँच समुद्रसम्म गरिदिन आग्रह गर्यौ”, उनले भनिन्‌ । समुद्रसम्म अप्टिकल फाइबरको पहुँच स्थापित हुँदा नेपालमा इन्टरनेटको शुल्क कम हुने उनको भनाइ छ । अहिले भारतको सुनौली नाकाबाट मात्र ब्याण्डविथ भित्रिरहेको छ ।

भारतीय च्यानल निर्वाधरूपमा नेपालमा चलिरहेको तर नेपाली च्यानल भारतमा हेर्न समस्या भइरहेकातर्फ पनि आफूले ध्यानाकर्षण गराएको उनको भनाइ छ । “भारतमा नेपालीको ठूलो सङ्ख्या भइरहेकाले नेपाली टेलिभिजन च्यानल भारतमा हेर्न सक्ने वातावरण मिलाउने विषयमा पनि छलफल गरेका छौँ”, उनले भनिन्‌ ।

मन्त्री शर्माले रेडियो नेपाल र प्रसार भारतीबीच कार्यक्रम आदानप्रदान गर्ने यसअघिको सहमतिलाई कार्यान्वयन गरेर जाने समझदारी भएको जानकारी दिइन्‌ । मन्त्री शर्मा इन्टरनेशनल टेलिकम युनियन (आइटियु) को क्षेत्रीय कार्यालय स्थापनासम्बन्धी कार्यक्रममा सहभागी हुन यही चैत ७ गते भारत प्रस्थान गरेकि थिइन्‌ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा उक्त कार्यालयलको उद्घाटन गरेका थिए । यसअघि आइटियुको कार्यालय स्वीट्जरल्याण्को जेनेभामा थियो । नेपालले जेनेभा पुगेर काम गर्नुपर्ने थियो ।

सन् २०१८ मा संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा भएको सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइटियुको क्षेत्रीय कार्यालय भारतमा राख्न प्रस्ताव गरेका थिए । सोही प्रस्तावअनुसार कार्यालय नयाँ दिल्लीमा स्थापना भएको हो । सो कार्यालयबाट दक्ष जनशक्ति निर्माण गर्न र विभिन्न तालिम लिन सकिनेछ । शुल्क र समयको हिसाबबाट नेपाललाई सस्तो पर्न गएको छ । भारतमा क्षेत्रीय कार्यालय स्थापना हुनु सदस्य राष्ट्रका हिसाबले नेपाललाई फाइदा भएको छ ।


प्रकाशित मिति: १० चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?