– निराजन पाण्डे / नमोवुद्ध ,काभ्रेपलाञ्चोक
नुनिला आँसुले
निथ्रुक्क भिजेको
त्यो नुनिलो माटो होइन,
मेरो माटोमा
आफ्नै पौरखले फल फल्ने
अलिनो माटो खोजिरहेछु ।
आफ्नै भातृत्व माथी निसाना बनाई
शिकार खेलिरहने
बिरामी बस्ती बोकेको त्यो प्रान्त होइन,
गौतम बुद्धका उपदेशहरु
कुदिएर शान्तिको दीप
जगमगाइरहेको देश खोजिरहेछु ।
रगतम्य हिलो भित्र
पौडी खेलिरँहदै मुर्छित बनेको
त्यो हिलाम्मे देश होइन
कमलको फूल माथी उभिएर
टहकिलो घाम र जून बोकेको
सुकिलो देश खोजिरहेछु।
कित्ता कित्तामा खण्ड खण्ड बनी
ऐनासरि झुर्किएर
भुइँभरी छरिएको देश होइन ,
भाइटिकामा उनिएको
मखमली मालाझैँ
नेपाली मनहरु एकतामा उनिएको
सिङ्गो देश खोजिरहेछु।
पराइले बलात्कार गर्न
लछारपछार पारेको
त्यो क्षतविक्षद बलात्कृत
भूमि होइन,
सीताको सतित्त्व झैँ
पवित्र देश,
अनि
सगरमाथा जस्तै चुलिएको
सुनौलो देश खोजिरहेछु।
कायर शासकहरुले
लचिलो काँध बनाई
आफ्नो देशको काँध थाम्न नसकी
पराधिन बनाउन खोजेको
देश होइन,
कहिल्यै नभाँचिने नेपाली काँधहरुले
काँध थापेर साहस भरेको
सुरक्षित र समृद्ध देश खोजिरहेछु।
कतै बाट हावाले हुत्याएर
ल्याएको कृत्रिम अत्तर बसाउने
दुर्गन्धित देश होइन ,
आफ्नै बगैंचामा
फूलेको फूलको बास्ना
मगमगाइरहेको देश खोजिरहेछु।
घाम अस्ताई औंसीको रात भित्र
भौतारिरहेको देश होइन,
बिहानीको सुनौलो मुस्कान सँगै
निर्धक्क हाँसिरहेको
म मेरो देश खोजिरहेछु।
प्रकाशित मिति: १२ श्रावण २०८१, शनिबार